ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
(विद्वान गोविन्दप्रसाद लोहनीले चालीसको दसकमा लेख्नुभएको यो लेख २०४१ पुस १८ गतेको नयाँ करेन्ट पत्रिकामा प्रकाशित भएको थियो । २०४२ मा पञ्चायत पत्रिकामा साभार भई प्रकाशित सो लेख हाल अवकाश जीवन बिताइरहनुभएका लोहनीको तत्कालीन विचार बुझ्न सान्दर्भिक भएकोले पुनः प्रकाशन गरिएको छ –सम्पादक)
नेपालमा आजको जम्मा १६५ लाख जनसङ्ख्यामा लगभग १५० हजार सरकारी, अर्ध–सरकारी र सरकारद्वारा नियन्त्रित निकायहरूका जागिरे छन् ।
शिक्षकहरूलाई पनि गन्ने हो भने नेपालमा २२० हजार शिक्षितहरू सरकारी जागिरे छन् । सरकारी हन्डी र पेन्सनमा आश्रित पत्रकार र अन्य पेशेवर समुदायलाई पनि सम्मिलित गरेमा २४० हजार जति व्यक्ति अथवा २ लाख जति परिवार सरकारमा आश्रित छन् ।
नेपालमा ७–८ क्लासभन्दा बढी पढेका ४ साढे ४ लाख रहेको, क्याम्पस पुगेका ३ लाख जति र स्नातकोत्तर र त्यसभन्दा बढी पढेका ४०–५० हजार जतिमात्र रहेको विचार गर्दा नेपालका ‘पढे लेखेका’ भन्न सुहाउनेहरूमध्ये दुईतिहाइ जति जागिरे नै भएको देखिन्छ ।
स्नातकको ८० प्रतिशत र स्नातकोत्तरको ९० प्रतिशत तथा शैक्षिक उपाधिको शिखर मानिने डाक्टरहरू (पीएचडी, डीएससी, डीलिट, महोपाध्य) आदिको ९५ प्रतिशत जागिरे वा सरकार नियन्त्रित रहेका छन् ।
झण्डै ३० लाख नेपाली नाम ठेगाना लेख्न र चण्डी पाठ गर्न गोरखापत्र वाचनसम्म गर्ने सक्नेछन् । तर, तीमध्ये केही पढ्ने, सोच्ने, लेख्ने, बोल्ने र बुझ्ने क्षमतासम्म पुगेका ४ लाखभन्दा बढ्ता छैनन् । मेरो संसार आज यिनै ४ लाखसँग सम्बन्धित छ । आजका बाँकी १६१ लाख नेपाली खाली अति जटिल दैवी कम्प्युटरको टाउको भएका, उभिएर हिँड्ने ‘आहार निद्रा भय मैथुनम च’ प्राणीमात्र हुन् । तिनको कम्प्युटर बुद्धिमा प्रजातन्त्र, समाजवाद, जनवाद, सुधारिएको पञ्चायती व्यवस्थाका कुरा भरिएका छैनन् ।
यो लेखपढ गर्ने ४ लाखमध्ये एक लाख जति घरायसी आईमाई छन् । तिनको संसार भण्डार, भान्सा, बच्चा पाउने र हुर्काउने परम्परागत काममा सीमित छ । राजनीति गर्ने महिला १० हजार पनि छैनन् र झण्डै रु. १७५ करोडको श्रृङ्गार सामग्रीहरू, सारी, गहना तिनले बर्सेनि किन्छन् । गाई, बाँदर्नी, बाख्री र भैँसीले कुनै सृङ्गारपटार नगरे पनि भालेलाई उत्तेजित पारेकै छन्, व्याएकै छन् । जे भए पनि ३०–३२ अर्ब रु. को राष्ट्रिय आम्दानी र ३ अर्ब जत्तिको विदेशी मुद्रा कमाउन पनि धौ धौ परिरहेको यो गरीब राष्ट्र भएकोले वार्षिक १७५ करोड खर्च व्यर्थमा लाग्ने कोरा आर्थिक विचार मजस्तो लोभी अर्थविद्लाई लागेको होला । मुलुकका १५–१६ सय अति धनाढ्य महिलाहरूले नित्य फ्रेन्च परफ्युम (अत्तर) ले नुहाए पनि मलाई यो केको चासो ।
कुन सभ्य युगमा मात्रै श्रृङ्गार सामग्रीमा खर्च हुन्नथ्यो ? श्रृङ्गार आर्थिक इतिहास ४–५ हजार वर्ष पुरानो छ । तर विदेशी मुद्रा यसरी खर्च हुने गरी श्रृङ्गारको, पेयको, धूमपानको, सवारी साधन र इन्धनको स्रोत, पहिरन, खानपान र मनोरञ्जनको इतिहास भने नेपालमा २ सय वर्षतक र अझ भनूँ ३० वर्ष पनि भएको छैन ।
अब त के–के स्वदेशी वस्तु र सेवामा र के के विदेशी वस्तु र सेवामा नेपाली साक्षर ५० लाख, शिक्षित ३० लाख र केही नित्य पढ्ने गरेका ४–५ लाखको कुल आयको (अन्न, दाल, गेडागुडी र अन्नबाहेक) कति प्रतिशत स्वदेशमा उत्पादन भएको वस्तु र सेवामा र कति कति प्रतिशत दुर्लभ विदेशी मुद्रा पर्ने वस्तु र सेवामा खर्च हुन थालेको छ र यो खर्च कसरी धान्नेबारे कसैले हिसाब गरी पीएचडीको ग्रन्थ लेखे हुन्थ्यो ।
स्वदेशमा उत्पादन हुने बिलासका वस्तु र बिलास सेवाले लाखौंलाई काम माम प्राप्त हुनेगर्दथ्यो । विचार र सल्लाह दिइएकोमा नेपालमा कानुनविद्, डाक्टर–वैद्य–ज्योतिषी–झाँक्रीले मात्र पारिश्रमिक आश्रित क्षतिपूर्ति पाउने चलन छ । मैले दिएको विचार र सल्लाहले कोहीले प्र.म. र मन्त्री पद पड्काएर करोडौँ सोरे, सलामी खाए, देश विदेश डुले । तर उल्टै मलाई ठग भनेर ढोकैबाट फिर्ता पठाइदियो ।
कैकेयीले दशरथसँग बरदान माग्ने क्षण क्या बुद्धिमानी पु¥याएर छानेकी रहिछन्, नत्र दशरथले तृप्ति लिएर भोलिपल्ट सबै बिर्सिदिन्थे । विचार र सल्लाह पनि कपिराइट (स्वाधिकार) हुनुपर्छ । कुरो कतातिर भत्किन पुगेछ । आफ्नो ज्ञानको पूरा मोल असुल नगरी त्यसबाट अरुलाई फाइदा दिनु गोज्याङ्ग्रो काम हुनगएछ ।
माथिका अनुमानित तथ्याङ्कबाट नेपालको ४ लाखजति शिक्षितमध्ये ६०–७० प्रतिशत जागिरे नै रहेछन् भन्ने देखिन्छ । ती शिक्षित जागिरेमध्ये ९० प्रतिशत नेपालका सहरी क्षेत्र अर्थात् १०–१२ लाखमा पर्छन् । लेखनदास र बहिदार, खरीदार र लेखापाल, सुब्बालाई बुद्धिजीवी नमान्ने हो भने बुद्धिजीवी भन्न सकिनेहरूमध्ये ८० प्रतिशत जागिरे रहेछन् । उच्च बुद्धिजीवीका ८० प्रतिशत काठमाडौँमा रहेछन् । स्नातकको ९० प्रतिशत, एम.ए.को ९५ प्रतिशत र पीएचडी र डीएससीहरूको ९८ प्रतिशतभन्दा बढी सरकारी सेवामा रहेकाले स्वतन्त्र र निर्भिकरूपमा बोल्न, लेख्न नपाउने समुदायभित्र पर्दारहेछन् । यी सबैजसो काठमाडौँ, पाटन, विराटनगर, वीरगञ्ज, पोखरा केही सहरमा छन् । ८० प्रतिशत काठमाडौँ उपत्यकामा छन् ।
किन नेपालको ४–५ सय साप्ताहिक, मासिक र दैनिकहरूमा आलोचनात्मक कुरा लेख्ने जिम्मा, विश्लेषण गर्ने जिम्मा अलि कम सोचाइ र पढाइ भएकाहरू सरकारी विचार र भनाइको विवेकीकरण (नेसन लाइजेसन) गर्नुपर्ने भूमिकामा लागेर प्राप्त सुविधा जोगाउने र थप्ने बाटोमा लागिरहेका रहेछन् भन्ने बल्ल छर्लङ्ग भयो ।
यो मुलुकमा प्रजातन्त्र चलाउने, आलोचना गर्ने प्रतिपक्षको भूमिका खेल्ने समुदाय विद्यार्थी, खोसुवामा परेका ढाक्रेहरू, भ्रष्टाचारी, उच्च शिक्षितहरू र गाउँले पुराना जिमुवाल, पटवारी, तालुकदार, रकम कलम गर्ने अड्डाबाजहरू र पेशेवर हुल्याहाहरू–नकच्चरी आइमाईहरूबाहेक अरुको जोगियो त ? मैले पु. काङ्ग्रेस, पु.कम्युनिष्ट सबै प्रतिबन्धित समूहका नेताहरू र वरिष्ठ पञ्चहरूसँग यही प्रश्न बराबर सोधेँ ।
आलोचक विश्लेषकको भूमिका खेल्ने मान्छे पटक्कै नपुग्ने यस मुलुकमा प्रजातन्त्रको बौद्धिक भार बोक्ने कसले त ? कुरा ठट्टाको होइन, गहिरोसँग विचार्नु पर्नेरहेछ । नेताजीहरूको लोभिएको आँखा विद्यार्थीहरूतिर मात्रै जाने कारण यही नै हो । श्री ५ को सरकार पनि विद्यार्थीसँग तर्सने कारण यही नै रहेछ । यहाँ मजदुर, किसान, व्यापारी र बुद्धिजीवी राजनीतिमा धेरै कम रहेछन् ।
मैले पनि ३० वर्ष जागिरमै बिताएकोले जागिरभन्दा बाहिरको संसार कि त विद्यार्थी जीवन र किशोर तथा युवावस्थाको १२–१३ वर्षको पु.काङ्ग्रेसी र पु.कम्युनिष्ट राजनैतिक जीवनमा अनुभव गरेको थिएँ कि त गएका २ वर्षदेखि सक्दो अनुभव गर्दैछु । २०२० देखि २०३४÷३५ सालसम्म मैले (सरकारी अर्थशास्त्री भए तापनि) पञ्चायती राजनीतिको ढाँचा, सार र स्वरुपको तर्जुमा पनि राम्रोसँग संलग्न गराइएको थिएँ । आजका कैयौँ वरिष्ठ पञ्च र माननीयहरूले मलाई पञ्चायत व्यवस्थाको गुढ कुरा बोध गराउन खोज्दा मेरै पुराना ड्राफ्ट (मस्यौदा र प्रकाशित सामग्री) मलाई सुनाइरहेको र घोकाइरहेको जस्तो लाग्दा दङ्ग परेर सुन्छु – मलाई मेरो छोराले प्रेम र सन्तानोत्पत्तिका रहस्य हजुरलाई के थाहा छ भनी अज्ञानीमा भनेझैँ, डिनरमा केही नयाँ अधिकृतहरूले मलाई काँटा चम्चा चलाउने र ह्विस्की र वाइनमा फरक बताउने प्रयास गरेझैँ ।
मैले माथि नै भनेँ, मेरो संसार शिक्षित र उच्च शिक्षितहरूसँग मात्र घनिष्ठरूपले सम्बन्धित छ । स्वास्नी, बच्चा, एम.ए. पास छोराछोरीहरूसँग वा बुहारी र सासू, दिदी, बहिनीसँगको सम्बन्ध वैचारिक होइन यान्त्रिक सामाजिकमात्र हो ।
सरकारी बिदा नभएका दिन मेरा बुद्धिजीवी मित्रहरू कोहीसँग भेट हुँदैन, फोन हुँदैन । जागिरे मन मिल्ने र कुरा गर्न सकिने मेरा साथी कति कम रहेछन् । मदनमणी, प्रदीप गिरी, श्रीभद्र शर्मा, देवेन्द्रराज उपाध्याय आदि ८–१० जनासँग मात्र अहिले यो अनुभव गर्न थालेँ । विद्यार्थी तथा अधिकांश नेपाली पत्रकार र राजनीतिक व्यक्तिहरूसँग गम्भीर कुरा गर्नेहरूसँग अब वाक्क लाग्छ । समय र शक्ति व्यर्थ खेर गएको जस्तो लाग्छ । अत्यन्त निस्सासिंदो एक्लोपनले मानसिक अवसाद (डिप्रेशन) ल्याउँछ ।
पढ्दा पढ्दा आँखा टट्याउँदा कसैसँग विचारको आदानप्रदान गर्न छटपटी हुन्छ । यस्ता ८–१० जनामात्र चिनेको छु जसले जागिरमा आफूलाई जा–गिर गराएका छैनन् । पत्रकार, साहित्यकार, राजनीतिज्ञ तथा वकिलहरू वरिष्ठतर र वरिष्ठतमधेरै साथी छन् । तर, ती स्वतन्त्र व्यक्ति पनि आफ्नो घर व्यवहार आर्जनमै बढी व्यस्त हुन्छन् । स्कच ह्विस्की र कुखुराको सपेटो ख्वाउने निम्ता गरेमात्र भेट दिन्छन् ।
लिखाउने, पिलाउने र भिडियो देखाउने, पिकनिक लग्ने आदि खर्चालु प्रक्रिया गरेर दुई वर्ष बुद्धिजीवीहरूको सङ्गत गर्दा सारा बचत, पुरानो घर बेचेको पैसा, पेन्सन र कर्मचारी सञ्चयबाट प्राप्त एकमुष्ट रकम सबै उडेर परिवारको सम्पूर्ण गहना नेपाल बैङ्कमा धितो पर्न गयो । मनलाई रमाइलो नपारेको के अर्थ ? नाङ्गो जानु छ संसारबाट । विचार आदानप्रदान गर्दा छटपटी कस्तो हुदोरहेछ । मरेपछि डुमै राजा, बाँचुञ्जेल खाजा । निकै गलित बुढो भएपछि सरसङ्गत र लेख्नपढ्न हुनसक्दैन ।
५७ वर्ष पुगेको ढाक्रे बुद्धिजीवी ६७ वर्षभन्दा बढ्ता बौद्धिक सङ्गत गर्न लेख्न पढ्न सक्दैन भन्ने तथ्यबारे विचार्दा १० वर्ष दस हजार वर्षजस्तो लाग्छ ।
जागिरेहरूको प्राधान्य भएको यस देशमा, जागिरे बुद्धिजीवीहरूको मुलुकमा मानसिक सन्तुलन कायम राख्नै गा¥हो रहेछ, आजीवन कारावास परेझैँ । मान्छेसँग बोल्नै नपाइने अन्धमुष्ठि कोठामा (सोलिटरी कन्फाइनमेन्ट) जीवनभर थुनिएर त्यही अँध्यारोमा गर्नुपर्ने मान्छेको मनस्थितिजस्तो । मानसिक यातना दिने कस्तो कुशल विधि अङ्ग्रेज बहादुरले पत्ता लगाएको ?
बुद्धिजीवीहरूको यति ठूलो अनुपात जागिरे भएको मुलुकमा नेपालभन्दा रुस, चीन र पूर्वी युरोय, भियतनाम, क्युवाजस्ता कम्युनिष्ट मुलुकमात्र बढी होलान् । त्यहाँ राज्य बहिष्कृत (पर्ज भएका) बुद्धिजीवी र राजनेता कस्तो शून्य अनुभव गर्छन् । खुश्चेभ, मोलोटोवि, लिउ शावची र तेङ्ग स्याउ पिङ्ग, अब माओवादी र अन्य पूर्वी युरोपका दसौँ हजार नेताले अनुभव गरेका होलान् । अर्काको अनुभव आफूले गरेपछि मात्र वास्तविक अनुभूति बन्दछ । अनि सहानुभूति उत्पन्न हुँदोरहेछ ।
हाम्रा ठूलावडा र रइसहरूले वास्तविक भोक र ठण्डी गर्मी र तीर्खाको अनुभव कहिल्यै नगरेझैं । मैले बालक र युवा अवस्थामा उत्कट गरिबी, भोक र अपमानको अनुभव लामो कालसम्म गरेको छु र त्यसैले वामपन्थी झुकाव अमिट पार्न तेस्रो विश्वको मद्दत ग¥यो होला । साथै मैले लोकतन्त्रमा अनाशक्ति गएको २० वर्षमा भौतिक सुखको आधुनिक सबै साधन र सुविधाहरू पनि उपभोगमा गरेको छु । उच्चपदस्थ अधिकृत, योजना आयोगमा सदस्य र राजदूतको मासिक तलब ७३५ डलर तलब खाने अति बिलासी जीवन । शीत ताप नियन्त्रित मर्सिडिज बेञ्ज मोटरको सवार ४ वर्ष । झण्डावाला सवारी र अनेक गार्ड अफ अनर । भव्य रात्रीभोजहरू–प्रेसिडेन्ट, प्राइमिनिस्टर र अरब राजाहरूका साथ ।
अधिनायकवादी, सैनिकतन्त्र र फासिस्ट व्यवस्थाहरूमा पनि अस्वीकृत बुद्धिजीवी यस्तै एक्लोपन अनुभव गर्दा होलान् । नेपालमा त केही नभए पनि मन लागेको कुरा पढ्न त पाइन्छ, लेख्न पनि पाएकै छु (केही मयार्दा पालन गरे) । हो, गम्भीर रचना पढ्ने पाठक भने २–४ सय पाउन पनि अहिलेसम्मलाई दुर्लभ छ, भोलि जन्मने पाठकहरूका लागि लेखेझैँ ।
नेपालमा लाखौं गैरसरकारी बुद्धिजीवी ग्राहक, आलोचक, स्रोता र कार्यकर्ता पाउन २०–३० वर्ष पर्खनुपर्छ । यमराजले मलाई त त्यस्तो लामो समय बाँच्न कहाँ देलान् र दिई नै हाले पनि त्यस उमेरमा लेख्ने शारीरिक क्षमता कहाँ पाउने ?
नेपालीले विदेशको निम्ति लेखेको (अङ्गे्रजीमा) किताबबाट स्वदेशी अङ्ग्रेजीबाज बुद्धिजीवी र भारदार वर्ग ठूलो प्रभाव पर्दोरहेछ । अनिमात्र विद्वानमा गनिंदोरहेछ ।
मैले पनि यस्तै तीन आर्थिक–राजनैतिक–सामाजिक किताबमा हात हालेको छु, जसबाट भारतीय उपमहाद्वीपमा केही मौलिक विचार प्रस्तुत गरी बुढेसकालमा आर्थिकरूपले गा¥हो, साँघुरो नपर्ने स्थितिसमेत हुने निश्चित हुनेछ ।
जागिर ? छिः बान्ता आउनमात्र बाँकी छ । मैले अब स्वतन्त्र बुद्धिजीवीको सानो समुदायको सदस्यता कहिल्यै नछाड्ने अठोट गाँठो पारेको छु ।
चाहिंदैन नोकरी, ओहदा तक्मा भन्नासाथ । उसो भए पाउलास् विभिन्न सुविधा समारोहका निम्ता, विदेश भ्रमण, डिनरका निम्ता र उपहार, डलर आदि भनेर जागिरे साथी र राजनीतिक नेता र हितैषी भारदारहरू लोप्पा ख्वाउँछन् । म यी सबै कुरा विनाजागिर बढी प्राप्त गरेर छिट्टै देखाइदिने तरखरमा छु । मासिक ८ हजार खान पाइने यू.एन. (संयुक्त राष्ट्र सङ्घ) नोकरीबाट होइन विदेशमा किताब छपाएर । अनि महिनाको १० पल्ट घरमा खान, पिउन, भिडियो हेर्न बुद्धिजीवी र राजनीतिक समुदायहरूलाई डाकेरै शून्यता हटाउँछु ।
(साभारः नयाँ करेन्ट, २०४१–९–१८)
Leave a Reply