भर्खरै :

सुर्खेतमा खानेपानीको आपूर्तिमा कमी

सुर्खेत, १६ जेठ । लामो खडेरीले मुहानहरू सुक्दै गएपछि सुर्खेत उपत्यकामा खानेपानी आपूर्तिमा ५० प्रतिशतले कमी आएको छ ।
बढ्दो जनघनत्व र पानीको स्रोतमा कमीका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले फ्लोसेडिङ तालिकामार्फत आपूर्ति व्यवस्थापन गर्दै आएको छ । मुहानबाट पानीको आपूर्ति घटेपछि संस्थाले एक महिनायता समानुपातिक वितरणका लागि ‘फ्लोसेडिङ’ तालिका लागू गरेको हो । हाल सुर्खेत उपत्यकामा ९६ घण्टा ‘फ्लोसेडिङ’ हुने गरेको छ ।
संस्थाका अध्यक्ष कुलमणि देवकोटाले उपत्यकामा आउने पानीको मुख्यस्रोत झुप्राखोलाको मुहान सोलीघोप्टेमा पानी आधा घटेको जानकारी दिनुभयो । “मुहानबाटै पानी आपूर्ति कम भएपछि वितरणमा समस्या भएको हो”, उहाँले भन्नुभयो ।
उपभोक्ता संस्थालाई मागअनुसार आपूर्ति गर्न हम्मेहम्मे परेको छ । गत वर्ष झुप्राखोला मुहानबाट वर्षायाममा प्रतिसेकेण्ड ८६ लिटर पानी आपूर्ति हुन्थ्यो भने हाल प्रतिसेकेण्ड ४० लिटर मात्रै आपूर्ति हुने गरेको छ । गत वर्ष यही मौसममा प्रतिसेकेण्ड ४८ लिटरसम्म पानी आपूर्ति भएको थियो ।
सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ । उपत्यका खानेपानीको अर्को स्रोत खरी–बोरी खोला मुहानबाट प्रतिसेकेण्ड ३० लिटर पानी आपूर्ति हुने गरेको छ । यो मुहानबाट भने पानी आपूर्तिमा कमी नआएको संस्थाले जनाएको छ । इत्राम खोलाबाट प्रतिसेकेण्ड आड लिटर, खोर्केबाट चार लिटर, बुलबुले तालबाट दुई लिटर गरी संस्थाले प्रतिदिन ८४ लिटर प्रतिसेकेण्ड अर्थात् ७२ लाख ५७ हजार ६ सय लिटर पानी आपूर्ति गर्दै आएको छ । संस्थाको सेवा क्षेत्र सुर्खेत उपत्यकाका लागि प्रतिदिन १ करोड ५४ लाख लिटर खानेपानी आवश्यक छ । औसतमा हिउँदको समयमा १ करोड ३५ लाख लिटर र सुक्खा खडेरीमा न्यूनतम औसत ८६ लाख लिटरमात्रै खानेपानी उपलब्ध हुने गरेको छ ।
प्रदेश राजधानी रहेको सुर्खेत उपत्यकामा बढ्दो जनसङ्ख्या र घट्दो पानीको स्रोतका कारण खानेपानीको सङ्कट बढ्दै गएको हो । संस्थाका प्राविधिक बालाराम तिवारीले साना तथा अल्पकालीन आयोजनाबाट उपत्यकाको खानेपानी समस्या समाधान गर्न सम्भव नहुने बताउनुभयो । उहाँले दीर्घकालीन समस्या समाधानका लागि भेरी नदीबाट प्रतिसेकेण्ड ३८० लिटर पानी सुर्खेत उपत्यकामा ल्याउन बृहत् भेरी पम्पिङ आयोजनाको ठेक्का खोल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *