नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
–मेरिना शाक्य
एमाले र एमाओवादी मिलेर बनेको नेकपा साँचो कम्युनिष्ट पार्टी होइन । नक्कली कम्युनिष्ट पार्टीले कम्युनिष्ट शासन गर्दैन । संविधान र लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर काम गर्ने नाउँको नेकपा पुँजीवादी पार्टी हो । अतः सरकारको नेतृत्व गरिरहेको नेकपा पुँजीपति वर्गको प्रतिनिधित्व गरिरहेको पार्टी हो । सरकार नेकपाले चलाइरहेको हो तर शासन कम्युनिष्ट होइन भन्नुको अर्थ नेकपा पार्टीको घोषणापत्र र विधानमा उल्लेख भएझैँ माक्र्सवाद र लेनिनवादलाई आत्मसात गर्ने पार्टी होइन अर्थात् नेकपाको पथप्रदर्शक माक्र्सवाद लेनिनवाद होइन ।
नेकपाले कम्युनिष्ट शासन ल्याउँदैन, ल्याउन चाहेको छैन । पुँजीवादी संविधान र बन्दोबस्तमा रहेर, हुर्केर अघि बढिरहेको नेकपाले कम्युनिष्ट शासन ल्याउने खालको कुनै राजनीतिक गतिविधि गरिरहेको छैन, न त पार्टीले नेता तथा कार्यकर्तालाई कम्युनिष्टको सिद्धान्त र विचारबारे सुसूचित पारिरहेको छ । कम्युनिष्टको शासन नल्याउने, ल्याउन अघि नबढ्ने नेकपा केको कम्युनिष्ट ? कम्युनिष्ट शासनका लागि कुनै तयारी नगर्ने दलका नेताहरू किन समाजवाद ल्याउने झूटको खेती गर्दैछन् ? नेकपा दलको नाउँ कम्युनिष्ट हो तर सिद्धान्त, विचार, आचरण कम्युनिष्ट पार्टीको जस्तो होइन ।
जहिल्यै सरकारकोमात्र नेतृत्व गरेर कम्युनिष्टको शासन ल्याउने कहिले ? कम्युनिष्टको शासन ल्याउन तयारी गर्ने कहिले ? सरकारको नेतृत्वमा रजाइँ गरेर कम्युनिष्टको शासन कसरी आउँछ । कम्युनिष्टको शासन कहिल्यै नल्याउने ? नेकपाले सरकारको मात्र नेतृत्व गरिरहने ? त्यसो भए नेकपाको के अर्थ रह्यो ? नेकपाको नाउँ भजेर जनताबीच झूटको खेती किन गर्नुप¥यो ? कम्युनिष्टको नाउँमा किन जनताको मत लिनुप¥यो ?
नेकपाले के पुँजीवादी बन्दोबस्तको विरोध नगर्ने ? पुँजीवादी व्यवस्था नपल्टाई देशमा कसरी कम्युनिष्टको शासन आउँछ ? के कम्युनिष्ट शासन सडक सङ्घर्ष नगरी प्राप्त हुन्छ ? दलले संवैधानिक व्यवस्थाअनुसार शासन मात्र गर्छ भने कम्युनिष्ट शासन आउँछ कसरी ? पुँजीवादी व्यवस्थामा कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दैमा समाजवाद आउँदैन, समाजवादी मान्यताअनुसार प्रक्रिया अघि बढ्दैन । नेकपाले कम्युनिष्ट शासनको लागि कुनै आधार तयार गर्दैन भने नेकपामा कम्युनिष्टको गन्ध पाउने कसरी ? पुँजीवादी व्यवस्थाअनुसार नै शासन चलाउँछ भने नेकपा र नेका जुन दलले सरकार चलाए पनि के फरक भयो ? नेकपाको उद्देश्य देशमा कम्युनिष्ट शासन चलाउने होइन पुँजीपति वर्गको हितमा पुँजीवादी व्यवस्थाको शासन चलाउनु नै रहेको छ । त्यो कुरा पूर्वसभामुख सुवास नेम्वाङको देशमा कम्युनिष्ट शासन आएको होइन भन्ने अभिव्यक्तिबाट पनि प्रस्ट हुन्छ ।
Leave a Reply