भर्खरै :

खडेरीले मकैको बोट सुकेः किसान चिन्तित

– पेमा लामा
बनेपा, १६ जेठ । खडेरीका कारण मकैको बोट सुक्न थालेपछि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान चिन्तित बनेका छन् ।
मुख्य अन्नबालीका रूपमा रहेको मकैको बोट लामो खडेरीका कारण फेदसम्म नै सुक्न थालेपछि यहाँका किसानलाई कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले पिरोलिएको छ । अहिले सो गाउँपालिकाको वडा नं १, ६, ७ र ८ लगायतका ठाउँमा मकैको बोट नै सुकेर गएको किसानको भनाइ छ ।
वडा नं १ गोकुलेका किसान दिलदास श्रेष्ठले पानी नपरेका कारण मकैको बोट सुक्न थालेपछि फाडेर बस्तुलाई दिन थालेको बताउनुभयो । “प्रायःजसो आकाशे खेतीको भरमा जीवन गुजारा चलाउँदै आएका यहाँका किसान यसपालि लामो समयसम्म पानी नपरेपछि दुःख गरेर उमारेको मकैको बोटसमेत सुकेर काम नलाग्ने अवस्था भइसक्यो”, उहाँले भन्नुभयो, “अब कसरी जीविकोपार्जन गर्ने ?” अब त बारी खाली बनाउनुको विकल्प नभएको उहाँको भनाइ छ । जहिले पानी पर्छ त्यही बेला धानको बीउ रोप्ने मनसायमा किसान पुगेको उहाँले बताउनुभयो ।
अर्का किसान धकबहादुर दर्लामीले करीब डेढ महिनादेखि पानी नपरेका कारण लगाएको मकैको बोट सुकेर गएको बताउनुभयो । “गाउँको मुख्य बालीका रूपमा रहेको मकै नै खान नपाउने अवस्था सिर्जना होला जस्तो छ”, उहाँले भन्नुभयो, “अब पनि पानी परेन भने लगाएको बोटबाट फल लाग्ने अवस्था कम छ ।” फेददेखि नै सुक्दै गएकाले पानी परे पनि फलाउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
“दुःख गरेर लगाएको बाली टिप्न नपाउने अवस्था भयो, अब कसरी ज्यान पाल्ने हो”, दर्लामीले भन्नुभयो, “यसपालि खाने अन्नको सङ्कट पर्ने भयो ।” वडा नं १ का वडाध्यक्ष कान्छामान जिम्बाले लामो समयसम्मको खडेरीका कारण बारीमा मकैको बोट सुक्न थालेपछि किसान चिन्तित बनेको बताउनुभयो । “बारीमा लगाएको मकैको बोट फेददेखि नै सुक्न थाल्यो, अब के गर्ने भन्ने चिन्तामा किसान परेका छन्”, उहाँले भन्नुभयो, “अहिलेसम्म नभएको अवस्था यसपालिको खडेरीले उब्जाएपछि खाद्य सङ्कट नै हुने अवस्था सिर्जना होला जस्तो छ ।”
मुख्य बाली नै सुकेर टिप्न नपाउने अवस्था भएपछि वडा कार्यालयमा किसानले समस्याको समाधानका लागि उपाय खोज्नका लागि आग्रह गर्न आउने गरेको उहाँले बताउनुभयो । “हामीले पनि के नै गर्न सकिन्छ र”, उहाँले भन्नुभयो, “किसानको गुनासो सुनेर बस्नुको विकल्प छैन ।” सिँचाइको व्यवस्थापनका लागिसमेत खासै विकल्प नभएको उहाँको भनाइ छ । अब त्यसका लागि गाउँपालिकाबाट नै केही गर्नका लागि विकल्प खोज्ने विषयमा कुरा गर्न आवश्यक भइसकेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाभित्रको अधिकांश ठाउँमा खडेरीका कारण मकैको बोट सुकेर बालीमा समस्या देखापरेको बताउनुभयो । “गाउँपालिकाको धेरैजसो वडामा यसखालको समस्या सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “अब किसानको हितका लागि गाउँपालिकाले के गर्न सकिन्छ, त्यसबारेमा नीति नै बनाएर काम गर्नुपर्ने अवस्था रहेकाले यससम्बन्धी छिट्टै नै विकल्प खोज्ने तयारीमा रहेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *