भर्खरै :

किसान र इँटा व्यवसायीबीच सहमति

भक्तपुर, ३१ वैशाख । इँटा उद्योगी व्यवसायीहरूले इँटा पार्न खला र पोल्न भट्टा बनाएको जग्गाका जग्गाधनी र किसानहरूलाई हिउँदे बालीको कुतबापतको रकममा २५ प्रतिशत वृद्धि गर्ने भएका छन् ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समिति र भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घबीच भएको वार्ताको क्रममा मङ्गलबार उक्त सहमति भएको हो । जग्गाधनी वा किसानहरूले यसअघि प्रतिरोपनी रु. सो¥ह हजार पाउँदै आएकोमा अब प्रतिरोपनी रु. बीस हजारको दरले रकम पाउनेछन् ।
वार्तामा इँटा उद्योगीहरूले पहिलेदेखि सहमति र पूरा गर्दै आएका सामाजिक कल्याणका उत्तरदायित्वलाई निरन्तरता दिँदै जाने तथा प्रदूषण कम गर्न नयाँ नयाँ उपायहरू खोजी लागू गर्दै जाने सहमति पनि भएको बताइएको छ ।
इँटा उद्योगी व्यवसायीहरूले यसै वर्षभित्र एउटा एम्बुलेन्स खरिद गरी सुपथ शुल्कमा भक्तपुर जिल्लाका जनताको सेवामा लगाउने वचनबद्धता पनि जनाएका छन् ।
वार्ता नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समिति अध्यक्ष गोविन्द दुवाल र भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाको उपस्थितिमा इँटा उद्योगी व्यवसायी टोली र किसान वार्ता टोलीबीच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *