भर्खरै :

तीर्थबहादुर श्रेष्ठको ‘नेपाल अध्ययन’

राकस्था
एउटा तिब्बती आहान छ – “पहाड नै निले पनि र समुद्र नै पिए पनि मन तृप्त हुन्न ।” ज्ञानको भोक पनि कहिल्यै मेटिन्न । मनपर्ने एवम् असल पुस्तक भेट्टाउन सके मानिस एकान्त टापूमा पनि खुसीसाथ बस्नसक्छ ।
नेवारीमा एक भनाइ छ, “आफूले आफैलाई चिन्न नसक्दा दुःख पाएँ ।” यतिबेला नेपालीले आफ्नो देशलाई चिन्न नसक्दा दुःख पाइरहेका छन् । अब नेपालीले दुःख नपाऊन् भनेर होला लेखक डा. तीर्थबहादुर श्रेष्ठले नेपाल चिनाउने पुस्तक प्रकाशित गरेका छन् । संसार चिन्ने र चिनाउने तर नेपाल नचिन्ने वा नचिनाउने चक्रले गर्दा नेपाली शिक्षा अपाङ्ग बनेको अवस्थामा नेपाली शिक्षकहरूलाई विशेष लक्षित गरी लेखिएका लेखहरूको सङ्गालो ‘नेपाल अध्ययन – भाग १ भू–स्वरुप र हावापानी’ प्रकाशित भएको छ ।
डा. तीर्थबहादुर श्रेष्ठ अखबारी लेखनीमा धेरै पाठकबाट रुचाइएका लेखक हुन् । विज्ञानका कठिन विषयलाई पनि सरल र व्यावहारिक तरिकाबाट बोध गराउने क्षमता नै डा. श्रेष्ठको परिचत्न्दा अत्युक्ति नहोला । खासगरी भूगोल, भूगर्भ, वनस्पति, प्राणी, जलवायु आदि लेखक श्रेष्ठका लेखनका विषय बन्दै आएको पाइन्छ ।
डा. श्रेष्ठको चर्चित पुस्तक ‘नेपालका नखुलेका पाटाहरू’ पछि २०७५ फागुनमा बजारमा ल्याइएको अर्को एक महत्वपूर्ण पुस्तक ‘नेपाल अध्ययन’ शिक्षक मासिकले प्रकाशित गरेको हो । नेपालको भू–स्वरूप र हावापानी पुस्तकको केन्द्रीय विषय हो । पुस्तक देशको जैविक विविधता तथा संरक्षणको विषयबारे जान्न चाहने सबैको निम्ति पठनीय छ । पुस्तकका पाँच खण्डमा जम्मा २१ वटा आलेखहरू समेटिएका छन् ।
पुस्तकको पहिलो लेखमा नेपाल ‘ल्याण्डलक्ड’ नभई ‘ल्याण्डलिंक्ड’ देश भएको तर्क गरिएको छ । नेपाल ‘सानो’ भनी हिनताबोध गर्नु नपर्ने तर्क डा. श्रेष्ठले गरेका छन् । दुई ठूला देशहरूका भू–कडीको रूपमा यसको व्यापारिक र सामरिक महत्व धेरै भएको उनको भनाइ हो । नेपाल हिमाल, पहाड र तराईमा बाँड्ने विचारमा असहमति राख्दै डा. श्रेष्ठले बरु तीन भौगोलिक स्वरूपहरूको समिश्रण वा समायोजनबाट नेपालको निर्माण भएको भन्नु उचित हुने तर्क सकारात्मक एवम् उत्साहित गर्ने खालको छ ।
पुस्तकमा डा. श्रेष्ठले नेपाल जैविक विविधताको हिसाबमा क्षेत्रफलमा ठूला देशभन्दा कम नभएको कुरा अनेक उदाहरण दिएर पुष्टि गरेका छन् । लेखकका अनुसार स्वच्छ पानीको भण्डारको हिसाबमा नेपाल धनी छ तर पर्यावरणमा आएको परिवर्तनले यो विशाल सम्पदा बाँकी रहने हो या नरहने शङ्का उत्पन्न भएको छ ।
“उष्ण जलवायु भएका क्षेत्र कहाँ कहाँ छन् भनी सोध्नुप¥यो भने त्यसको उत्तर दिन सक्ने भरपर्दो उत्तरदाताको रूपमा सालको वृक्ष अगाडि पर्छ ।” नेपाल चिन्ने योभन्दा सरल तरिका कस्तो होला ! बुझिने र स्मरण हुने किसिमको लेखकको यही लेखन काइदा डा. श्रेष्ठको सबभन्दा प्रभावकारी पक्ष हो । जहाँ साल–सिमल हुर्किन्छन्, त्यहाँ आँपखेती गर्दा हुन्छ भन्ने सोझो भाषामा किसानलाई सन्देश दिनुपर्ने उनको विचार मननीय छ ।
पुस्तकमा जलवायु परिवर्तनको कारण अत्यधिक जोखिममा पर्ने राष्ट्रहरूको पहिलो कोटिमा नेपाल परेको बारे डा. श्रेष्ठले महत्वकासाथ लेखेका छन् ।
डा. श्रेष्ठको लेखनीले मानिसको दिमाग झङ्क्रित बनाउँछ, किनभने उनको लेखाइ रसिलो, भरिलो, गहकिलो हुन्छ । साहित्यको सुवाससहितका अभिव्यक्तिले उनका लेखहरू पढ्न पाठकलाई घच्घच्याइरहन्छ । “सुनसरीमा सुन फलाउँछौँ लहलह धानको बालामा ।” यस्तै कवितात्मक शैली डा. श्रेष्ठको विशेषता हो । उनका वाक्य वाक्यमा कविताको मर्म भेटिन्छ ।
पृथ्वीमा दुई ध्रुवको कुरा त सुनिएको÷पढिएको हो, तेस्रो धु्रव के होला ? डा. श्रेष्ठले हिमालयलाई तेस्रो ध्रुवको संज्ञा दिएका छन् । पर्या–पर्यटनको निम्ति नेपाल अत्यन्तै उपयुक्त देश भएको डा. श्रेष्ठको प्रस्ट्याइँ छ ।
मानिसको जीवन प्रकृतिको तादात्म्यमा हुनैपर्छ । लेकाली भेगमा बस्ने बासिन्दाले नुनपानीमा चिया उमाल्नुको कारण बताउन पनि डा. श्रेष्ठ छुटाउन्नन् । उनी लेख्छन्, “नत्र चियाको रङ्ग आउने तापमान पानीमा चढ्न सक्दैन ।”
‘हरियो वन नेपालको धन’ भनी हुर्किएका हामी नेपालीले पानीको धन झन् बढी महत्वको छ भनी पुग्दो चर्चा गरेनौँ । लेखकले पृथ्वीमा पिउनयोग्य स्वच्छ पानी ३ प्रतिशत र तरल अवस्थाको स्वच्छ पानी १ प्रतिशत मात्र भएको तथ्य राख्दै बाँकी २ प्रतिशत स्वच्छ पानी हिमखण्डको रूपमा सञ्चित भएकोले लेखक भन्छन्, “हिमालयको पानी दुर्लभ जिनिस पनि हो ।”
लेखक डा. तीर्थबहादुर श्रेष्ठले पुस्तकमा हिउँ, असिना, तुषारो, तुवाँलो आदि कसरी बन्ने भन्ने सरल वैज्ञानिक व्याख्या गर्दै घाम लागेर तुषारो वा हिउँ पग्लँदा बढी जाडो लाग्ने र हिउँ परिरहेको बेला त्यसको अघिपछि भन्दा न्यानो अनुभव हुने रमाइलो तथ्यको कारण पनि भन्न भ्याएका छन् ।
वन जोगिएमात्र आफू जोगिने भन्ने सन्देश बाल शिक्षाबाटै प्रारम्भ हुनु जरुरी भएको लेखक डा. श्रेष्ठ बताउँछन् । उनले एउटा लेखमा गङ्गा (पानी), तुलसी र शालिग्रामको पूजाको ऐतिहासिक एवम् व्यावहारिक कारण स्पष्ट पारेका छन् ।
समुद्री आँधी किन आउँछ भन्ने जान्न पनि डा. श्रेष्ठको पुस्तक पढ्नु राम्रो हुन्छ । नेपालको अनुपम प्राकृतिक सम्पदालाई कसरी पढ्ने भन्ने तरिका पनि डा. श्रेष्ठकै किताबले सिकाउँछ । लेखक डा. श्रेष्ठले पुस्तकमा रानीपोखरीको माछा मरेको घटनाको वैज्ञानिक कारणदेखि काठमाडौंमा चिसोयाममा ‘टेम्परेचर इन्भर्सन’ भई धेरै मानिस मारिने खतरा बढेको चर्चा समेत गरेका छन् ।
काठमाडौँ उपत्यकाको पानीको निकास मञ्जुश्रीले खोलेको भनाइविपरीत डा. श्रेष्ठले भूकम्प आदि प्राकृतिक प्रहारकै कारण काठमाडौँको पानीले निकास पाएको तर्क गरेका छन् । भूकम्पबारे लेखिएको एक लेखमा उनी चेतावनी दिन्छन्, “भूकम्पसँग आत्मसात् गरेर बस्न जानेनौँ भने भोलिका दिनमा आउने भूकम्पहरूले अरू प्रलयकारी परिणामहरू पस्कने छ ।”
२०७२ को भूकम्पको भग्नावशेष असरल्ल परेको दृश्य देखेपछि डा. श्रेष्ठ लेख्छन्, ‘धरहरामुनि बसेर चिच्याउँदै चक्का जाम र नेपाल बन्द गराउने लाखौँ कार्यकर्ताका हातहरू आज कहाँ पुरिए ?’ यो शासक राजनीतिक दलहरूप्रतिको तीव्र व्यङ्ग्य पनि हो । २०७२ सालको भूकम्पबाट अत्यन्त प्रभावित भक्तपुरको भग्नावशेष पन्छाउनमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू अग्रसर भएको यथार्थ देखेबुझेका भए डा. श्रेष्ठले थप केही वाक्यहरू लेख्थे होलान् । भूकम्पलाई मागीखाने वा ठगीखाने भाँडो बनाउन दिन नहुने डा. श्रेष्ठको विचार अत्यन्तै सान्दर्भिक छ ।
भूकम्पको पूर्वानुमान आजसम्मको विज्ञानले यकिन गर्न सकेको छैन । तर प्रकृतिका जीव जनावरको क्रियाकलापलाई बुझ्न सकेको खण्डमा भूकम्पको पूर्वानुमान गर्न सकिने डा. श्रेष्ठको तर्क छ । नेपाल भूकम्पको जोखिममा छ तर भूकम्पलाई आत्मसात् गरेर कसरी विकास निर्माण गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने विचार मननीय छ ।
२०६५ साल यता शिक्षक मासिक पत्रिकामा विभिन्न मितिमा प्रकाशित आलेखहरूको सङ्ग्रहको रुपमा प्रकाशित पुस्तकमा उल्लिखित कति प्रसङ्ग सामयिक नहुनु स्वाभाविक हो । पहिलो लेखको सुरुवातमै राज्य पुनर्संरचना हुन लागेको प्रसङ्ग छ । त्यस्तै अन्तिमतिर सङ्घीय शासन प्रणाली लागू हुने प्रसङ्ग समेटिएको छ । यसले नयाँ पुस्तकमा पुरानोपन मिसिएको भान हुन्छ । ‘स्कुल लिभिङ्ग सर्टिफिकेट’, ‘कन्ट्री लिभिङ्ग सर्टिफिकेट’ नहोस् भन्ने अन्तिम लेखको अन्तिम वाक्य बडो मार्मिक र यथार्थपरक भएर पनि वाक्य समय र प्रसङ्ग बाहिर गएको अनुभूति गराउँछ । लेखमा समयानुकूल थप सम्पादन भएको भए सुनमा सुगन्ध हुन्थ्यो ।
जटिल विषय सरल भाषामा पस्कन सिपालु डा. तीर्थबहादुर श्रेष्ठको ‘नेपाल अध्ययन (भाग २) छिट्टै पढ्ने अवसर मिलोस् भन्ने कामना छ । लेखक र प्रकाशकलाई साधुवाद !
पृष्ठ १४६, मूल्य ः रु. ३००
प्रकाशक ः शिक्षक मासिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *