भर्खरै :

सम्पदा पुनःनिर्माणबारे भनपा र प्राधिकरणबीच छलफल

भक्तपुर, ३१ वैशाख । २०७२ साल वैशाख १२ र २९ गते गएको भूकम्पबाट भक्तपुर नगरमा क्षति भएका निजी घरहरू पुनःनिर्माण सम्बन्धमा भक्तपुर नगरपालिका, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गुठी संस्थान र सम्बन्धित परामर्शदाताहरूको उपस्थितिमा नगरपालिकाको सभाकक्षमा संयुक्त छलफल भयो ।
छलफलमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भूकम्प पीडित जनतालाई प्रदान गरिने अनुदानको रकम ३ लाखबाट बढाउनुपर्ने र निजी घर पुनःनिर्माण गर्न एकमुष्ठ रकमको व्यवस्था गर्नुपर्ने बताउनुभयो । पहिलो किस्ताको रकम भग्नावशेष पन्छाउन नै अपुग भएको बताउँदै प्रमुख प्रजापतिले प्राधिकरणले दिने सहुलियत दरको ऋण घर बनाउन नसक्ने भूकम्पपीडित लक्षित हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले मापदण्डअनुसार घर बनाएका भूकम्प पीडितहरूले घर निर्माण गर्दा माटो जोडाइमा १०० प्रतिशत र सिमेन्ट जोडाइमा ७५ प्रतिशतसम्म नक्सा दस्तुर छुट दिइँदै आएको बताउँदै प्रमुख प्रजापतिले नगरको पुरानो बस्तीमा परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरूलाई मोहडामा इँटा र काठमा लाग्ने कुल खर्चको ३५ प्रतिशत नगरपालिकाले अनुदान दिंदै आएको जानकारी गराउनुभयो ।
छलफलमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा.चन्द्रकृष्ण श्रेष्ठले मुद्दा भएका भूकम्प पीडितलाई घर बनाउन नगरपालिकाले अभिलेखीकरण गरी सहयोग गर्न अनुरोध गर्दै सामूहिक स्वामित्वका घर भएका भूकम्प पीडितलाई सोहीबमोजिम घर पुनःनिर्माण गर्न सकिने गरी अनुदानको व्यवस्था मिलाउने प्रक्रियामा रहेको जानकारी गराउँदै भूकम्प पीडितलाई एकमुष्ठ रकम दिन सम्भावना नभएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भूकम्प गएको वर्षौं बित्दा पनि आर्थिकरूपले विपन्न भूकम्प पीडितले अहिले पनि घर बनाउन नसकेको, बहुस्वामित्व भएको घर, कित्ताकाट र सँधियारको समस्याका कारण पनि निजी घर पुनःनिर्माणमा ढिलाइ भइरहेको बताउनुभयो ।
छलफलमा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली, भक्तपुर नपाका प्रशासकीय अधिकृत अम्बिका धौभडेल, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरका प्रमुख ध्रुव गैंडा, गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *