भर्खरै :

घट्दो विदेशी विनिमय सञ्चिति बढाउने उपाय

रामकाजी खाइजू
पछिल्लो समयमा नेपालको कुल विदेशी विनिमय सञ्चिति घट्दो क्रममा रहेको छ । २०७५ असार मसान्तमा रु. ११ खर्ब २ अर्ब ५८ करोड ५२ लाख बराबरको रहेको यस्तो सञ्चिति २०७५ चैत मसान्तमा रु. १० खर्ब ५० अर्ब ८५ करोड ४२ लाख बराबर कायम भएको छ । यो ९ महिनाको अवधिमा नेपालको विदेशी विनिमय सञ्चिति रु. ५१ अर्ब ७३ करोडले घटेको छ ।
नेपालको विदेशी विनिमय सञ्चितिमा झण्डै एक चौथाइको हाराहारीमा भारतीय मुद्रा भा.रु. रहने गरेको छ । बाँकी विभिन्न विदेशी मुलुकका मुद्रा रहने गर्दछ । २०७५ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६.३ प्रतिशत र बाँकी ७३.७ प्रतिशत विभिन्न मुलुकको मुद्रा रहेको छ । रकमका हिसाबले रु. २ खर्ब ७५ अर्ब ९१ करोड ९४ लाख बराबरको भा.रु. र रु. ७ खर्ब ७४ अर्ब ९३ करोड ४८ लाख बराबरको अन्य विदेशी मुद्रा सञ्चिति रहेको छ ।
नेपालको विदेशी विनिमय सञ्चिति विगत वर्षहरूमा बढ्दै गएर पछिल्लो समय घट्न गएको देखिन्छ ।
नेपालको विदेशी विनिमय सञ्चिति
आर्थिक वर्ष सञ्चिति (रु. करोडमा)
२०७३ असार १०३९१६.९४
२०७४ असार १०७९४३.२१
२०७५ असार ११०२५८.५२ २०७५ चैत १०५०८५.४२
विदेशी विनिमय
स्वदेशबाहेकका विदेशी मुलुकहरूको मुद्रालाई विदेशी मुद्रा भनिन्छ । यस्तो विदेशी मुद्रालाई नै समग्रमा विदेशी विनिमय भनिन्छ । विदेशी मुलुकहरूसँग गरिने व्यापारको भुक्तानी विदेशी मुद्रामै गर्नुपर्ने हुन्छ । वैदेशिक ऋण तथा अनुदानको लेनदेन तथा वैदेशिक भ्रमण, शिक्षा र औषधोपचारमा हुने खर्च पनि विदेशी मुद्रामै भुक्तानी गर्नुपर्ने हुन्छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको खर्च पनि विदेशी मुद्रामै भुक्तानी गर्नुपर्दछ । यसरी विदेशी मुद्रामा गर्नुपर्ने खर्च भुक्तानीका लागि राज्यले पर्याप्त विदेशी मुद्राको सञ्चिति कायम गर्नुपर्ने हुन्छ ।
विदेशी विनिमयको स्रोत
विदेशी विनिमयको सञ्चिति कायम गर्न मुलुकले विभिन्न उपायबाट विदेशी मुद्रा आर्जन गर्नुपर्दछ । स्वदेशी वस्तु विदेश निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । पर्यटनको विकास गरी विदेशी पर्यटक स्वदेश भित्र्याई तिनीहरूबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । देशमा राम्राराम्रा विशेषज्ञ अस्पताल तथा विश्वविद्यालयको विकास गरी विदेशी नागरिकहरूलाई स्वास्थ्य उपचार तथा शिक्षा उपलब्ध गराई विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । वैदेशिक रोजगारीमार्फत रेमिट्यान्स भित्याएर पनि विदेशी मुद्रा स्वदेश भित्र्याउन सकिन्छ । वैदेशिक ऋण, लगानी तथा अनुदान प्राप्त गरेर पनि विदेशी मुद्रा भित्याउन सकिन्छ । प्रशस्त जलविद्युत् उत्पादन गरी विदेशमा निर्यात गरेर पनि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
नेपालको विदेशी विनिमयको आयस्रो
नेपालको विदेशी विनिमयको प्रमुख आयस्रोत वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स रहिआएको छ । रेमिट्यान्सलाई विप्रेषण पनि भनिन्छ । चालू आर्थिक वर्ष २०७५÷७६ को चैतसम्ममा विप्रेषणबापत रु. ६ खर्ब ५३ अर्ब १८ करोड ८० लाख बराबरको विदेशी विनिमय प्राप्त भएको छ । २०७५ फागुनसम्ममा रु. ५ खर्ब ८२ अर्ब १९ करोड १४ लाख बराबरको विप्रेषण प्राप्त भएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा विप्रेषणमार्फत रु. ७ खर्ब ५५ अर्ब ५ करोड ८६ लाख बराबरको विदेशी मुद्रा आर्जन भएको थियो ।
विदेशी पर्यटकको भ्रमण, नेपालस्थित विदेशी कूटनीतिक नियोगको सेवालगायत अन्य सेवाबापत २०७५ साउनदेखि चैतसम्ममा रु. १ खर्ब ३९ अर्ब ३७ करोड ४२ लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यसमा रु. ५४ अर्ब ३० करोड बराबरको पर्यटन आय समावेश छ । आर्थिक वर्ष २०७४÷७५ मा यस्तो सेवाबापत रु. १ खर्ब ७७ अर्ब ४७ करोड ३० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको थियो ।
वस्तु निर्यात विदेशी मुद्रा आर्जन हुने अर्को महत्वपूर्ण स्रोत हो । तर, नेपालको वस्तु निर्यात कमजोर रहेको कारण यो स्रोतबाट पर्याप्त विदेशी मुद्रा आर्जन हुन सकेको छैन । यद्यपि, नेपालले वस्तु निर्यातबाट २०७५ साउनदेखि चैतसम्ममा रु. ८१ अर्ब ८१ करोड ७२ लाख बराबरको विदेशी मुद्रा आर्जन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा वस्तु निर्यातबाट रु. ९३ अर्ब ३० करोड ५२ लाख बराबरको विदेशी मुद्रा आर्जन भएको थियो ।
नेपालको विदेशी मुद्रा आर्जनको अर्को स्रोत विभिन्न वैदेशिक आम्दानी हो । नेपालले २०७५ साउनदेखि चैतसम्ममा वैदेशिक आम्दानीबाट रु. ५९ अर्ब ७८ करोड ३३ लाख बराबरको विदेशी मुद्रा आर्जन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा यस्तो आम्दानीबापत रु. ६९ अर्ब १४ करोड २८ लाख बराबरको विदेशी मुद्रा आर्जन भएको थियो ।
नेपालले ब्रिटिश सैनिकको पेन्सन, वैदेशिक नगद अनुदान, प्रत्यक्ष वैदेशिक लगानी र वैदेशिक ऋण प्राप्त गरेर पनि विदेशी मुद्रा आर्जन गर्दै आएको छ । नेपालले २०७५ साउनदेखि चैतसम्ममा पेन्सनबापत रु. ५० अर्ब ६ करोड ७८ लाख, अनुदानबापत रु. ५० अर्ब ८९ करोड २८ लाख, लगानीबापत रु. ७ अर्ब १० करोड ३ लाख र ऋणबापत रु. ५२ अर्ब ६६ करोड ७० लाख बराबरको विदेशी मुद्रा आर्जन गरेको छ ।
नेपालको विदेशी विनिमय खर्चको स्थिति
नेपालको विदेशी विनिमय खर्चको प्रमुख क्षेत्र वस्तु आयातको भुक्तानी रहँदै आएको छ । नेपालले २०७५ साउनदेखि चैतसम्ममा वस्तु आयातबापत रु. १० खर्ब ४५ अर्ब ७३ करोड ४४ लाख बराबरको विदेशी मुद्रा भुक्तानी गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थ आयातका लागि मात्र रु. १ खर्ब ५४ अर्ब ४८ करोड ६५ लाख बराबरको विदेशी मुद्रा खर्च भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा वस्तु आयातबापत रु. १२ खर्ब २७ अर्ब ८७ करोड ४० लाख र पेट्रोलियम पदार्थ आयातका लागि मात्र रु. १ खर्ब ७२ अर्ब २४ करोड ३२ लाख बराबरको विदेशी मुद्रा खर्च गरेको थियो ।
यातायात, पर्यटन, भ्रमण, शिक्षा, स्वास्थ्य उपचार, विदेशस्थित नेपाली कूटनीतिक नियोगको खर्चलगायतका सेवाबापत २०७५ साउनदेखि चैतसम्ममा रु. १ खर्ब ५० अर्ब २८ करोड ८४ लाख बराबरको विदेशी मुद्रा खर्च भएको छ । यसमा वैदेशिक पर्यटन व्यय रु. ६७ अर्ब ९३ करोड ५६ लाख र वैदेशिक शिक्षातर्फको खर्च रु. ३५ अर्ब ४४ करोड ४४ लाख समावेश छ । आर्थिक वर्ष २०७४÷७५ मा यस्तो सेवा खर्चबापत रु. १ खर्ब ७५ अर्ब ४० करोड ६७ लाख बराबरको विदेशी मुद्रा खर्च भएको थियो ।
नेपालमा कार्यरत विदेशी कर्मचारी तथा कामदारहरूको पारिश्रमिक, विदेशी लगानीकर्ताहरूले नेपालमा गरेको आम्दानी र वैदेशिक ऋणको साँवा तथा व्याज रकम भुक्तानीमा पनि नेपालको विदेशी विनिमय खर्च हुने गर्दछ । २०७५ साउनदेखि चैतसम्ममा यी शीर्षकबापत क्रमशः रु. ८ अर्ब १० करोड ५४ लाख, रु. ३५ अर्ब ४२ करोड ६६ लाख र रु. ९ अर्ब ९ करोड ९० लाख बराबरको विदेशी मुद्रा भुक्तानी गरिएको छ ।
सञ्चिति पर्याप्तता सूचकहरू
अन्य खर्चका लागि भन्दा विदेशबाट वस्तु तथा सेवा आयात गर्न विदेशी मुद्रा आवश्यक पर्ने भएको कुनै पनि मुलुकले एक निश्चित परिमाणको विदेशी विनिमय सञ्चिति कायम गर्नुपर्ने हुन्छ । विश्वव्यापी मान्यताअनुसार एक वर्षको वस्तु तथा सेवा आयातको भुक्तानी गर्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्नु उपयुक्त मानिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने आर्थिक वर्ष २०७५÷७६ को ९ महिनाको आयातलाई आधार मान्दा २०७५ चैत मसान्तमा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.० महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७५ चैत मसान्तमा कायम भएको विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३०.३ प्रतिशत, ६५.९ प्रतिशत र ३१.१ प्रतिशत रहेको छ । २०७५ असार मसान्तमा यस्तो अनुपात क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।
नेपालको विदेशी विनिमय सञ्चिति बढाउने उपाय
विगत एक दसकदेखि नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आयस्रोत वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स रहँदै आएको छ । वस्तु निर्यातबाट पनि विदेशी मुद्रा आर्जन गर्ने गरिएको छ तर यो नगन्यमात्र रहँदै आएको छ । नेपालको सञ्चित विदेशी विनिमयको खर्च प्रमुखरूपमा वस्तु तथा सेवा आयातको भुक्तानीका लागि हुँदै आएको छ । आयात बढेको बढ्यै छ । आयातको वृद्धिदर निर्यात र रेमिट्यान्सको वृद्धिदरभन्दा बढी हुँदै गएको छ ।
यस्तो स्थिति लामो समयसम्म रहिरहने हो भने निकट भविष्यमा नेपालको भुक्तानी सन्तुलनमा ठूलो समस्या आउन सक्छ । यसो हुन नदिन विदेशी विनिमयमा हुने खर्चलाई नियन्त्रण गर्नुपर्ने हुन्छ भने विदेशी विनिमयको आर्जन बढाउनुपर्ने हुन्छ । यसको सुरुवात वैदेशिक भ्रमणमा जाने व्यक्तिहरूलाई दिइने विदेशी मुद्रा सटही सुविधामा कटौती गरी भइसकेको छ । नेपालको कृषि तथा औद्योगिक विकासको सुस्त गतिलाई मध्यनजर गर्दा बढ्दो वस्तु आयात रोक्न कठिन रहेको र वस्तु निर्यात तुलनात्मक रूपमा बढाउन नसक्ने अवस्था छ । यस्तो अवस्थामा नेपाल सरकारले वैदेशिक रोजगारी विस्तार गरेर रेमिट्यान्समार्फत भए पनि विदेशी मुद्रा आर्जन बढाउने रणनीति लिएको देखिन्छ तर यो दिगो उपाय हुनसक्दैन ।
नेपालले तुलनात्मक लाभको क्षेत्रको रूपमा रहेको पर्यटन र जलविद्युत्को द्रुतत्तर विकास गरी मनग्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको छ तर यसलाई विदेशी मुद्रा आर्जनको दीर्घकालीन तथा दरिलो स्रोत बनाउन ढिला भइसकेको छ । छिमेकी मुलुक भुटानले बिजुली निकासी गरी विदेशी मुद्रा भित्याइरहेको छ भने एसियाली मुलुकहरू सिङ्गापुर, श्रीलङ्का, थाइल्यान्ड तथा माल्दिप्सले पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गरिरहेका छन् । नेपालले ती मुलुकहरूबाट पाठ सिकी विदेशी मुद्रा आर्जनको दीर्घकालीन स्रोतको विकासमा लाग्न अब ढिलाइ गर्नु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *