भर्खरै :

जे रोप्छ त्यही फल्छ, आत्मसमीक्षा गर्नु आवश्यक

काठमाडौँ, १३ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको बैठकमा सोमबार गृहमन्त्री रामबहादुर थापासँग जिज्ञासा राख्नुभयो, “जे रोप्छ त्यही फल्छ । यसको उपाय के हो ? आत्मसमीक्षा गर्नु आवश्यक छ ।”
गृहमन्त्री थापाले प्रतिनिधिसभाको बैठकमा काठमाडौँको बुढानीलकण्ठ, मैतीदेवी, चन्द्रागिरी, नरेफाँट, नवलपरासीको दाउनेमा सोमबार भएको विस्फोट र सो घटनामा परी चार जनाको मृत्यु र आधा दर्जनभन्दा बढी घाइते भएकोबारे जानकारी दिनुभएको थियो ।
मन्त्री थापाले घटना घटाउनेहरुलाई सरकारले रोपेको होइन, त्यहीअनुसार फलेको पनि होइन भनी जवाफ दिनुभएको मन्त्रीको जवाफ सुनेपछि बैठकमा सहभागी सांसद, दर्शक दीर्घाका दर्शक र सचिवालयका कर्मचारीहरु आश्चर्यमा परे ।
प्रश्नोत्तरअघि मन्त्री थापाले नेकपा विप्लवले जनपरिषद् र चार कम्पनी गठन गरी देशव्यापी आगजनी र विस्फोट गरेको बताउनुभयो ।
नेकाका सांसद एवम् पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले प्रश्न राख्नुभयो, “हिजो सरकारले त्यही रोष्ट्रमबाट आज गृहमन्त्रीले बोलेकै काम कुरा गरेको थियो । हिजो र आजको काममा कुन सत्य कुन गलत छ ? सहयात्रीबाटै बम विस्फोट गराइएको होइन र ?
गृहमन्त्री थापाले हिजो राजतन्त्रको विरुद्ध आन्दोलन उठेको थियो र आज गणतन्त्र छ, स्थिति एउटै नभएको स्पष्टिकरण दिनुभयो । गृहमन्त्री थापाले विप्लवसँग सरकारको साठगाँठ भएको भन्ने प्रश्नलाई उल्टाएर पनि गर्न मिल्ने बताउँदै विप्लवसँग प्रमुख प्रतिपक्षीको साठगाँठ भएको सङ्केत गर्नुभयो । त्यसपछि सांसद कँडेलले नियमापति गरी गृहमन्त्रीको भनाइ अभिलेखबाट मेट्नुपर्ने र कुन पार्टीका कुन सांसदको विप्लवसँग साठगाँठ छ स्पष्ट गर्न माग गर्नुभयो ।
राजपाका सांसद लक्ष्मणलाल कर्णले गृहमन्त्री थापासँग सरकारको विप्लवसँग वार्ताको परिणाम विस्फोटन त होइन भनी प्रश्न गर्नुभएको थियो । गृहमन्त्री थापाले उक्त प्रश्नलाई अतार्किक र असङ्गत भनी जवाफ दिनुभएको थियो ।
गृहमन्त्री थापाले काठमाडौँलगायत मकवानपुर, सर्लाही, ललितपुर, झापा, धादिङ, कास्की, स्याङजा, दार्चुला, रौतहट, बैतडी, तनहुँ, भक्तपुरमा पनि आतङ्क मच्चाउन नक्कली पोका झुण्ड्याइएको उल्लेख गर्नुभयो ।
गृहमन्त्री थापाले बैठकमा पाँचथरको आरुबोटमा दुई परिवारको ९ जनाको विभत्स हत्या र १ जनाको आत्महत्याबारे अनुसन्धान भइरहेको जानकारी गराउनुभयो ।
यसबारे शून्य समयमा नेकाका सांसद सत्यनारायण शर्मा खनालले जेठ ५ गते ढाका सिलाइ प्रशिक्षणका सहभागीहरुलाई होटलमा नुनसँग शिशा पिसेर मिसाइएको खाजा खुवाइएको बारे प्रहरी कार्यालयमा उजुरी हुँदा कारबाही नगरिएकोले जेठ ६ गतेको विभत्स हत्या भएको बारे गृहमन्त्री थापासँग प्रश्न राख्नुभएको थियो ।
यसबारे गृहमन्त्री थापाले गृहमन्त्रालयलाई जानकारी नभएको उल्लेख गर्दै अब अनुसन्धान गरिने बताउनुभयो ।
राजपाका सांसद शरदसिंह भण्डारीले महोत्तरीमा पनि बम राखिएको समाचार छ तर गृहमन्त्रीको मन्तव्यमा किन आएन भनी प्रश्न गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *