भर्खरै :

भान्सामा तरकारीसँगै विषादी पाक्छ !

– ध्रुवसागर शर्मा
गलेश्वर, १६ जेठ । छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरूले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरूमा देखिन थालेको छ ।
किसानले कृषि प्रविधिको सल्लाह नलिई आफूखुशी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै विषादी पनि पाकिरहेको छ । म्याग्दी जिल्लाका ग्रामीण भेगका साथै छिमेकी जिल्ला पर्वत र तराईका विभिन्न क्षेत्रहरूबाट सदरमुकाम बेनीमा भित्रिने तरकारी र फलफूलको परीक्षण हुन नसक्दा विषादीसमेत मानिसको पेटमा पुगिरहेको सरोकारवालाहरूले बताएका छन् ।
सरकारका नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा नेपालीहरूको भान्सामा विषादी र तरकारी एकैचोटि पाकिरहेको कृषि वैज्ञानिकहरू बताउँछन् । गाउँ र तराईबाट बजारमा आउने तरकारीको परीक्षण गरिँदैन । उपभोक्ताको स्वास्थ्यमा यस्ता तरकारीले कस्तो असर गरेको छ, कसैको ध्यान पुगेको छैन । यस्ता तरकारी खुलेआम बेच्न दिँदा जनस्वास्थ्यप्रति खेलबाड भइरहेको उपभोक्ताको गुनासो छ ।
तरकारीमा नदेखिने विषको प्रयोग हुने कृषि विशेषज्ञहरूले बताएका छन् । विषादीको दुई किसिमबाट प्रयोग गरिने उनीहरूको भनाइ छ । पहिलो चरणमा बिरुवा रोप्दै गर्दा विषादी हालिन्छ । फल फलिसकेपछि तरकारी छिटो बजारमा पु¥याउन पनि कृषकले विषादी हाल्ने गरेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताउनुभयो ।
कृषि वैज्ञानिक कार्कीका अनुसार नेपालमा सन् १९५० देखि डिडिटी र पाइरेथ्रम नामका दुई विषादी औलो रोगको रोकथामका लागि लामखुट्टे मार्न भनेर नेपालमा ल्याउन सुरु गरिएको हो । सरकारी तवरबाट भने सन् १९५६ बाट आयात गर्न सुरु गरिएको अभिलेख छ । विस्तारै यसको खपत बढ्दै गएपछि कृषि क्षेत्रमा पनि यसको प्रयोगमा व्यापकता आउँदै गएको हो । कार्कीका अनुसार हाल नेपालमा वार्षिक रु. ७४ करोड ७८ लाख मूल्यका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको छ । नेपालमा पञ्जिकृत विषादीको सङ्ख्या (व्यापारिक नाम) २ हजार ५७६ रहेको छ भने १३९ सामान्य पञ्जिकृत विषादी रहेका छन् । सरकारी तथ्याङ्क अनुसार विषादीका १२ हजार ८८७ खुद्रा विक्रेता र ११ हजार ९०८ तालिम प्राप्त बिक्रेता रहेका छन् । सरकारी तथ्याङ्कअनुसार अनुमतिपत्र लिएका संष्लेषणकर्ताको सङ्ख्या भने जम्मा ५ रहेको छ ।
कृषि वैज्ञानिक कार्कीका अनुसार विषादी प्रयोग गरिएका तरकारी, फलफूल तथा खाद्यान्नले दीर्घकालीन असर निम्त्याइरहेका छन् । क्यान्सर, वंशाणुगत परिवर्तन, विकृत बच्चाको जन्म, कलेजो तथा मिर्गौला बिग्रनु, प्रजननमा विकृति, स्नायुसम्बन्धी रोग, एजर्ली, दम, अन्धोपनलगायतका समस्याहरू बढ्दै जानाको पछाडि विषादी प्रयोग गरिएको तरकारी र फलफूलको सेवन नै प्रम्ुख रहेको छ ।
नेपालमा वर्षेनी रु. ३६ करोड ६० मूल्य बराबरको १ लाख ६९ हजार किलोग्राम कीटनाशक विषादी, रु. २५ करोड ७० लाख मूल्य बराबरका ३ लाख ४८ हजार किलोग्राम रोगनाशक विषादी, रु. ९ करोड ८४ लाख मूल्य बराबरका १ लाख ६ हजार किलोग्राम झारपात नाशक विषादी र रु. २ करोड ३६ लाख मूल्य बराबरका १३ हजार २०९ किलोग्राम अन्य विषादी गरी कुल रु. ७४ करोड ७८ लाख मूल्य बराबरका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको नार्कका अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक कार्कीले जानकारी दिनुभयो ।
यसैगरी, बेनी नगरपालिकाका कृषि संयोजक कृष्ण बानियाँले ज्ञानको अभावमा किसानहरूले कडाभन्दा कडा विषादी तरकारीमा हाल्ने गरेका बताउनुभयो । बानियाँले भन्नुभयो – “यस्तो विषादी हालिएको तरकारी हामी सबैको भान्सामा दिनहूँ पाकिरहेको छ र हामी तरकारीसँगै विष पनि खाइरहेका छौं ।”
विषादीरहित अग्र्यानिक तरकारी खेतीका लागि कृषकहरूलाई जागरुक बनाउनुपर्ने आवश्यकता रहेको किसानी कृषि प्राविधिक शिक्षालयका संयोजक करन कँडेलले बताउनुभयो । “किसानहरूलाई विषादीरहित तरकारी खेतीका लागि प्रोत्साहन गर्न सरकारले अग्र्यानिक उत्पादनका लागि अनुदान र उपभोक्ताले पनि उचित मूल्य दिन आवश्यक छ,” संयोजक कँडेलले भन्नुभयो – “कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई हामीले विषादीरहित तरकारी उत्पादनका लागि आधुनिक तरिका र प्रविधिका बारेमा सिकाइरहेका छौं ।” विषादीयुक्त तरकारी खाँदा मानिसलाई विभिन्न किसिमका रोग लाग्ने चिकित्सकहरूले बताएका छन् । मानिसको वंशाणुगत क्षमतामै असर, गर्भवतीले बढी खाएमा बच्चा अस्वस्थ जन्मिने, लुलो लङ्गडो हुने र क्यान्सरले समेत सताउने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम आचार्यले बताउनुभयो । चिकित्सक आचार्यका अनुसार तरकारीलाई तीन÷चारपटक राम्ररी पखालेर पकाउनुपर्छ । “पर्याप्त जानकारी हुँदाहुँदै पनि बाध्यतावश उपभोक्ताले सेवन गरिरहेका छन्,” उहाँले भन्नुभयो । सरकारको विषादी प्रयोग गर्नेलाई कडा कारबाहीको कानुनी व्यवस्था नगर्दासम्म यस्तो समस्या रहिरहने उपभोक्ताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *