नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
तिङ काङ
पहिलोपटक इरान भ्रमणमा जाने विदेशी पर्यटकहरू संरा अमेरिकी नाकाबन्दी सामना गरेर बाँचिरहेका इरानी जनताको निश्चिन्तता देखेर अचम्म पर्छन् । त्यहाँका विशालबजारहरूमा थरी थरीका खाद्य सामग्री मनग्य रूपमा भेटिन्छ । इरानी रेस्टुराँहरूमा सस्तो मूल्यमा सबै प्रकारका स्थानीय परिकार खान सकिन्छ ।
मानिसहरू रेस्टुराँको टेबुलमा राखिएको ठूलो आकारको पाउरोटी आफूलाई चाहिए जति काट्दै झिक्दै स्थानीय प्रकारको अचारमा चोप्दै खाँदै मज्जाले गफिरहेका हुन्छन् । यस्ता दृश्य अधिकांश रेस्टुराँमा सामान्यतः देखिन्छ । कुनै कुनै रेस्टुराँमा ग्राहकले जति चाह्यो त्यत्ति पाउरोटी झिक्दै खान मिल्ने असीमित परिमाणमा राखिएको हुन्छ । इरानको राजधानी तेहरानको केन्द्रमा रहेको एउटा सानो रेस्टुराँमा हामीले दुई वटा पिजा, तारेको आलुका टुक्रा(फ्रेन्च फ्राइ) र केही पेयपदार्थ माग्यौँ ।
त्यत्ति खाजाको मूल्य ६ लाख ७५ हजार रियाल(इरानी मुद्रा) प¥यो । अमेरिकी डलरमा हिसाब गर्दा त्यसको मूल्य झण्डै ५ डलर पर्छ । (नेपाली रुपैंयामा हिसाब गर्दा झण्डै पाँच सय रुपैंया पर्छ ।) रेस्टुराँका मालिकले बताएअनुसार इरानमा खानाको मूल्यमाथि सरकारले कडा नियन्त्रण गरेको छ । बजारमा खाद्य पदार्थको मनग्यता हेर्दा इरानसँग आफ्ना जनताको पेट भर्न मनग्य मात्रामा खाना रहेको देखिन्छ ।
मानिसको पहिलो आवश्यकता भनेको खाना हो । हरेक देशको सामाजिक स्थायित्व जनताको आवश्यकता पूरा गर्ने खानाको आपूर्तिमा निर्भर रहने गर्छ । संरा अमेरिकाले जतिसुकै कडा नाकाबन्दी थोपरेको किन नहोस्, इरानी जनताले पेटभरि खाना पाउँदासम्म र लगाउन लुगा उपलब्ध भएसम्म इरानमा कुनै गम्भीर समस्या आइपर्ने छैन ।
राजधानी तेहरानदेखि इफाहन हुँदै शिराज पुग्ने इरानको धेरै अघि देखिको पर्यटक मार्ग हो । यो मार्गमा यात्रा गर्दा पर्यटकले इरानी जनतालाई खान पनि पुग्ला कि नपुग्ला भनी शड्ढा गर्न सक्छन् ।
तेहरानदेखि शिराजसम्मको दुरी झण्डै ९ सय किलोमिटर छ । यो दुरीको यात्रा गर्दा हामीले बाटोबाट सुकेका र पहेँला घाँसले ढाकेको, सम नपरेको चउर वा विशाल बन्जर मरुभूमिमात्र देख्यौँ । घाम निकै चर्को थियो । निकै पर केही पहाडहरू देखिएको थियो ।
तर, जब पर्यटकहरू शिराज सहरनजिकको प्रेसोपोलिस पुग्छन्, उनीहरूको सोचमा क्रमशः परिवर्तन आउँछ । पर्यटक पथप्रदर्शकले हामीलाई इरानको पानीको प्रणाली ८०० इसापूर्वभन्दा पुरानो भएको जानकारी दिनुभयो ।
सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले इरानको कनात सिंचाइ कृषि सम्पदा संसारकै लागि महत्व बोकेको कृषि सम्पदा घोषणा ग¥यो । त्यस्ता सिंचाइ प्रणालीले नै इरानलाई एसियाको इतिहासमा सबभन्दा मलिलो भूमि बनाएको थियो । कुनै बेला इरानमा गहुँ, उखु, धान र खजुरको विशाल उत्पादन हुन्थ्यो ।
इरानको कृषि विकास सन् १९६० दसकको श्वेत क्रान्तिको समयमा उत्कर्षमा पुगेको थियो । औद्योगिकीकरणको प्रभावले त्यसमा कमी आयो । अनि तेलबाट हुने बढ्दो वैदेशिक आम्दानीले खाद्य आयातको परिमाण बढ्यो । त्यसैको परिणामस्वरुप भूमिहीन किसानहरूको सङ्ख्या धेरै बढ्यो । धेरै गाउँहरू खाली भए । इरानको राजतन्त्र अन्त्य हुनुको एउटा महत्वपूर्ण कारण त्यही बन्यो ।
त्यत्तिबेलादेखिका सरकार इरानमा आत्मनिर्भर कृषि प्रणाली विकास गर्न दिलोज्यानले लागे । सन् २००४ मा इरानमा गहुँ उत्पादनमात्र १ करोड ४० लाख टन पुग्यो । त्यो परिमाण इरानलाई आवश्यक पर्नेभन्दा बढी परिमाण हो । ४५ वर्षदेखि गहुँ आयात गर्दै आएको इरानले गहुँ आयात गर्नु परेन । गहुँ निर्यातको खर्च हुने वार्षिक १ अर्ब अमेरिकी डलर बचाउन सफल भयो । गहुँ र धान इरानका प्रमुख खाद्य पदार्थ हुन् । इरानीहरूले खाने क्यालोरीयुक्त प्रमुख परिकार गहुँको रोटी नै हो । इरान प्रतिव्यक्ति रोटी धेरै खाने देशमध्ये संसारमै अगाडि परेको देश हो । पछिल्ला वर्षमा धानको प्रतिव्यक्ति उपभोग इरानमा क्रमशः बढिरहेको छ । इराले धान पनि निर्यात गर्न थालेको छ । क्यालोरी र पौष्टिक तत्वको अर्को महत्वपूर्ण स्रोत भनेको दही र मखनजस्ता दुग्ध उत्पादन हुन् ।
इरानले कृषि क्षेत्रमा विविधीकरण गर्दै लगेको छ । फलफुल, तरकारी, पाते साग र सुकेका फलहरूको उपभोग पनि इरानमा बढिरहेको छ । पछिल्ला दुई दसकमा इरानी जनताबीच कुखुराको मासुको उपभोग पनि उल्लेख मात्रामा बढिरहेको छ । पशुको मासुबाट प्राप्त हुने पोषणको लागि खाइने गाईको मासु र पाठोको मासुलाई कुखुराको मासुको सेवन अनुपातले उछिनेको छ ।
इरानी सहायक कृषिमन्त्री मोहम्मद अली जाभेदीले गएको मार्च महिनामा मात्र इरानले उपभोग गर्ने खाद्य पदार्थको ८७ प्रतिशत आन्तरिक स्रोतबाट पूर्ति हुने बताएका थिए । वर्तमान इरानी राष्ट्रपति हस्सन रोहानी सन् २०१३ मा सत्तासीन भएका थिए । त्यतिबेला इरानको कृषि उत्पादन ९ करोड ७० लाख टन थियो भने सन् २०१७ को अन्त्यसम्ममा कृषि उत्पादन १२ करोड २० लाख टन पुगेको छ ।
इरानको कृषि क्षेत्रमा अझै पनि चुनौतीका पहाड छन् । अधिकांश मानिसको विविध स्वादको आवश्यकता पूर्ति गर्न खाद्य सामग्रीका केही स–साना खाडल पुर्न परेको छ । इरानले अझै पनि पानी जोगाउने वस्तु, कृषि औजार, कृषि मल र पेयपदार्थ आयात गरिरहनु परेको छ । इरानको खाना आपूर्तिमा यस्ता समस्याले अल्पकालीनरूपमा खासै कुनै प्रमुख प्रभाव पार्नेछैन ।
इरानी आत्मनिर्भरताको कृषि एउटा उदाहरणमात्र हो । विदेशी पर्यटकहरूले इरानमा आफ्नै बैङ्क कार्ड भुक्तानी प्रणाली देख्न सक्छन् । इरानमा क्युआर कोड प्रयोग गरी भुक्तानी गर्ने प्रणाली निकै चर्चित छ । पेट्रोल पम्पमा आफ्नै मौलिक खासको प्रविधि प्रयोग गरिएको देख्न सक्छन् । यस्ता आत्मनिर्भरताकै कारण इरानलाई कुनै पनि प्रकारका नाकाबन्दी सामना गर्ने शक्ति प्रदान गर्दछ ।
(लेखक चीनको पिपुल्स डेलीका वरिष्ठ सम्पादक हुनुहुन्छ । साथै चीनको रेनमिन विश्वविद्यालयअन्तर्गत वित्तीय अध्ययन केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply