दैलेख, २३ जेठ । नेपाल मजदुर किसान पार्टी महाबुँ गाउँपालिकाको छैटौँ गाउँपालिका सम्मेलन काप्रीखोलामा भयो । कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवम् पार्टी जिल्ला समिति दैलेखका अध्यक्ष जग्यबहादुर शाहीले गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य शाहीले कामदार जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित पार्दै जनताको प्रजातन्त्र हँुदै समाजवाद र साम्यवादसम्म पुग्ने नेमकिपाको लक्ष्य पूरा गराउन पार्टी कार्यकर्ताहरू क्रियाशील हुनुपर्ने बताउनुभयो ।
“कामदार जनताको शासन समाजवादमा योग्यताअनुसार काम, कामअनुसार ज्यालाको बन्दोबस्त हुनेछ । सबैलाई रोजगारीको व्यवस्था, शिक्षा, स्वास्थ्य निःशुल्क र अनिवार्य हुनेछ ।” उहाँले भन्नुभयो ।
सरकारले भारतीय प्रभुको निर्देशनमा नेपाली जनतालाई अल्पमतमा पार्ने गरी विदेशीलाई सिनेमा हलको टिकट वितरण गरेजस्तै नागरिकता दिनु देशघाती भएको शाहीले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय समिति सदस्य बजिर सिंह विश्वकर्माले हरेक कार्यकर्ताहरूले अध्ययनलाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।
अहिले माओवादी र एमाले मिलेर बनेको नेकपा गठबन्धनको दुईतिहाइ सरकारले नेपाली जनताको हित गर्ने कुनै पनि काम नगरेको बरु हत्या हिंसा र बलत्कारका घटनाहरू दिन दुईगुना रात चौगुना बढिरहेका उहाँको भनाइ थियो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखका उपाध्यक्ष बमबहादुर सिहले असल पार्टीका कार्यकर्ता जनताका आँखाका नानी हुने र हरेक कार्यकर्ताले राजनीतिको संस्कार सिक्न जरुरी भएको बताउनुभयो ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका पूर्वकेन्दीय सदस्य उदयजङ्ग शाही, नेमकिपाका जिल्ला सचिव लक्ष्मीकुमार बिक, कानुन अध्ययन समाजका केन्द्रीय सदस्य शिवराज दाहाल, नेमकिपा महाबँु गाउँपालिका समितिका कोषाध्यक्ष झुमा थापामगर, दुर्गबहादुर थापामगर, टेकबहादुर सलामी, उजिर सिंह बुढालगायतले बोल्नुभएको थियो ।