भर्खरै :

मुकुण्डो

श्यामकृष्ण खुलिमुली
इतिहास निर्माण गरेको
रगतले सीमारेखा कोरेको
एउटा तोप लिएर
भक्ति थापा सिंहदरबार छिरे ।
पानीमात्रै पिएर
देश जोगाउने
बलभद्र कुँवर
हातमा नाङ्गो खुकुरी नचाउँदै
बालुवाटार छिरे ।
स्वाभिमान र वीरताको सौर्यगाथा गाई
हातमा खुँडा र तरबार बोकी
बाघको बच्चा अमरसिंह संसद छिरे ।
जनता हेरिरहेका थिए –
भक्ति थापाको अदम्य साहस
बलभद्र कुँवरको मेघ गर्जन
अमरसिंह थापाको स्वाभिमान ।
केही समयपछि
जब अमिलो डकार निकाल्दै
बाहिर निस्के एक–एक गरेर
तब म छक्क परेँ
उनीहरूका हातमा झुण्डिएको मुकुण्डो देखेर
मजस्तै अरु मानिसहरू पनि तीनछक्क पर्दै हेरिरहेका थिए
उनीहरूका वास्तविक अनुहार र मुकुण्डो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *