ब्रासिलिया, २३ जेठ (एएफपी) । ब्राजिलका विश्व प्रसिद्ध फूटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फूटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो ।
ब्राजिली फूटबल महासङ्घले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकोले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ ।
एक साताभित्रै सुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेमार विश्वकै सर्वाधिक सफल एवं महँगा खेलाडीमध्येका एक हुन् ।
बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रङ्गशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए । उनी हाल फ्रान्सेली क्लव पेरिस सेन्ट जर्माइनबाट खेल्छन् ।
नौ दिनपछि कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभियाविरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन ।