भर्खरै :

पूर्वउपकुलपतिहरूको चिन्ता

विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले विश्वविद्यालयमा सरकारी हस्तक्षेप बढाउने विधेयकको विरोध गर्नुभएको छ । दलीय भागबण्डाले त्यसै पनि थिलथिलो बनेका विश्वविद्यालयमा थप शासक दलीय भागवण्डा ‘गलगाँडको पिलो’ बन्ने पक्का छ । सबै विश्वविद्यालयका उपकुलपतिदेखि क्याम्पस प्रमुख र कर्मचारी नियुक्तिमा समेत शासक दलीय भागबण्डा हुँदा विश्वविद्यालय शिक्षा लथालिङ्ग बनेको छ । शासक दलले आफू सत्तासीन हुँदा आफ्नो स्वार्थअनुरुपका प्रावधान लागू गर्ने र स्वार्थविपरीतका व्यवस्था बदर गर्ने मनोमानीले विश्वविद्यालय विश्वविद्यालयजस्ता हुन सकेनन् । विश्वविद्यालय प्रमाणपत्र बाँड्ने र शासक दलका आसेपासे भर्ती गर्ने केन्द्र बनेका छन् ।
विश्वविद्यालयहरू प्राज्ञिक संस्था हुन् । राज्यले बोकेको कार्यभार पूरा गर्नु विश्वविद्यालयको दायित्व हो । तर, ती कार्यभार पूरा गर्न विश्वविद्यालयलाई स्वायत्त बनाइएको हुन्छ । विश्वविद्यालयहरूले राज्यले निर्देशित गरेका लक्ष्य सफल बनाउन योग्य जनशक्तिको तयारी र अनुसन्धानमा योगदान गर्छन् । राज्यले त्यसको लागि मनग्य लगानी पनि गरेको हुन्छ । एउटा कुनै निजी कम्पनीले पनि अनुसन्धानको लागि अलग्ग शाखा बनाएर अनुसन्धानको नतिजाको आधारमा आफ्ना कार्ययोजना अघि बढाउने गर्छ भने विश्वविद्यालय राज्यका त्यस्तै अनुसन्धान निकाय हुन् ।
शासक दलले विश्वविद्यालय शिक्षाको प्राज्ञिक उचाइ र महत्वलाई उपेक्षा गरी विज्ञ प्राध्यापक र विद्वानलाई पनि आफ्नो मातहतमा राख्ने र आफ्नो हुकुमको तामेली गराउने सङ्कीर्णता प्रदर्शन गरिरहेका छन् । योग्य मानिसलाई भन्दा आफ्नो दल र गुटको मानिसलाई पदमा पु¥याउने र त्यहींबाट राजनीतिक र आर्थिक फाइदा उठाउने शासक दलको गलत प्रवृत्तिका कारण आज देशका विश्वविद्यालय स्वयम् विकृतिको जरा बनिरहेका छन् ।
नयाँ बनेको विधेयकले विश्वविद्यालयका पदाधिकारीलाई सरकारले चाहेको अवस्थामा कुनै पनि बेला हटाउन सक्ने प्रावधान ल्याउन खोजिएको छ । कदाचित यस्तो प्रावधान बने विश्वविद्यालयका पदाधिकारीहरू प्राज्ञिक उन्नयन र उच्च शिक्षाको विकासमा भन्दा शासक दलका नेताहरूको चाकडीमा बढी लाग्ने पक्का छ । शासक दलको चाकडी गरेका मानिस नै विश्वविद्यालयका पदाधिकारी बन्ने अवस्था आउनेछ । विश्वविद्यालयलाई आफ्ना झोलेहरूको भर्तीकेन्द्र बनाउने अधिकार यो विधेयकले शासक दललाई प्रदान गर्नेछ ।
कुनै पनि देशका सबै पक्षको विकासको लागि विश्वविद्यालय र प्राज्ञिक अभ्यास महत्पूर्ण पक्ष हो । जुन देशमा उत्कृष्ट विश्वविद्यालय छन्, त्यो देशले भविष्यको चिन्ता मान्नुपर्दैन । ढिलोचाँडो विश्वविद्यालयका उत्कृष्ट प्राज्ञिक व्यक्तित्व र जनशक्तिले देशलाई सही दिशातर्फ दोहो¥याउनेछ । तर, भएका विश्वविद्यालयका प्राध्यापक र विद्वान नै विश्वविद्यालयको अवस्थाप्रति निराश बन्छन् भने त्यो देशको विकासको सपनामात्र सपनामा सीमित हुन्छ । ती सपना साकार गर्ने बलियो आधार भनेका विश्वविद्यालयहरू नै हुन् । विश्वविद्यालयका मिहिनेती प्राध्यापक र विद्यार्थी नै हुन् । शासक दलले आफ्नो कुरा खाने मानिसको भरमा देशको प्राज्ञिक विकास गर्ने सोच्नु दिवास्वप्नमात्र हो ।
पूर्वउपकुलपतिहरूका चिन्ताको सुनुवाइ सत्तासीन दलले गर्नुपर्छ । उहाँहरूका चिन्ता देशको भविष्यप्रतिको चिन्ता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *