भर्खरै :

जनतालाई अपमान गर्दै र अतिदक्षिणपन्थीहरूलाई बढावा दिँदै ट्रम्पको बेलायत भ्रमण

लण्डन, ४ जुन (टेलिसुर) । बेलायतका जनताको अपमान गर्दै र त्यहाँका अति दक्षिणपन्थीहरूलाई बढावा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीनदिने भ्रमणमा छन् । भ्रमणका क्रममा ट्रम्पले बेलायतको कन्जरभेटिभ पार्टीका अति दक्षिणपन्थी नेता तथा ईयुबाट बेलायत बहिर्गमनका कडा पक्षधर बोरिस जोन्सन् नयाँ प्रधानमन्त्री हुनुपर्ने बोलेर बेलायतको सार्वभौमिकतामाथि हस्तक्षेप गरेका छन् ।
भ्रमणका लागि लन्डनमा पुग्नेबित्तिकै राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सादिक खानलाई ढुङ्गाजस्तो चिसो मान्छे( A Stone Cold Loser) भन्दै उनको नामको गलत स्पेलिङ्ग लेख्दै ट्विट गरेका थिए । बेलायतमा वर्तमान प्रधानमन्त्री टेरेजा मेले राजीनामा घोषणा गरिसकेको अवस्था र कन्जरभेटिभ पार्टीमात्र नयाँ नेता चयनको सरगर्मी भइरहेको बेला बोरिस जोन्सन नयाँ प्रधानमन्त्री हुनुपर्छ भनी अनर्गल बोलेका हुन् ।
ट्रम्पलाई विमानस्थलमा वर्तमान परराष्ट्रमन्त्री तथा प्रधानमन्त्री टेरेजा मेका एक अपेक्षित उत्तराधिकारी जेरेमी हन्टले स्वागत गरेका थिए ।
ट्रम्प र उनकी श्रीमती मेलेनियालाई बकिङ्घम राजप्रसादमा ९३ वर्षीया महारानी एलिजावेथ द्वितीयाले दर्शनभेट दिएका थिए ।
ट्रम्पले वर्तमान बेलायती प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिटको तौरतरिकाको निरन्तर आलोचना गर्दै घोषित अक्टोबर ३१ मै बेलायतले जुनसुकै शर्तमा पनि युरोपेली सङ्घ छोड्नुपर्ने भन्दै कडा ब्रेक्जिट पक्षधरहरूको समर्थन गर्दै आएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले निरन्तर बेलायतको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्ष दल लेबोर पार्टीले भने ट्रम्प भ्रमणका कार्यक्रम बहिष्कार गरेको छ ।
लेबोर पार्टीका नेता जेरेमी कर्बिनले बेलायतमा को प्रधानमन्त्री बन्ने, बनाउने निर्णय बेलायती संसद्ले गर्ने बताउँदै बेलायतको राजनीतिमा सामेल नहुन ट्रम्पलाई यसअघि नै सचेत गराएका थिए ।
विमानस्थलमै ट्रम्पले आफूलाई स्वागत गर्न आएका विदेशमन्त्री जेरेमी हन्ट र लण्डनका मेयर सादिक खानको बारेमा गुनासो गरेर ट्विट गरेका थिए । उनले हन्टसित लण्डनका मेयरका बारेमा अनापसनाप कुरा गरेका थिए ।
हन्टले पनि आफूसित ट्रम्पले लण्डनका मेयरका बारेमा नकारात्मक गुनासो गरेका र त्यो ट्विटमा आएजस्तै भएको बताएका थिए ।
त्यसबारेमा लण्डनका मेयर खानका प्रवक्ताले ‘ट्रम्पको केटाकेटीपन र अपमानपूर्ण व्यवहार संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिले गर्नै नसक्ने व्यवहार’ भएको बताए ।
पछि लण्डनका मेयर खान आफैले आफ्नो विचार पृष्ठमा ‘वर्तमान अमेरिकी राष्ट्रपति बीसौँ शताब्दीका फासीवादीहरूसित तुलनायोग्य व्यक्ति’ भएको बताए ।
“राष्ट्रपति डोनाल्ड ट्रम्प बढ्दो विश्वव्यापी खतराका सबभन्दा विभत्स उदाहरण हुन् । विश्वव्यापी रूपमा अति दक्षिणपन्थीहरू अगाडि आइरहेका छन्, तिनीहरूले हामीले ७० वर्ष अगाडि नै ठूलो सङ्घर्षबाट जितेका अधिकार र स्वतन्त्रताहरू तथा हाम्रो उदार प्रजातान्त्रिक समाजहरूले परिभाषित गरेका मूल्य मान्यताहरूमाथि खतरा
निम्त्याइरहेका छन् ।” खानले लेखेका छन् ।
उनले ट्रम्पलाई हङ्गेरीका भिक्टर अरबन, इटालीका माटिओ सालभिनी, फ्रान्सका मेरिनले पेन र बेलायतका निजले फारान्जेसित तुलना गरे । ती चारैजनाले बीसौँ शताब्दीमा आ–आफ्नो देशमा विभाजनकारी भूमिका खेलेर फासीवादी फौज तयार गरेका थिए ।
खानले ट्रम्पको विचारका लागि उनलाई बेलायतमा रातो कार्पेट ओछ्याउन नहुने थियो भनी लेखेका छन् ।
ट्रम्पको भ्रमणको विरोधमा लण्डनका विभिन्न भागमा विभिन्न गतिविधि भएका छन् । लण्डनको ट्राफाल्गर स्क्वायरमा ट्रम्पको केटाकेटीजस्तो प्रतिकृति बनाइ सुनको कमोदमा दिसा गर्न बसेको देखाएर व्यङ्ग्य प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *