भर्खरै :

सिद्धान्तमा समाजवाद र व्यवहारमा सामन्तवाद

– प्रकाश
नेपाली जनतामाझ कम्युनिष्ट अर्थात् साम्यवादी दर्शन, विचारधारा र पार्टीको लोकप्रियता छ । सोभियत सङ्घ, पूर्वी युरोप, चीन, प्रजग कोरिया, क्युवालगायत समाजवादी देशहरूमा त्यहाँका कम्युनिष्टहरूले गरेको जनताको सेवा र अभूतपूर्व विकास सुनेर देखेर पनि होला नेपाली जनताले कम्युनिष्ट विचार बोकेका र कम्युनिष्ट नामधारी पार्टीहरूलाई आर्थिक, भौतिक र निर्वाचनमा मतमार्फत सहयोग गरेका छन् । नेपालमा कम्युनिष्टको नामले जति पनि सरकार बने ती कसैको व्यक्तिगत वा दलगत लोकप्रियता वा सक्षमताले होइन बरु कम्युनिष्ट सिद्धान्त र पार्टीप्रतिको जनताको निष्ठा र आशाले सम्भव भएको हो ।
कम्युनिष्ट नाम बोकेर निर्वाचनमार्फत सरकारमा पुगेका दल र ती दलका नेताहरूले भने आफूलाई कम्युनिष्ट सिद्धान्त र आदर्शमा अडिग राख्न सकेनन् । कम्युनिष्ट परिचयलाई व्यवहारमा उतार्नका लागि नभई निर्वाचन जित्न ट्रेडमार्कका रुपमा प्रयोग गरेकाहरूबाट त्यो सम्भव पनि थिएन । आफूलाई कम्युनिष्ट दाबी गरेर नथाक्ने ती शासक दलका नेता–कार्यकर्ता कम्युनिष्ट सिद्धान्त र आदर्शबाट टाढा पुगिसकेका छन् । भ्रष्टाचार र कमिसनतन्त्रको दलदलमा फसेर वर्गशत्रुसित घाँटी जोडिसकेका छन् । तरै पनि समाजवाद र साम्यवाद शब्द जप्न छोडेका छैनन् । सचेत नेपाली जनता टिप्पणी गरिरहेका छन् – सिद्धान्तमा समाजवाद र व्यवहारमा सामन्तवाद । जनताको टिप्पणी मनगढन्ते वा आधारहीन होइन । वर्तमान राष्ट्रपतिको ‘राजकीय सवारी’ मा घण्टौं सडक जाममा बस्नुपर्दा, प्रधानमन्त्रीको दम्भी भाषण र छुच्चो बोली सुन्दा, मन्त्री र सत्तासीन पार्टी नेताहरूको धाक रवाफ र सुविधा देख्दा हामी गणतन्त्रमा हो कि नयाँ सामन्ती राजतन्त्रमा छौँ ? प्रश्न गर्नुपर्ने अवस्था छ । सिद्धान्तमा समाजवाद र व्यवहारमा सामन्तवाद प्रदर्शन गरेर ती नक्कली कम्युनिष्टहरूले जनतामाझ समाजवाद र साम्यवादकै बदनाम गरिरहेका छन्, बदनाम गर्ने मौका वर्गशत्रुहरूलाई दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *