भर्खरै :

नेपाल – भारत जोड्ने पुलमा ताला

नरेन्द्रसिंह कार्की
दार्चुला, १५ जेठ । लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल – भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महिनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो ।
नेपालको तर्फबाट पुलको सबै प्रक्रिया पूरा गरिएको छ तर भारतको पिथौरागढका जिल्ला अधिकारीले पुलको लागि स्वीकृत दिइएको छैन । पटक – पटक पुलको अनुगमन तथा निरीक्षण गरिए पनि नियमित सञ्चालन गर्न अनुमति नदिँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
गत पुसमा निर्माण व्यवसायीले पुल निर्माण सम्पन्न भएको जानकारी गराएको हो । “महाकाली नदीमा दिनहुँ पानी बढेको छ, अहिले ट्युबबाट वारपार गर्न जोखिम बढेको छ”, स्थानीय माधवप्रसाद जोशीले भन्नुभयो । बर्खा सुरु हुन थाल्यो, पुल सञ्चालन गर्नमा ढिलाइ गरिएको छ । अहिलेको समयमा ट्युबमार्फत वारपार गर्दा कुनै घटना घटिहाले त्यसको जिम्मेवारी नेपाल भारत दुवै सरकारले लिनुपर्छ ।
“सर्वसाधारणलाई नेपाल–भारत आवतजावत गर्न ट्युब विस्थापन गरेर झोलुङ्गे पुल निर्माण भयो”, उहाँले भन्नुभयो । तर, पाँच महिना भइसक्यो, ताला खुलेको छैन, माथि पुल छ । स्थानीयले झोलुङ्गे पुलको मुनि (तल) जोखिम मोलेर ट्युबमा वारपार गर्नुपरेको उहाँले बताउनुभयो ।
अर्का स्थानीय लीला पुजाराले भन्नुभयो, “कसका कारणले पुलमा हिँड्न रोक लगाइएको हो जानकारी चाहिन्छ, नदी बढेको समयमा वारपार गर्न सकिँदैन, हाम्रो दैनिक उपभोग्य सामानदेखि बिरामी हुँदा त्यहीबाट वारपार गराउनुपर्ने बाध्यता कहिलेसम्म रहन्छ ।”
नेपालले झण्डै रु. चार लाख लागतमा भारतीय पक्षको क्षेत्रमा पोष्ट निर्माण, तटबन्ध र बाटो बनाउनमा खर्च गरेको छ । “भारत सरकारले कहिले नेपालको बजेटमार्फत पोष्ट, तटबन्ध बाटो बनाइदे भन्छ, कहिले कागज प्रक्रिया पुगेन भनेर अलमल्याउँछ”, उहाँले भन्नुभयो ।
ट्युब विस्थापन गर्ने भन्दै निर्माण गरिएको झोलुङ्गे पुलमा ताला लगाउँदा अहिले पनि बिरामीले सास्ती भोगेका छन् । गत पुस पहिलो साता लालीस्थित छिरबिलामा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको थियो । “पुल निर्माण भएपछि स्थानीयका दुःखका दिन गए सोचेका थियौँ”, स्थानीय तारा भण्डारीले भन्नुभयो । तर पाँच छ महिनासम्म पनि झोलुङ्गे पुलमार्फत आवतजावत गर्न दिइएको छैन, अझै नागरिकले कति दुःख पाउने हुन्, नदीको बहाव बढ्दै गएको छ, नदी बढेपछि ट्युब चलाउन समस्या हुन्छ ।
यहाँ सञ्चालन हुँदै आएको ट्युब विस्थापन गर्न भन्दै विसं २०७३ असोज ४ गते कूल रु. एक करोड ३२ लाख लागतमा मनोमालिका कन्सटक्र्सन निर्माण सेवाले पुल निर्माणको सम्झौता गरेको थियो । सो पुल निर्माण गरिएपछि लेकम र मालिकार्जुनका अधिकांश स्थानीयका लागि सहज हुने थियो तर अहिलेसम्म पुल सञ्चालन नहुँदा स्थानीय आक्रोशित बनेका छन् ।
लेकम गाउँपालिका–३ का वडाध्यक्ष राजेन्द्रप्रसाद जोशीले भन्नुभयो, “धेरै पटक जनता पुलको ताला काट्छौँ, आन्दोलन गर्छौं भन्छन्, अहिलेसम्म स्थानीयलाई रोकिएको छ तर अझै ढिला हुने हो भने जिम्मेवारी लिन सकिँदैन ।” विसं २०४८ सालबाटै पुल बन्छ भनेर आशामा बसेका नागरिकले झण्डै २७÷२८ वर्षपछि पुल देखे पनि आवतजावत गर्न नपाउँदा निरास छन् ।
जिल्ला प्रशासन कार्यालयले समेत पटक–पटक लिखित तथा मौखिकरुपमा भारतीय पक्षलाई पुलमा नियमित आवतजावतका लागि स्वीकृति दिन माग गरेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो । नयाँ आएका डीएमलाई समेत पुलको निरीक्षण तथा आवश्यक कागजात दिई सकिएको उहाँले जानकारी दिनुभयो । उहाँले आफूले अहिले पनि नियमितरुपमा पुलका लागि घच्घच्याउने काम गरिररहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *