भर्खरै :

विदेशी हस्तक्षेप कदापि स्वीकार्य छैन

– प्रकाश
सन्दर्भ नेपालका लागि संरा अमेरिकी राजदूत ¥यान्डी बेरीले सामाजिक सञ्जालमा नेपाली नागरिकहरूका लागि ‘राजदूतसँग गफगाफ’ साप्ताहिक कार्यक्रम सुरु गर्ने खबरको हो । राजदूत बेरीले कार्यक्रम सुरु गर्ने बताएपछि कूटनीतिक सीमामा बहस सुरु भएको छ । एउटा देशको राजदूतले मित्र देशमा स्वेच्छाले संवाद कार्यक्रम सञ्चालन गर्न कुनै अन्तर्राष्ट्रिय सन्धि, प्रचलन वा मर्यादाले दिँदैन । सामाजिक सञ्जालको प्रयोग गरेर कूटनीतिज्ञहरू सक्रिय हुने क्रम अहिले संसारभर सुरु भएको नयाँ अभ्यास भएको एकथरीको तर्क छ । तर, त्यसको कूटनीतिक सीमा हुने यथार्थलाई भने बिर्सन मिल्दैन । नेपालमा ‘पब्लिक डिप्लोम्यासी’ को बहानामा विदेशी राजदूतहरूले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको नौलो होइन । नेपालका विदेशी राजदूतहरू कूटनीतिक सीमा बाहिर जाने गरेको इतिहास छ । नेपालका लागि अमेरिकी राजदूत बेरीले आफ्नै नयाँ प्रयोगमार्फत नेपाल र नेपाली जनतालाई अमेरिकी धारणाको प्रभावमा पार्न खोजेका हुन् ।
आखिर नेपालमा विदेशी कूटनीतिज्ञ किन सीमा नाघ्छन् त ? नेपाल सरकारले आफ्ना प्राथमिकता र कामका औचित्यबारे कूटनीतिक समुदायलाई समयसमयमा स्पष्ट पार्न नसक्दा उनीहरू सार्वजनिक महत्वका विषयमा आफै अग्रसर हुने वातावरण सिर्जना भएको जानकारहरू बताउँछन् । नेपाल सरकारले राज्यका अङ्गहरूलाई राम्रोसँग सक्रिय बनाउन नसक्दा विदेशी कूटनीतिज्ञहरू सक्रिय भएको जानकारहरू बताउँछन् । तर यो वा त्यो बहानामा कुनै पनि देशको राजदूतले नेपालको आन्तरिक राजनीतिक मामिलामा आफ्नो धारणा लाद्ने, नेपालको कुनै एक पक्ष वा पक्षहरूलाई उक्साउने, नेपाली नेपालीबीचको अन्तरद्वन्द्वमा खेल्ने कार्य गर्दछ भने त्यो नेपालको सार्वभौमसत्तामाथिको हस्तक्षेप हो । देशभक्त नेपाली जनतालाई देशमाथि विदेशी हस्तक्षेप कदापि स्वीकार्य छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *