नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
जोराल
अमेरिकी जनता र भियतनाम युद्ध
भियतनाम युद्धको जानकारी राख्ने सर्वसाधारण जनता अमेरिकाप्रति घृणा गर्छन् जसरी हिटलरको जर्मनीमा गरिन्थ्यो । भियतनाममाथि गरेको अपराधको लागि अमेरिकी प्रशासन निश्चय पनि घृणाको पात्र छ । यद्यपि हिटलरको जर्मनी र साम्राज्यवादी अमेरिकामा पनि न्यायप्रेमी जनताको कमी छैन । विदेशी मुलुकमा गरिएका सैनिक हस्तक्षेपको विरोध गर्न अमेरिकी जनता कहिल्यै पछि परेनन् । सन् १९५० मा अमेरिकाले कोरियामाथि हमला गर्दा व्यापक रूपमा अमेरिकी जनताले विरोध जनाएका थिए । त्यस्तै भियतनाम युद्धको विरोधमा राष्ट्रव्यापीरूपमा विरोध प्रदर्शनका विभिन्न गतिविधिहरू अमेरिकी जनताले सञ्चालन गरे । पत्रपत्रिकाले लिएको जनमतबाट पनि यो कुरा पुष्टि हुन्छ । १९६५ अप्रिलमा २४ प्रतिशत अमेरिकी जनताले भियतनाम युद्धको विरोध जनाएको पाइयो भने युद्धको अन्त्यसम्ममा ६४ प्रतिशत पुगेको थियो । त्यस युद्धलाई आज ७६ प्रतिशत अमेरिकी (३०–३९ वर्षका) जनताको सोचाइमा अमेरिकाले गल्ती गरेको बुझाइ छ ।
सुरुमा भियतनाम युद्धको विरोध प्रतिशतमा कमी भएको देख्दा अमेरिकी प्रशासनले ठिक्कै गरेको होला भन्ने शङ्का लाग्नु स्वाभाविक छ । तर, त्यसो हुनुको कारण छ ।
कुनै कुरा ठीक या बेठीक भन्नुअघि त्यसबारे जानकारी राख्नु आवश्यक छ । सञ्चार साधनमा पुँजीवादी राष्ट्रहरूको साम्राज्य पहिलेदेखि नै छ । पुँजीवादी राष्ट्रका सञ्चार साधनले अमेरिकाको मन नपर्ने खबर प्रकाशमा ल्याउने कुरै थिएन । त्यसबाहेक भियतनाम युद्धको बेला थुप्रै अमेरिकी पत्रकारहरूमा यथार्थ समाचार दिने या इमानदार पत्रकारहरूको सङ्ख्या निकै कम थियो । धेरैजसो पत्रकारहरू साम्राज्यवादी अमेरिकी सरकारलाई मनपर्ने समाचार आ–आफ्ना पत्रिकामा पठाउँथे र छपाउँथे । ती समाचारमा सत्यको अंश प्रायः शून्य हुन्थ्यो । ती पत्रकारहरू स्पष्ट भन्थे, यहाँ के भइरहेको छ, त्यसबारे यथार्थ कुरा हामी भन्न चाहँदैनौँ । तर, केही इमानदार पत्रकारहरुले पठाएका यथार्थ समाचार पच्छिमी पत्रिकाका मालिकहरू या त त्यहाँसम्म होला भनी विश्वासै गर्दैनथे अथवा छाप्न रुचाउँदैनथे । यद्यपि पछिबाट केही पत्रपत्रिकाले छापे । त्यसरी यथार्थ खबर पठाउने इमानदार पत्रकारहरूलाई ‘राजद्रोही’ पत्रकार भन्ने गरिन्थ्यो । न्यायप्रेमी जनताको दृष्टिमा पुँजीवादीहरूका ‘राजद्रोही’ नै वास्तवमा ‘इमानदार’ पत्रकार सावित भए !
भियतनाम पठाइएका अमेरिकी साम्राज्यवादका ‘राजभक्त’ पत्रकारहरूको काम यथार्थ कुरा जनसमक्ष नल्याउन योजनाबद्धरूपमा गरेको तथ्यपछि प्रकाशित भएको पेन्टागनको कागजातबाट पुष्टि भएको छ । भियतनाम युद्धमा अमेरिकी जलसेनाको पाइलट बनेमन जेम्स बोन्ड स्टकडेलका अनुसार अमेरिकी सरकारले भियतनाममा के गर्दैछ भन्ने कुरा युद्धबन्दी बनेपछि मात्र तथ्य थाहा पाएँ ।
भियतनामको समर्थनमा अमेरिकी सरकारविरोधी लहर
विश्वभरिमा भियतनाम युद्धको विरोधमा अरबौं जनता पछि थिएनन् । त्यस्तै द. भियतनामका बौद्ध भिक्षुहरूले थ्यू–कीको सैनिक शासन र अमेरिकी साम्राज्यवादको विरोधमा आत्मदाह गरेका थिए । अमेरिकामा पनि त्यस्तै घटना घटेको पाइन्छ ।
डेट्रोइटकी एक महिला थिइन् एलिश हर्ज (Alice Herz) । तिनी ८२ वर्षकी थिइन् । १६ मार्च १९६५ का दिन एलिश हर्जले ‘ठूलो देशले सानो देशलाई खत्तम पार्न’ खोजेको विरोधमा आत्मदाह गरिन् ।
सोही वर्ष २ नोभेम्बरका दिन अमेरिकाको सैनिक मुख्यालय पेन्टागनको अगाडि नर्मन मोरिसन (Norman Morrison) ले आत्मदाह गरे ।
त्यसको १ हप्तापछि न्युयोर्कमा रोगर ला पोर्ट (Roger La Porte) ले संयुक्त राष्ट्र सङ्घको अगाडि आत्मबलिदान गरे ।
भियतनाम युद्धविरोधी ‘साहसिक’ घटनाहरूबाहेक अन्य थुप्रै प्रकारका विरोधका तरीकाहरू अमेरिकी जनताले अपनाएको देखिन्छ ।
संरा अमेरिकाको सङ्घीय कानुनमा १९२२ पछि जन्मेका सबै नागरिकले ड्राफ्ट कार्ड लिनुपर्ने नियम १९४८ देखि नै लागू भएको थियो । त्यो एक प्रकारको परिचयपत्र थियो । अमेरिकी युवा एवं भियतनाम युद्ध र त्यस ड्राफ्ट कार्डमाझ अपूर्वको सम्बन्ध देखाप¥यो ।
भियतनाम युद्धको विरोध गर्ने सिलसिलामा अमेरिकी जनताले ड्राफ्ट कार्ड नष्ट वा बाल्न थाले । अमेरिकी सरकारले त्यस्तालाई पक्राउ गर्न थाल्यो । त्यसबेला ड्राफ्ट नलिनेलाई दिइने ५ वर्ष कैद वा १० हजार डलर जरीवानाको सजाय नष्ट वा बाल्नेउपर पनि लागू गरियो । सरकारको दृष्टिमा ‘राजभक्त’ को परिचय दिने त्यो कार्ड अमेरिकी जनजीवनको एक अङ्ग बनाउने प्रयास गरियो । त्यसैले त्यसको नास गर्नेलाई नाजी युद्ध अपराधीलाई भन्दा बढी सजाय दिनथाल्यो ।
तर, अमेरिकी जनताको दृष्टिमा त्यो कार्ड भियतनामका गाउँहरू खरानी पार्न, धानका बालाहरू नष्ट पार्न, कैदी र शङ्का लागेकाहरूलाई यातना दिन, सोझा र असैनिकहरू मार्न जिम्मा लिइएको ‘प्रतीक’ थियो । तब अमेरिकी जनताले एकपछि अर्को सार्वजनिक स्थल र सभाहरूमा लाखौँ लाख ड्राफ्ट कार्डहरू जलाउन थाले । जनताले आवाज उठाए, कागजको टुक्रा बाल्नु अपराध होइन तर गाउँ जलाउनु, अस्पताल जलाउनु, केटाकेटी जलाउनु, असहायमाथि बम खसाल्नु, सुरक्षाहीन गाउँहरूमाथि बम खसाल्नु अपराध हो, घोर घृणित अपराध हो ।
ड्राफ्ट कार्ड लिनबाट बच्न लाखौँ अमेरिकीहरू विदेश भागे अथवा मानिस मार्न जान नचाहनेहरूलाई अमेरिकी सरकारले विदेशिन बाध्य गरायो ।
एक अमेरिकी लेखकका अनुसार, “अमेरिकी शासन प्रणालीले शान्तिकालमा होस् या युद्धकालमा, देशमा होस् या विदेशमा… मानव जीवनलाई नष्ट पार्दै आएको छ ।” अमेरिकी सरकारले अमेरिकी जीवन शैली नै युद्धप्रेमी बनाएको कारण भियतनाम युद्धताका युद्धसम्बन्धी उद्योगमा काम नगर्न र युद्ध उत्पन्न गर्ने सरकारबाट हट्न आह्वान पनि गरिएको थियो ।
प्रजातन्त्र भएको देश भनी अमेरिकी सरकार गर्व गर्छ तर भियतनाम युद्धविरोधी प्रदर्शन गर्नेहरू पक्राउ पर्नु त मामुली कुरा थियो । १९७० मे ४ का दिन ओहायो राज्यमा भएको युद्धविरोधी प्रदर्शनमा गोली चलाएर प्रदर्शनकारीहरूको हत्या पनि गरियो ।
भियतनाम युद्धबाट फर्केका एक भूतपूर्व सैनिकले आफूलाई दिइएका सब तक्माहरू सार्वजनिकरूपमा राष्ट्रपति भवनतर्फ फालेर आफ्नो विरोध जनाए ।
१३ फ्रेबु्रअरी १९६८ का दिन दुई सिपाहीँ पक्राउ परे । तिनीहरूले भियतनाममा शान्ति होस् भनी प्रार्थना गरेका थिए । ‘शान्ति प्रिय’ अमेरिकी प्रशासनको दृष्टिमा त्यो अपराध बन्यो ।
युद्धको चाहना अमेरिकी सरकारको हो । सरकारले युद्धको लागि आवश्यक धन जनतासँग असुल गर्छ, करको नाममा । अमेरिकी सरकारले करको सङ्ख्या र परिमाणमा वृद्धि ग¥यो तर जनताले त्यसको विरोध गरे । कर वृद्धि गरेपछि तपाईंको करले हिन्द चीनमा युद्धलाई सघाउ पुग्नेछ भन्ने सरकारी भनाइको जवाफमा अमेरिकी जनताले तपार्इँ मरी मेटी पैसा कमाउनुहुन्छ, तर त्यसको ठूलो भाग करको रूपमा सरकारले लिन्छ र युद्धलाई बढाउँछ भन्दै कर नतिर्न आह्वान गरे ।
भियतनाम युद्धको अन्ततिर अमेरिकी सेना पराजित भएर देश फर्कन थाले । साधारणतया युद्धबाट फर्केकालाई हर्षाशुले स्वागत गर्छन् । तर, भियतनाममा ‘हत्याकाण्ड’ गरेर फर्केका सेना सान फ्रान्सिसको पुग्दा उपस्थित जनसमूहले हा…हु… गरेर खिल्ली उडाए केटाकेटीले एउटा बहुलालाई जिस्काएझैँ ।
अमेरिकी न्यायप्रेमी जनता भियतनाम युद्ध चाहँदैन भन्ने कुरा अमेरिकी राष्ट्रपति चुनावको बेला टडकारोरूपमा देखापर्छ । कुनै पनि दलका राष्ट्रपति उम्मेदवार होस्, एक नारा समान थियो – भियतनाम युद्ध रोक्ने !! जोन्सनले आफूलाई ‘शान्ति प्रिय’ देखाउन यति चिच्याए कि त्यति हिटलरले ‘युद्ध प्रिय’ भनेकै थिएन । तर, तथ्यले जोन्सन हिटलरलाई पनि माथ गर्लाजस्तो देखिन्थ्यो ।
भियतनाममाथि अमेरिकाले गरेको आक्रमणको विरोधमा अमेरिकाबाहेक बेलायत जापान, इटाली, भेनेजुयला, अष्ट्रेलिया, भारत, जर्मनी, फ्रान्स आदि देशका साथै नेपालमा पनि अमेरिकी आक्रमणकारीहरूको विरुद्ध विरोध प्रदर्शनहरू भएका थिए । सत्तामा बस्नेहरू अनाक्रमण, शान्ति, असंलग्न, न्यायको निम्ति आवाज उठाउने भए पनि अमेरिकी आक्रमणहरूको विरोध गर्नेहरूमाथि दमन गर्न बाँकी राखेनन् । ती प्रदर्शनकारीहरूले पक्राउ थुनछेक, हत्या, यातना खप्नुपरेका थिए ।
२०१७ को घटनापछि नेपालमा अन्तर्राष्ट्रिय विषयलाई लिएर भएको पहिलो जुलुस भक्तपुरमा भएको थियो । २०२३ को फागुन चैततिर भएको उक्त विरोध प्रदर्शनमा भाग लिने थुप्रै प्रदर्शनकारीहरू ‘साम्राज्यवाद, उपनिवेशवादविरोधी परराष्ट्र नीति लिएको देशको प्रशासनबाट घाइते र पक्राउ परेका थिए । त्यस जुलुसका केही नारा थिए –
“ वीर भियतनामी जनता जिन्दावाद !
“म्याकनमारा – ज्यानमारा !
“अमेरिकी साम्राज्यवाद–एसिया छोड !”
भियतनाम युद्ध र भियतनाम
अमेरिकी साम्राज्यवादबाट आक्रान्त काका होको भियतनाम र आजको ‘रुसमुखी’ भियतनाममा धेरै अन्तर दृष्टिगोचर हुन्छ ।
३० अप्रिल १९७५ का दिन भियतनामी जनताले सोचेको हुनुपर्छ कि अब समाजवादी विकासको लागि बन्दुक छोडेर निर्माणका औजार समात्न पर्ला । अमेरिकी हमलाबाट अस्तव्यस्त देशको चौतर्फी विकासको लागि पुनःनिर्माणमा भियतनामी जनता लागे । समाजवादी राष्ट्रहरूको सहयोगबाट पुनःनिर्माणमा टेवा भइरहेको थियो । भियतनामी नेताहरूले १९८० देखि २ करोड १० लाख टन धान, एक करोड टन कोइला वार्षिक निम्नतम उत्पादन गर्ने लक्ष्य राखे । युद्ध सकिएको एक वर्षपछि अर्थात् १९७६ मा १ करोड ३५ लाख टन खाद्यान्न उत्पादन ग¥यो । तर, १९७८ को डिसेम्बरमा भियतनामले कम्बोडियामाथि आक्रमण ग¥यो । जबकि भियतनाम स्वयं युद्धको आतङ्कबाट मुक्त हुन सकेको छैन । हयू, क्वाङ ट्रिजस्ता असैनिक क्षेत्रमा युद्धपछि पनि पुग नपुग ४ हजारभन्दा बढी भियतनामीहरूको मृत्यु भइसकेको छ । ती मृत्यु लुकाइएका अमेरिकी युद्ध सामग्रीबाट भएको हो । एक अनुमानअनुसार ७५ लाखभन्दा बढी बम, विष्फोटक पदार्थ पुराना युद्धमैदानको भूमिमा दबाइएका छन् । त्यसको आतङ्क आफ्नो देशमा सिधिन नपाउँदै आजको भियतनाम अर्काको देशमा आतङ्क सृजना गर्दै छ ।
अमेरिकी साम्राज्यवादसँग युद्धरत छँदा भियतनामका प्रधानमन्त्री फाम भान डोङ्गले सिंहानोकलाई भनेका थिए, (लोन नोलले सत्ता हत्याएपछि) “संरा अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षमा तपाईंलाई हाम्रो पक्षमा पाउँदा हामीलाई गर्व छ ।” तर रुसी धाप पाएपछि ती सब बिर्सेर आक्रमण गरियो, विश्व जनमतको विरुद्ध भियतनाम गयो । यसको असर १९८० मा १ करोड ४३ लाख टनमात्र खाद्यान्न उत्पादन गर्नसक्यो ।
भियतनाममा अहिले प्रतिव्यक्ति आय १०० अमेरिकी डलरमात्र छ । भियतनामको अर्थ व्यवस्था नाजुक हुँदै गएको छ । जबकि विगत १० वर्षमा आशियान देशहरूको अर्थ व्यवस्थामा सरदर ७ प्रतिशतले वृद्धि भएको छ । यद्यपि भियतनामको प्राकृतिक स्रोत धनी छ, भूमि उर्वर छ र कठिन परिश्रम गर्ने जनता छन् । तर, पनि भियतनामको अर्थव्यवस्था ¥हासोन्मुख छ । यस्तैमा कम्पुचिया युद्धमा भियतनामको कुल खर्चको ५० प्रतिशत देखि ६० प्रतिशत खर्च भइरहेको छ ।
भियतनामले कम्पुचियामाथि आक्रमण गर्नासाथ चीनबाहेक १३ मुलुक र ४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले सहयोग दिन रोक्यो ।
भियतनामको विदेश मन्त्रीले “१९९५ अघि कम्पुचियाबाट सबै सेना फर्काइने छैन” भनेका छन् । त्यस्तै भियतनामका कम्युनिष्ट पार्टीका महासचिवले “कम्पुचियामा युद्ध जारी रहनेछ” भनेका छन् । यस्तै कुरा अमेरिकी साम्राज्यवादका माहुतेहरूले पनि १० वर्ष अघि भनेका थिए । तर, फर्कन बाध्य बनाइए ।
एक अनुमानअनुसार १९ लाखको मृत्यु, ४५ लाखभन्दा बढी घाइते र ९० लाखभन्दा बढीको घरवार विमुख भएको भियतनामले एकदसकपछि पनि समाजवादी व्यवस्था अनुकूल अर्थव्यवस्था बनाउन सकेको छैन । यसको विपरीत पाइलैपिच्छे रुसमाथिको निर्भरता बढ्दै गएको छ । भियतनाममा माग्ने, पेटीमा पसल राखी जीविका गर्ने, सडकमा सुत्नेजस्ता बेरोजगार बढ्दो छ, जुन काका होको ध्येयको सर्वथाविपरीत छ । भियतनाममा होटेल, ढुवानी, पथ प्रदर्शक (गाइड) र दोभाषे आदिको भाडा वा परिश्रमिक संसारमा सबभन्दा महँगो हुन पुगेको छ ।
सारमा, वर्तमान सत्तासीनहरूले भियतनामलाई समाजवादी मार्गबाट हटाएका छन् र काका हो माथि विश्वासघात गरेका छन् ।
– समाप्त
Leave a Reply