भर्खरै :

आर्थिक र राजनीतिक स्वार्थका कारण भेनेजुयलामाथि हमला

भक्तपुर, १८ जेठ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) को प्रमुख आतिथ्यमा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को आयोजनामा सांसदसँग साक्षात्कार तथा ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष रोहितले भेनेजुयलामाथि संरा अमेरिकाले आक्रमण गर्नुको मुख्य कारण आर्थिक र राजनैतिक स्वार्थ भएको बताउनुभयो ।
संरा अमेरिकाले कानुनी र गैरकानुनीरूपमा अन्य देशहरूमाथि डकैती गरिरहेको छ, उहाँले भन्नुभयो ।
इतिहासबाट नसिकेको नेतृत्वले देश र जनताको सेवा गर्न नसक्ने चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले नेकपाको सरकारले देश र जनताको सेवा गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले मानव अधिकार र प्रजातन्त्रको विश्वव्यापी परिभाषा आर्थिक समानता, व्यक्तित्व विकासमा समान अवसर, सामाजिक न्यायलगायत हो भन्नुभयो ।
“संरा अमेरिकी साम्राज्यवादलगायत यसका समर्थकहरू बाघ र बाख्रा एक खोरमा थुन्नेकालाई पनि मानव अधिकार र प्रजातन्त्रको रूपमा परिभाषा गर्छन् जुन गलत हो”, उहाँले भन्नुभयो ।
अमेरिकी साम्राज्यवादको मानव अधिकार र प्रजातन्त्रभित्र रङभेद, हिंसा, असमानता, नाकाबन्दी, युद्धको धम्की, आक्रमणसमेत पर्ने उल्लेख गर्दै सांसद सुवालले संरा अमेरिकी साम्राज्यवादको संसारका न्यायप्रेमी जनताले विरोध गनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भेनेजुयलाका जननिर्वाचित राष्ट्रपति माडुरोविरुद्ध अमेरिकी राष्ट्रपति ट्रम्पको ग्वाइडोलाई भेनेजुयलाको राष्ट्रपति घोषणा झूटको सिलसिला भएको उहाँले बताउनुभयो ।
बजेटमा मासिक ६ हजार पाएका ईसीडीका शिक्षकहरूको तलब पठाउने र किसान पेन्सनबारे उल्लेख नभएको खेदजनक भएको उहाँले बताउनुभयो । सांसद सृजना सैंजूले प्रदेश सरकारले झूट बोलिरहेको जनताको निम्ति नीतिनिर्माण गर्न नसकेको, महिला सशक्तीकरणको नाममा महिला हिंसा रोक्न नसकेकोबारे संसद्मा आवाज उठिरहेको विचार राख्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजनथापा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इसानका सल्लाहकार आशाकुमार चिकंबञ्जार, उपाध्यक्ष सनकमान महर्जन, कोषाध्यक्ष उकेश कवां, महासचिव पुरुषोत्तम ग्वाछा, सदस्य राजेन्द्र सुजखु, सदस्य सुलोचना छ्वाजु, सदस्य लोकेन्द्र अर्याललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *