भर्खरै :

खोकना र बुङमतिको जनताप्रति ऐक्यबद्धता सभा

ललितपुर, १८ जेठ । सरकारले जनताको सहमतिबिना एकपक्षीयरूपमा ललितपुरका खोकना र बुङ्गमतीमा दु्रतमार्ग, हाइटेन्सन विद्युत् लाइन, बागमती करिडोर, बाहिरी चक्रपथ रेलमार्ग र स्मार्ट सिटी आदि योजना थोपरेर स्थानीय ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदा विनास गर्न खोजेको विरोधमा स्थानीय जनताले रचनात्मक शैलीमार्फत विरोध गर्न थालेका छन् ।
जनसरोकार समितिको आयोजनामा शुक्रबार खोकनाले जनजागरण सांस्कृतिक कार्यक्रम आयोजना गरेर जनताको उठिबास हुने ती योजनाको विरोध गरेका छन् । उपत्यकाका विभिन्न क्षेत्रबाट खोकनामा भेला भएका कलाकार र सांस्कृतिककर्मीले आ–आफ्ना कला र संस्कृतिमार्फत सरकारी योजनाको विरोध गरे ।
गायक रामकृष्ण दुवालले ‘गाँ गामं दना वा, बस्तीं बस्तीं दना वा’ (गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ) बोलको गीत गाएर स्थानीय जनतालाई सरकारी ज्यादतीविरुद्ध उठ्न आह्वान गर्नुभयो ।
नेवारी परम्परागत देवीनाच, बाँदरनाच, नाटक, बाँसुरी धुन आदि प्रस्तुत गरी कलाकारले आफ्नो परम्परा र संस्कृति संरक्षणको लागि खोकना र बुङ्गमतीका जनताले गरिरहेको सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो ।
जनताको सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गर्न खोकना पुग्नुभएका नेपाल मजदुर किसान पार्टीका सचिव प्रतिनिधि सभाका सांसद प्रेम सुवालले खोकना र बुङ्गमतीका सांस्कृतिक सम्पदा र कृषि भूमि विनास हुने गरी बाहिरी चक्रपथ, हाइटेन्सन लाइन, दु्रतमार्ग, बागमती कारिडोर बनाउनु गलत भएको बताउनुभयो ।
उहाँले देशको सन्तुलित विकास गर्न आवश्यक भएको र त्यसको लागि सबै संरचना काठमाडाँै उपत्यकामा बनाउनु उपयुक्त नभएको धारणा राख्नुभयो ।
“दु्रतमार्गको निर्माणका जिम्मेवारी नेपाल सेनालाई दिइएको छ । स्थानीय किसानले मुआब्जा नै नबुझेको जग्गामा सेना द्रुतमार्ग निर्माणमा लागेर गर्नुले नेपाली जनता र नेपाली सेनाबीच मतभेद बढेको छ । यसबारे सरकार गम्भीर हुन आवश्यक छ । द्रुतमार्ग खारेज गरी रोप वे सञ्चालन गर्नु उपयुक्त हुनेछ”,सांसद सुवालले भन्नुभयो ।
पृथ्वीनारायण शाहको आक्रमणदेखि काठमाडाँै उपत्यकाको सम्पदा विनास सुरु भएको र अहिलेसम्म चालू रहेको भन्दै उहाँले बीस–पच्चीस वर्षअगाडि नै खोकना र बुङ्गमतीलाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा सरकार गम्भीर नहुँदा त्यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले द्रुतमार्गले भारतीय विस्तारवादलाई नेपाल पस्न सजिलो बनाउने र नागरिक शासकमा नेपाली सेनालाई बन्दुक बोकाएर डीपीआर नै पारित नभएको योजना कार्यान्वयन गर्नु सरकारको मनपरीतन्त्र भएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवी रत्नमान तुलाधरले स्थानीय जनताको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले खोकना र बुङ्गमतीका
जनताको समस्याबारे मौन बसेकोमा आक्रोश पोख्नुभयो । जिल्ला समन्वय समिति ललितपुरका उपाध्यक्ष विनेश महर्जनले खोकना र बुङ्गमतीका जनताको समस्या समाधान गर्न सरकार चुकेको छ भन्नुभयो ।
कार्यक्रममा ललितपुर नपा वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जन, नरेन्द्रराज डंगोल, कृष्णशरण डंगोल, कृष्णभक्त डंगोललगायतले बोल्नुभएको थियो । कार्यक्रम आयोजक सरोकार समितिका संयोजक नेपाल डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *