भर्खरै :

सामाजिक सञ्जालमार्फत फैलिने झूटा समाचार चुनौती बन्दै

नयाँ दिल्ली, ३१ मे । पछिल्ला केही वर्षयता भारतमा सरकार र नागरिक समाज दुवैको लागि झूटा समाचार प्रमुख चुनौती बनेको छ । त्यस्ता समाचार भारतीय समाजमा हिंसा र तनावको कारण बनेका छन् ।
ह्वाटस्एप, फेसबुक, इन्स्टाग्राम, ट्वीट भारतमा सबभन्दा बढी चल्ने सामाजिक सञ्जालहरू हुन् । ती सञ्जालका २० करोडभन्दा बढी प्रयोगकर्ता भारतमा छन् ।
सामाजिक सञ्जालमा झूटा समाचारको बिगबिगीबारे नागरिक समाज र सामाजिक समूहहरूले व्यापक चिन्ता पोख्न थालेपछि सरकारले यसबारे गम्भीरता देखाएको छ । झूटा समाचारले समाजमा फैलाउने खराब प्रभावबारे केही महत्वपूर्ण कदम चाल्नुपर्ने ठहर गरेको छ ।
सार्वजनिक विज्ञापनमार्फत सामाजिक सञ्जालको दुरुपयोगबारे सर्वसाधारण सावधान र संवेदनशील बनेका छन् । फलतः केही महिना यता यसका केही सकारात्मक प्रभाव पनि देखिएका छन् ।
आजभोलि भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता सञ्जालमार्फत प्रचारमा आउने संवेदनशील समाचारप्रति शङ्का गर्न थालेका छन् । तथापि समग्रमा सरकार र भारतीय समाजको लागि यो चुनौती बनेको छ ।
संरा अमेरिकापछि ह्वाटस्एपको लागि आफ्नै प्रमुख भएको देश हो–भारत । सन् २०१८ को नोभेम्बरमा भारतमा अलग्गै ‘ह्वाटसएप इन्डिया’ स्थापना भयो । यसले सामाजिक सञ्जालमार्फत झूटा समाचार फैलिन रोक्ने भारत सरकारको चाहनालाई केही सीमामा पूरा भएको छ । ह्वाटस्एपमार्फत फैलिएका हल्लाको आधारमा सन् २०१८ मा दर्जनौं हिंसात्मक घटनाहरू भए पनि सामाजिक सञ्जालको दुष्प्रभाव रोक्न सरकारले तदारुकता देखाएको थियो ।
दुई वर्षअघि ह्वाटस्एपमार्फत एउटा भिडियो सार्वजनिक भएको थियो । त्यही भिडियोका कारण भारतको उत्तर प्रदेशस्थित मुज्जफरपुर सहरमा साम्प्रदायिक हिंसा फैलिएको थियो ।
सन् २०१८ फेब्रुअरीमा फेसबुकका सीईओ मार्क जुकरबर्गले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार भारतमा फेसबुकका मासिक २० करोड प्रयोगकर्ता सक्रिय थिए ।
भारतको केन्द्रीय र प्रदेश सरकारले झूटा समाचार पहिचान गर्न मानिसलाई शिक्षित बनाउन विभिन्न अभियान चलाएको छ । सामाजिक सञ्जालबाट आएका कुनै पनि खबर आफ्नो कोही परिचितलाई पठाउन अघि सही हो–होइन छानबिन गर्न सरकारले जनतालाई आग्रह गर्दै आएको छ ।
विशेषतः दुई वा बढी समुदायबीच भएका स–साना घटनालाई सामाजिक सञ्जालमार्फत अतिरञ्जनापूर्वक फैलाइँदा समाजमा अस्थिरता र तनाव सिर्जना भई गम्भीर समस्या निम्त्याउनु चुनौती बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *