भर्खरै :

पुलिसद्वारा आर्मी ५० रनले पराजित

काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मी क्लवलाई ५० रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४८ ओभर चार बलमा सबै विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । उनका लागि कप्तान मन्जित श्रेष्ठले ३६, आरिफ शेखले ३४, दीपेन्द्रसिंह ऐरीले २९, दिलिप नाथले १४ र अनिल शाहले १३ रनको योगदान दिए ।
बलिङतर्फ त्रिभुवन आर्मीका साहब आलबले चार, करण केसीले दुई तथा सुशन भारी, जितेन्द्र मुखिया र कुशल मल्लले एक–एक विकेट लिए ।
१ सय ६२ रन पछ्याएर जवाफी ब्याटिङमा उत्रेको आर्मीले ४२ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १ सय ११ रनमात्रै बनाउन सक्यो । आर्मीका लागि हरिबहादुर चौहानले ३४, रोहितकुमार पौडेल र राजु रिजालले समान १६र१६, जितेन्द्र मुखियाले १२ र सुशन भारीले १० रन जोडे पनि अरु ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।
आर्मीविरुद्ध जित निकाल्ने क्रममा पुलिसका ललित राजवंशीले तीन तथा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान दुई–दुई तथा पवन सर्राफ र सागर ढकालले एक–एक विकेट लिए ।
चार खेलमा तीनमा जित निकालेको आर्मी ६ अङ्कका साथ समूह ‘बी’ को शीर्ष स्थानमा छ भने तीन खेलेको पुलिस दोस्रो स्थानमा रहेको छ ।
प्रदेश दुईद्वारा प्रदेश एक १६१ रनले पराजित
त्यस्तै शनिबारको अघिल्लो खेलमा प्रदेश दुईले प्रदेश एकलाई १ सय ६१ रनले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश दुईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २ सय ६५ रन बनाएको थियो । उसका लागि सुरज पटेलले सर्वाधिक ७८ रन, रासिद खानले ४७ रन, हरिशंकार शाहले ३१, हसिम अन्सारीले २०, रबि शाहले २० र मेहबुव आलमले १९ रनको योगदान दिए ।
यस्तै बलिङतर्फ प्रदेश एकका पुष्प थापाले तीन, सरोज बस्नेतले दुई तथा मुकुन्द यादव, फिर्दोस अन्सारी र कमल खत्रीले एक–एक विकेट लिए ।
२ सय ६६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको प्रदेश एकले २८ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै १ सय ४ रनमात्रै बनायो । उसका लागि मनिश थापाले ३६ र सन्नी पुनले २९ रन बनाए पनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रनको अङ्क जोड्न सकेनन् ।
बलिङतर्फ प्रदेश दुईका कुमार थापा एक्लैले सात विकेट र दिव्याङसु मल्लिकले दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *