भर्खरै :

किसान भेलामा किसान समस्याको चर्चा

भक्तपुर, ६ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ भनपा–७ वडा एकाइ समितिको आयोजनामा समसामयिक विषयमा वडास्तरीय किसान भेला सोमबार भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले गुठी जग्गा जोत्ने किसानहरू पुस्तौंदेखिको जोताहा भएर पनि राज्यले पक्षपात गरेको, २०३३ सालमा गुठी जग्गासम्बन्धी नयाँ ऐन ल्याएर किसानहरूको जग्गा निखनेको र भक्तपुरकै किसानलाई केही मण्डलेहरूले गुठी जग्गा निखनेर दुःख दिएको बताउनुभयो । उहाँले ‘कम्युनिष्ट’ सरकारले स्मार्ट सिटी बनाउने नाउँमा किसानहरूको जग्गा हडप्ने कार्य गरिरहेकोले वर्तमान सरकार जनविरोधी सरकार नै हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य तथा भनपा ७ वडाका वडाअध्यक्ष उकेश कवांले भूकम्प पीडितलाई अनेक आश्वासन बाँडे पनि जनताका समस्या जहाँको त्यहीं भएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले प्रदान गरिने शैक्षिक ऋण तथा छात्रवृत्तिले जनतालाई प्रत्यक्ष रुपले सेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले खोकना–बोंङाका किसानहरू सरकारको गलत निर्णय तथा नीतिका कारण अत्यन्त प्रताडित रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कुमार ग्वाछाको सभापतित्वमा भएको भेलामा नेक्राकिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्व, अग्रज किसान कार्यकर्ता लक्ष्मीभक्त कवां, नेमकिपा–७ का अध्यक्ष बलराम गोसाई, राकेश सुकुपायो, श्रीभक्त तुईतुईले पनि आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *