भर्खरै :

अति विपन्न दलित समुदायको कार्यक्रम अलपत्र

लहान, २३ जेठ । सरकारले अति विपन्न दलित परिवारलाई लक्षित गरी सञ्चालन गरेको जनता आवास कार्यक्रम सिराहा र सप्तरीमा अलपत्र परेको छ ।
कार्यक्रम कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका कारण कार्यक्रम अलपत्र परेको हो । कार्यक्रम अलपत्र हुँदा नयाँ घर पाउने आसमा पुरानो घर भत्काएर बसेका सिरहा र सप्तरीका अति विपन्न दलित समुदाय समस्यामा परेका छन् ।
नयाँ घर पाउँछु भन्ने आशामा घर भत्काएको दुई वर्ष भइसक्यो, सिरहा मिर्चैया नगरपालिकाका स्थानीयवासी शङ्कर सदाले भन्नुभयो, “तर अझै घर बन्ने टुङ्गो भइसकेको छैन, जसका कारण यो वर्षको वर्षात्मा पनि पाल टाँगेरै दिन बिताउनुपर्ने अवस्था छ ।” जनता आवास कार्यक्रम सञ्चालन गर्ने सहरी विकास तथा भवन कार्यालय राजविराजमा सम्पर्क गर्दा अब केही दिनमा बन्छ भन्ने जवाफमात्रै पाइरहेको उहाँको गुनासो छ ।
अति विपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष २०६६÷६७ देखि सिरहा, सप्तरीलगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा स्वीकृत भएका १ हजार ६०० आवास सर्वेक्षणमै रोकिएको छ भने चालू आर्थिक वर्ष २०७५÷७६ मा पनि स्वीकृत भएका १ हजार ६०७ आवास भवन निर्माणकार्य अझै सुरु हुनसकेको छैन ।
अघिल्लो वर्षसम्म केन्द्र सरकारले सञ्चालन गर्दै आए पनि यस वर्षदेखि प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालन गर्ने निश्चित भएको छ । प्रदेश नं २ को सरकारले यस वर्ष आवास निर्माणकार्य सम्पन्न गर्न रु. ३० करोड विनियोजित गरी ५० प्रतिशत रकम सहरी विकास तथा भवन कार्यालय राजविराजलाई पठाइसकेको छ । तर, पनि सो कार्यालयले आर्थिक वर्ष सकिनलाग्दा लाभग्राहीको विवरणसम्म सङ्कलन गर्न सकेको छैन ।
आर्थिक वर्ष २०७३÷७४ मा कुल रु. ११ करोड ८७ लाख ९१ हजार विनियोजित बजेटमा सिरहा र सप्तरीमा एक÷एक हजार पक्की भवन एक वर्षभित्र निर्माण सम्पन्न हुनुपर्नेमा उक्त कार्य पूरा हुनसकेको छैन । केही घरमा डीपीसी, गारो, जग र छानासम्मै कार्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *