भर्खरै :

कटुञ्जेमा पाटी शिलान्यास

–सोनी कवां
भक्तपुर, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सृजना सैंजूले आइतबार सूर्यविनायक नपा वडा नं ५ कटुञ्जेस्थित दर्शनढुङ्गा गणेश मन्दिर परिसरमा पाटीको शिलान्यास गर्नुभयो ।
प्रदेशसभा सदस्यको विकास बजेटअन्तर्गत कुल ३० लाख रुपैयाँ र स्थानीय पूर्णमाया कासिछ्वा र असल कासिछ्वाको १० लाख आर्थिक चन्दामा सो पाटी निर्माण गरिन लागेको हो ।
कार्यक्रममा प्रदेश सांसद सैंजूले विकास निर्माण कार्य जनताको भावना, सपना र आवश्यकताअनुसार गर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले भक्तपुर जिल्ला कला–संस्कृतिको धरोहर भएको हुनाले यहाँका संस्कृति र सम्पदा जोगाउन सबै जनता एकजुट हुनुपर्ने धारणा राख्नुभयो  । सांसद सैंजूले रङ्गशाला, फास्ट ट्र्याक, रिङरोडको नाममा ऐतिहासिक सम्पदा मासेर गल्ती गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा चन्दादाता पूर्णमाया कासिछ्वाले सामाजिक सेवामा सहयोग गर्न पाउनु आफ्नो लागि अहोभाग्यको काम भएको बताउनुभयो ।
स्थानीय महेन्द्र बखुन्छेंले स्थानीयको श्रमदानसहित उपभोक्ता समितिमार्फत परम्परागत शैलीमा पाटी निर्माण गरिने जानकारी दिनुभयो ।
निर्माण उपभोक्ता समितिका उपाध्यक्ष महेन्द्र हाडाले कटुञ्जेको मौलिकता झल्किने गरी सो पाटी निर्माण गरिने बताउनुभयो ।
पाटी निर्माणको लागि स्थानीय बिकुलाल बासुको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *