भर्खरै :

खाडी क्षेत्रमा युद्ध सुरु भए तेलको मूल्य अत्यधिक बढ्ने इरानको चेतावनी

तेहरान, १९ जेठ । संरा अमेरिकाको युद्ध पिपासु नीतिका कारण खाडी क्षेत्रमा अर्को युद्ध सुरु भए तेलको मूल्य ठेग्नै नसकिने गरी अत्यधिक बढ्ने चेतावनी इरानले दिएको छ ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीका उच्च सल्लाहकार मेजर जनरल याह्या रहिम सफाभीले आइतबार बिहान सञ्चारकर्मीहरुसित कुराकानी गर्दै पर्सियाली खाडीमा युद्ध सुरु भए तेलको मूल्य अत्यधिक बढ्ने बताउनुभयो ।
जनरल सफाभीका अनुसार त्यस क्षेत्रका संरा अमेरिकी सेना आफूहरु इरानको मिसाइलको क्षेत्रभित्र आउने तथ्यमा पूर्ण जानकार छ र पर्सियाली खाडीमा रहेका सबै अमेरिकी र अरु विदेशी जलसेना इरानको रिभोल्युसनरी गार्डको जमिनबाट समुद्रमा हान्ने मिसाइलको सीमाभित्र पर्ने पनि थाहा छ ।
“पर्सियाली खाडीमा चल्ने पहिलो गोलीसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एकसय डलरले बढ्ने छ । जुन संरा अमेरिका, युरोपमात्र होइन जापान र दक्षिण कोरियाजस्ता अमेरिकी पक्षधरहरुलाई समेत थाम्न नसकिने हुन जानेछ ।” जनरसल सफाभीलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले लेखेको छ ।
इरान र संरा अमेरिका गत केही महिनादेखि प्रत्यक्ष भिडन्तको अवस्थामा पुगेका छन् । वासिङटन इरान र विश्व शक्तिहरुबीच भएको आणविक सम्झौताबाट फिर्ता भएपछि र तेहरानमाथि कैयौँ अन्तर्राष्ट्रिय प्रतिबन्ध पुनः थोपेपछि दुई देशबीचको सम्बन्ध तनावबाट गुज्रिरहेको छ ।
आणविक सम्झौताअनुसारको इरानको आवश्यकता पूरा नगरे इरानले पुनः आफ्नो आणविक कार्यक्रम सुरु गर्ने चेतावनी दिएको छ भने संरा अमेरिकी राष्ट्रपति ट्रम्पलगायत अधिकारीहरुले त्यसो गरे इरानले त्यसको मूल्य चुकाउनुपर्ने धम्की दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *