भर्खरै :

मोदीले सत्ता जिते, विचारधाराको लडाइँ जितेनन्

अमत्र्य सेन
(भाजपाले बोक्ने हिन्दू राष्ट्रवादको नारा र अभियान तथा मुस्लिमलगायत अन्य अल्पसङ्ख्यक भारतीयहरूप्रतिको यसको असहिष्णु र थिचोमिचो प्रवृत्तिका कट्टर आलोचक हुन् नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेन । भारतीय तल्लो सदन लोकसभाको सत्रौं आम निर्वाचनमा भाजपाको भारी बहुमतसहितको विजयको बारेमा चर्चा र छलफल चलिरहँदा अमत्र्य सेनको द न्युयोर्क टाइम्सको २८ मेमा प्रकाशित विचार यस मजदुरका पाठहरूका लागि उपयुक्त लागेकोले अनुवाद गरिएको छ । –अनुवादक)
कुल ५४३ सीट रहेको तल्लो सदन लोकसभाको निर्वाचनमा ३०२ सीटसहित भारी विजयले मोदी नेतृत्वको हिन्दू राष्ट्रवादी भाजपाले अर्को ५ वर्ष भारतमा शासन गर्ने जनादेश प्राप्त गरेको छ । चुनावमा भाजपाले पाएको यो विजय साँच्चिकै प्रभावशाली उपलब्धि हो तर मोदी कसरी यस्तो गर्न सफल भए ? सबभन्दा पुरानो पार्टी भारतीय राष्ट्रिय काङ्ग्रेस किन ५२ सीटमा मात्र खुम्चिन पुग्यो भन्ने प्रश्नमाथि घोत्लिनु आवश्यक देखिन्छ । यस प्रश्नको उत्तर पाउन कसैले विशेषतः यसलाई भारतमा अत्यधिक प्रभावशाली रहेको हिन्दूत्वको पहिचानसँग जोडिएको वैचारिक र सैद्धान्तिक कुरासँग जोडेर हेरेका छन् । यसका पक्षपातीहरूका अनुसार भारत स्वतन्त्र भए यता धेरै परिवर्तन भए । यस बदलिंदो परिस्थितिमा काङ्ग्रेस पार्टीले बोक्दै आएको हिजोको पुरानो बहुलवादी र धर्म निरपेक्षतामा आधारित सिद्धान्त र गान्धी, नेहरू, टैगोर, अब्दुल कलाम आजादजस्ता महान नेताहरूको विचार अबको समयमा नयाँ र उपयुक्त विकल्प हुनसकेनन् । यी कुरामा सत्यताको केही अंश पनि होला । तथापि, बिस करोड मुस्लिम जनसङ्ख्या (कुल जनसङ्ख्याको करिब १४ प्रतिशत) भएको भारतमा सबै हिन्दूहरूले विजयी भाजपालाई समानरूपमा राजनैतिक समर्थन गरेको त होइन होला । सधँै विचारले मात्रै काम गर्दैन होला, हाम्रो विचार र सिद्धान्तलाई प्रभाव पार्ने विभिन्न क्रियाकलाप र घटनाहरू पनि त हाम्रो दैनिक जीवनमा घटिरहेका होलान् । त्यसैले भाजपाले केही वर्षकै अन्तरालमा यति धेरै समर्थन किन पायो होला भन्ने कुरालाई यही सिलसिलासँग जोडेर पनि हेर्नुपर्ने हुन्छ ।
मोदी चतुर राजनैतिक नेता भएकोमा कुनै शङ्का गर्नु नपर्ला । केहीलाई यो मान्य नहोला पनि । तर, भाजपालाई आश्चर्यचकितरूपमा यस उचाइमा लान उनको ठूलो भूमिका रहेको छ भन्दा गलत नहोला । मोदी निषेध र घृणालाई पनि आफ्नो चर्को वाक्पटुताको सहाराले राजनैतिक हतियार बनाउँदै विभिन्न तहका मानिसहरू जस्तै वामपन्थी, बुद्धिजीवि एवं उदार बुद्धिजीविहरू तथा विभिन्न जात र धर्म र सम्प्रदायका मानिसहरूका विचारलाई समेत प्रभावित गर्न सक्षम छन् । भाजपाका पूर्व नेता अटल विहारी वाजपेयी यस्तो गर्न कदापि सक्नुुहुन्नथ्यो ।
मोदीले आफ्नो व्यक्तित्व र वाक्पटुताको चमकधमकमात्र चुनावमा देखाएनन् बरु पैसाको पनि खोलो नै बगाए । यो उनको प्रमुख प्रत्यासी काङ्ग्रेस र अन्य पार्टीहरूले गरेको खर्चभन्दा कैयौं गुणा धेरै थियो । त्यस्तै चुनाव प्रचारको समयमा सरकारी दूरदर्शनले जति समय अन्य पार्टीहरूलाई उपलब्ध गरायो, त्यसको दोब्बर भाजपालाई दियो । फेब्रुअरीमा कश्मीरमा पृथकतावादीहरूले गरेको आङ्तककारी हमलामा पाकिस्तानी समूहको हात रहेको आशङ्कापश्चात् जवाफमा पाकिस्तानको सीमाभित्र आतङ्कारीको आश्रयस्थलमा भारतले गरेको हवाई हमलाले पनि भाजपाले उठाएको राष्ट्रवादी नाराको लहरलाई नै बल पुग्यो र यसले चुनावमा सहयोग ग¥यो । त्यस्तै, यो आमचुनाव मोदीको सनसनीपूर्ण, आलङ्कारिक र आडम्बरी वाक्पटुतामय भयो तर प्रभावकारी पनि । चुनावी नारालाई चिट्टिक पारेर पस्कनु मोदीको खुबी देखियो । सन् २०१४ को चुनावप्रचार अभियानमा उनले धेरै आश्वासन बाँडे । जस्तै, प्रशासनिक झन्झट र भ«ष्टाचारमुक्त खुला बजार अर्थतन्त्रलाई चलायमान बनाउने र यसबाट प्राप्तफल सबैलाई पु¥याउने, सबैलाई रोजगारी प्रदान गर्ने, सबै जनतामा स्वास्थ्य र शिक्षाको सेवा उपलब्ध गराउने आदि । तर, यसपालिको चुनाव अभियानमा उनले पाँच वर्षअघि गरेका आफ्ना वाचाको बारेमा गर्वका साथ केही उपलब्धिलाई पस्कने आँट भने गरेनन् । गरुन् पनि कसरी ? बेरोजगारीकोे समस्या अहिले पनि विकराल छ । आर्थिक वृद्धि कमजोर नै छ, जहाँ प्रगति देखिएको छ त्यहाँ बहुमतको हितको लागि भएन । सार्वजनिक स्वास्थ सेवा करिब करिब उपेक्षित नै रहे भने प्रशासनिक झन्झट र भ«ष्टाचारमुक्त सरकारी सेवा नारामा मात्र सीमित रहे । आफ्नो ५ वर्षको कमजोरी लुकाउँदै मोदीले यस चुनावमा नयाँ पासा फ्याँके । भारतीय जानतासामु भयङ्कर डर र त्रासको हौवा फैलाए । भारतीय जनताको सामु आतङ्कवादको त्रास, पाकिस्तानले गर्नसक्ने हमलाको त्रास र देशभित्रकै वैरीले गर्नसक्ने हमलाको भय । मोदीले यो त्रासको चुनावी नारा र हौवा पस्केर चुनावलाई आफ्नो पक्षमा पारे जसरी सन् १९८२ मा फोकल्याण्ड युद्धको हौवाले मार्गरेट थ्याचरले चुनाव जिते । भारतीय राजनीति यस्तै घटनाहरूको श्रृङ्खलाले भरिएको छ । यसैलाई भाजपा समर्थकहरू काङ्ग्रेस विरुद्धको वैचारिक लडाइँको जीत भन्न रुचाउँछन् । तर, वास्तवमा यहाँ हिन्दू राष्ट्रवादसँग सम्बन्धित दर्शनको कुनै जीत कहीँ भएको छैन । न त गान्धी, टैगोर र नेहरूले अगाडि सारेको समावेशिता र एकताको सिद्धान्त र विचारमा देखिने गरी कुनै ¥हास नै आएको छ । यदि देखिने गरी केही भएको छ भने यो पाँच वर्षको दौरानमा विभिन्न धार्मिक सम्प्रदायबीचको खाडल झन् फराकिलो भएको छ र अल्पसङ्ख्यकहरूमा पनि अझ मुस्लिमहरूको जीवन झ्नै जोखिममा परेको छ । हिन्दू राष्ट्रवादको अभियानले भाजपालाई सत्तामा जरुर पु¥याएको छ । तर, वैचारिक लडाइँमा उसको जीत भएको छैन । उदाहरणको लागि भाजपाका एक अभियन्ता प्रज्ञा ठाकुरले सार्वजनिकरूपमै गान्धीको हत्या गर्ने नाथुराम गोडसेलाई देशभक्त भने । उनको यस भनाइले सिङ्गो भाजपालाई अप्थ्यारोमा पा¥यो र उनलाई पछि उनको त्यस भनाइको लागि माफी माग्न लगाइयो । तर, त्यही ठाकुर मध्य प्रदेशको चुनावमा उम्मेदवार बने र निर्वाचित पनि भइन् । उनी भारतीय संसदमा सांसद भएकी छिन् । यहाँ सत्ताको लडाइँमा भाजपा विजयी भयो तर वैचारिक लडाइँ कहाँ छ ? यहाँ प्राथमिकतामा राख्नुपर्ने वैचारिक लडाइँलाई बेवास्ता गरिएको छ, यसमा प्रतिपक्षसमेत नराम्ररी चुकेको छ ।
अनुवादः योगेन्द्रमान बिजुक्छेँ
१५ जेठ, २०७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *