भर्खरै :

प्रदूषण जलचरको लागि चुनौती

हेटौंडा, ७ जेठ । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ प्रदेश सभा सदस्य सृजना सैंजूले पानीका स्रोत, नदी, खोलानाला प्रदूषित र अतिक्रमित हुँदा जलचर संरक्षण दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।
मङ्गलबार प्रदेशसभा बैठकमा जलचर संरक्षण विधेयकबारे पार्टीको विचार राख्दै उहाँले जलचर संरक्षण र व्यवस्थापन वातावरण संरक्षणसँग अन्योन्यास्रित रूपमा गाँसिएको चर्चा गर्दै वातावरणमा हरितगृह प्रभाव अर्थात् तापक्रम वृद्धि जनताको लागि डेमोकल्सको तरबार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रत्येक नागरिकको स्वच्छ वातावरणको अधिकार नेपालको संविधानले मौलिक हकको धपमा स्वीकार गरेको तथ्य यस विधेयकले स्मरण गराउँछ । यद्यपि यथार्थ त तीतो छ – न जलचर, न जीव–जन्तु, न मानिसले स्वच्छ वातावरण पाइरहेका छन् । विज्ञहरू बताउँछन् – ‘काठमाडौँ उपत्यकाको वायुमा क्यान्सर, हृदयघात, मस्तिष्कघात गराउने कण छताछुल्ल छ ।’
देशैभरिका नदी, खोलानाला अतिक्रमणको चपेटामा परेको चर्चा गर्दै सांसद सैंजूले बागमती, मनोहरा, टुकुचा, विष्णुमती, हनुमन्तेलगायतका खोलानाला अतिक्रमणमा परेको, तालतलाउ पोखरी अतिक्रमण गरी ठूलठूला भवन निर्माण भइरहेकोमा दुःख व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “साइबेरियादेखिका चराचुरुङ्गीहरूको वासस्थान यो प्रदेशको वातावरणीय संरक्षण र सन्तुलनको निम्ति कुनै अगुवाइ नहुनु अत्यन्त दःुखद पक्ष हो ।”
सांसद सैंजूले भन्नुभयो, “पुँजीवाद स्वयम् विश्व प्रदूषणको सबैभन्दा ठूलो कारक हो भन्दा अत्युक्ति हुन्न । निजी स्वामित्वका उद्योग–व्यवसाय, कारखाना आदिबाट उत्पादन हुने हानिकारक, फोहरमैला बेरोकतोक खोलानालामा मिसाइएको छ । सरकारले कुनै रोक्ने नीति, उपचार गर्ने नीति ल्याउन सकेको छैन । जलचरका विविध प्रजातिहरू लोपोन्मुख अवस्थामा छन् । कृषिक्षेत्रमा विषादीको व्यापक प्रयोग अर्को समस्या हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *