काठमाडौँ, २४ जेठ (रासस) : गण्डकी प्रदेश सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेश एपीएफ क्लबलाई ३–१ सेटले हराउँदै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको चौँथो संस्करणको सेमिफाइनल खेलमा गण्डकीले एपीएफलाई २५–२३, २१–२५, २५–२३ र २९–२७ अङ्कले हराएको हो । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उप–विजेताले रु एक लाख ५० हजार तथा तेस्रो हुने टोलीले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ ।