‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
न्हुछेरत्न बुद्धाचार्य
“उद्यमीलाई वस्तु भारी व्यापारीलाई ठाउँ टाढा विद्वानलाई कुनै विदेश र मीठो बोल्नेलाई कोही पराइ हुँदैन ।” – कौटिल्य नेपाल हिमालयको काखमा रहेको प्राकृतिक खजानाले भरिपूर्ण एक स्वतन्त्र राज्य होे । प्राचीनकालदेखि नेपाल एक व्यापारिक केन्द्र बनेको कुरा चतुर्थ ई.पू.मा लेखिएको कौटिल्यको अर्थशास्त्रमा नेपाली कम्बल र ऊनको वर्णनबाट प्रमाणित हुन्छ । फेरि ईस्वी सन् सातौँ शताब्दीमा नेपाल आएका चिनियाँ राजदूत वाङ ह्वेन चेको वृत्तान्तबाट नेपाल धनधान्यपूर्ण एक व्यापार केन्द्र भएको प्रमाण मिल्दछ । ईस्वी सन् आठौँ शताब्दीनेर पाइएको मूलस्तितवाद विनयसङ्ग्रह बौद्ध ग्रन्थमा पनि नेपाल व्यापारिक दृष्टिकोणबाट महत्वपूर्ण स्थान रहेको थाहा हुन्छ । प्राचीन नेपालमा उद्योग वाणिज्यको विकास भई नेपाली सभ्यताको निर्माण दु्रतगतिले भएको देखिन्छ ।
प्राचीन समयदेखि नेपालमा कपडा उद्योग पनि उन्नत अवस्थामा रहेको कुरा तत्कालीन अभिलेखमा चैलकर (कपडा र माल सामानमा लगाउने कर) शब्द उल्लेख पाइनु र जैन ग्रन्थ ‘बृहकल्प सूत्र भाष्य ’ मा नेपालमा बुनेका कपडाको तारिफ गरिनुबाट थाहा हुन्छ । प्राचीनकालमा काष्ठ उद्योग पनि उन्नत अवस्थामा रहेको थियो । चीनको टाङ्गा इतिहासमा नेपालका घरहरू काष्ठ निर्मित र काठका मूर्तिहरू सजाइनुका साथै भित्री चित्रहरू पनि चित्रित गरिने परम्परा भएको वर्णन छ । प्राचीन कालका मानिसहरू कृषि व्यवसायका साथै उद्योग तथा व्यापारको उन्नतिमा लागेका थिए । नेपालमा निर्मित पाखीको व्यापार पाटलीपुत्रको बजारमा हुने कुरा कौटिल्यको अर्थशास्त्रमा वर्णित छ ।
त्यसबेला नेपालमा फलामको उद्योग तथा व्यापार राम्रो फस्टाएको थियो । उत्तर प्राचीनकालीन अभिलेखहरूमा फलामको हँसिया तथा हलोबारे उल्लेख पाइन्छ । संवत् ३१ को टिस्टुङ्गको अभिलेखमा तत्समयमा फलामको वस्तु निर्यात हुने कुरा बयान गरिएको छ । त्यस समयमा नेपालमा तामा एवम् माटाका भाँडाकुँडाहरूको पनि उद्योग तथा व्यापार राम्रो अवस्थामा थियो ।
त्यसबेला छिमेकी देशहरूसँग विदेशी मालहरू पैठारी भएको र स्वदेशबाट विदेशमा नेपाली कस्तूरी, चमर, जडीबुटी आदि सामानहरू निकासी गरेर भन्सारकर असुल गर्ने प्रथाले देशमा विकास गर्न बाटो खुलेको र विकास भएको विदित हुन्छ ।
प्राचीन नेपालका कालीगढहरूको सामाजिक स्तर उँचो थियो । बौद्ध जातक कथाहरूमा उद्योग र व्यापारको श्रेणीहरूको सङ्घ उल्लेख गरिएको छ । गौतम धर्म सूत्रले खेती व्यापार, पशुपालन, दाम, पैसा सापट दिने र कालीगढहरूलाई आ–आफ्नो श्रेणीको लागि नियमहरू बनाउन अधिकार दिएको थियो । व्यापारी र कालीगढहरूको सङ्घलाई वैधानिक अङ्ग मानिन्थ्यो ।
लिच्छविकालमा पनि केही व्यवसायका श्रेणीहरू भएको बुझिन्छ । कालीगढ लेनदेन गर्ने नटुवा इत्यादि व्यवसायका श्रेणीहरू थिए । श्रेणी सदस्यहरूलाई भेला गराउन ढोलक बजाइन्थ्यो र सोही ढोलकको आवाज सुनेर तिनीहरू श्रेणीको बैठकमा उपस्थित हुन्थे । श्रेणी वा सङ्घमा फुट पैदा गराउने व्यक्ति सङ्क्रामक रोगसरह मानिन्थ्यो र त्यसलाई ठूलो सजाय हुनुको अतिरिक्त देश निकाला गरिन्थ्यो । त्यसबेला नेपालमा व्यापारीहरूको कहिल्यै क्षय नहुने कोष (आधुनिक बैङ्कजस्तो) को काम गर्दथ्यो । यसबाट त्यसबेलाको मानिसहरूलाई लेनदेनको काममा ठूलो मद्दत पु¥याइएको थियो । लिच्छविकालीन अर्थ व्यवस्थामा व्यापारको महत्वपूर्ण भूमिका थियो ।
त्यतिखेर आन्तरिक बजारमा स्वदेशमा नै उत्पादित लत्ता कपडा, अन्न, फलफूूल, माछा, मासु, भाँडाकुँडा आदि वस्तु बिक्री वितरण हुन्थ्यो । त्यसबेला साधारण व्यापारीलाई बणिक भनिन्थ्यो । तिब्बत तथा भारत दुवैसँग नेपालको व्यापारिक सम्बन्ध थियो । व्यापारलाई सुगम बनाउन विभिन्न किसिमका मुद्राहरू प्रचलनमा ल्याइएका थिए । यी मुद्राहरू मानाङ्क, गुणाङ्क, पाशुपत इत्यादि नामबाट चिनिन्थ्यो । यी तथ्यहरू अतिरिक्त उपत्यकाबाट नेवारहरू बा¥हौं, ते¥हांै शताब्दीदेखि नै सुदूरपश्चिमको इलाका तथा सुर्खेतसम्म फैलिएको कुरा सुर्खेतमा प्राप्त अभिलेखबाट थाहा हुन्छ । यहाँको आर्थिक अवस्था सुध्रिएको कारण व्यापार क्षेत्रमा उन्नति गर्न समर्थ भयो । त्यसताका व्यापारमा एकाधिकार व्यवस्था रहेको थाहा हुन्छ । एकप्रकारको पालुङ रोप्ने एकाघिका पाटनका टेपेहरूलाई प्राप्त थियो । व्यापारीहरूलाई बाटाघाटामा चोर डाँकाको डर हुनाले व्यापारीहरू समूहमा मिलेर हिँड्थे । व्यापारीहरूका यस्ता समूहलाई सार्थ र सार्थका नाइकेलाई सार्थवाह भनिन्थ्यो ।
मध्यकालीन आर्थिक जनजीवनको अर्को महत्वपूर्ण पक्ष उद्योग, व्यवसाय र व्यापार पनि थियो । खासगरी वास्तुकला, मूर्तिकला र चित्रकला निकै फस्टाइएको थियो । मध्यकालमा कपडा बुन्ने र चित्रकला निकै फस्टाइएको थियो । मध्यकालमा कपडा बुन्ने, रङ्गाउनेजस्ता काम पनि हुन्थ्यो । घरेलु उद्योगले गर्दा नेपालमा कला–कौशलको ठूलो उन्नति भयो । त्यसबखत धागो कात्ने, कपडा बुन्ने, मूर्ति बनाउने, तामा, पित्तल, फलाम तथा ढलौटका भाँडाकुँडा बनाउने, हातहतियार बनाउने उद्योगहरू प्रशस्तै थिए ।
मूर्तिकलामा नेपाली कलाकारहरूले ठूलो नाम कमाएका थिए । त्यसबखत कागज र रङ्ग बनाउने उद्योगहरू पनि नेपालमा स्थापना भएका थिए । यहाँ घरेलु उद्योग वा घर घरमा तान राखेर कपडा बुन्ने प्रचलन चल्दै आएको पाइन्छ ।
आन्तरिक व्यापार वस्तु विनिमय र खरीद–बिक्री दुवै हुनेगथ्र्यो । व्यापारिक दृष्टिकोणबाट यसबेला तिब्बत र भारत दुवैतिर सम्बन्ध रहेको देखिन्छ । नेपालमा बनेका ढलौटका मूर्तिहरू तिब्बत हुँदै चीनसम्म पुगेको थियो । त्यताबाट नेपालमा सुन–चाँदीजस्ता धातु आउँथ्यो । यसरी चीन र भारतबाहेक हिमालमुनिका सानातिना पहाडी राज्यसम्म व्यापारिक सम्बन्ध रहेको देखिन्छ । त्यस्ता सानातिना पहाडी राज्यहरूमा गोर्खा, तनहुँ, मकवानपुर आदि पथ्र्यो । उपत्यकाबाहिरका बनेपा, धुलिखेल, दोलखा, पनौती, पलाञ्चोक आदिसँग पनि व्यापारिक सम्बन्ध थियो ।
मध्यकालमा ल्हासामा नेपाली वाणिज्य दूत रहनुका साथै नेपाली व्यापारीहरूको कोठी पनि खोलिएको थियो । नेपालको तिब्बतसँग प्रायः दुई मार्गहरू भएर व्यापार हुनेगर्दथ्यो, पहिलो केरुङ र दोस्रो कुती थियो । नेपालको बाटो भएर भारतीय व्यापारीहरूले धेरै फाइदा लिने गर्दथे । नेपालको व्यापार तिब्बतका साथै भारतसँग निर्वाधरूपमा चलेको थियो । नेपालले भारतमा धातुका सामान, जडीबुटी, छाला, हाड निर्यात गर्दथ्यो । पटना तथा बनारसमा नेपाली व्यापारीहरूका कोठीहरू पनि खोलिएका थिए । नेपालले भारतबाट मसला, नुन रेशमी कपडा इत्यादि आयात गर्दथ्यो ।
यस्तै नेपालको उद्योग र व्यापारबारे पर्सिबल ल्यान्डनले आफ्नो ‘नेपाल’ नामक पुस्तकमा सत्रौं शताब्दीतिर दुईजना फ्रेन्च विशेषज्ञको सहायताले काठमाडौँमा एक आर्सिनल (शस्त्रागार) स्थापना गरको चर्चा गरेका छन् । यी दुई फ्रेञ्च विशेषज्ञहरू नोविल्ले र बिसेन्ट तथा अर्को एकजना विदेशी विशेषज्ञ एमदिल बेन्सी मिली टुकुचाको किनारमा तोप बनाएका थिए ।
मध्यकालीन नेपालको उद्योग वाणिज्यको स्थितिबारे पार्दै सन् १७९३ तिर नेपाल भ्रमण गर्न आएका कर्णेल कर्क पेट्रिकले आफ्नो यात्रा विवरण पुस्तकमा लेखेका छन्, “मैले जहाँसम्म निरीक्षण गरेको छु, नेवारहरू घरेलु उद्योगमा सिद्धहस्त छन् । उनीहरू केही खस्रो प्रकारको कपडा तयार गरी तिब्बततर्फ निर्यात गर्छन् । यसमा लाग्ने कपास नुवाकोट वा मधेसमा उत्पादन गरिन्छ । नेवारहरू फलाम, तामा र पित्तलका भाँडाहरू भारतमा निर्यात गर्छन् । उनीहरूले केही हातहतियार पनि उत्पादन गरेका थिए । त्यसबेला उनीहरू नेपालबाट लाहा, मह, घ्यू, कपास आदि निर्यात गर्थे ।” उनले नेपालका खानी उद्योग सम्बन्धमा पनि लेखेका छन्, “नेपालको फलाम सायद कुनै मुलुकको भन्दा पनि कम खालको छैन र यहाँ विविध प्रकारको तामाका धाउहरू केही महत्वपूर्ण एवम् उत्तम खालका छन् ।” अवधमा पहिले नेपालबाट यो धातु निर्यात गरिन्थ्यो । अर्को १८६ वर्षअघि घरेलु उद्योगको लुगा बुन्ने अवस्थाबारे लेखिएको डा. केपबेलको पुस्तक ‘ऋयततयल mबलगाबअतगचभ ष्ल ल्भउब’ि भन्ने पुस्तकमा भक्तपुरमा सबैभन्दा राम्रोसित रङ्गरोगनको काम हुन्थ्यो भन्ने उल्लेख छ । ‘कपडामा राम्रो बुट्टा छाप्न सिपालु’ भनेर वर्णन गरिएको छ । यसरी विदेशी विद्वानहरूसमेतले नेपालको उद्योग वाणिज्यको विकासको उल्लेख गरेका छन् । यसैले प्राचीन कालदेखि नै नेपालका जनता उद्यमी भएको प्रमाणित हुन्छ ।
सन्दर्भ सामग्री
१) Ancient Nepal – D.R. Regmi,
२) Nepal Vol – P. London
३) An Account of The Kingdom of Nepal – Kirk Patrick
४) कौटिल्यको अर्थशास्त्र – कौटिल्य
५) नेपाल उपत्यकाको मध्यकालीन इतिहास – सूर्यविक्रम ज्ञवाली
Leave a Reply