भर्खरै :

झाडापखालाबाट सय जना बिरामी

चौतारा, २६ जेठ (रासस) : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बिञ्जेलमा झाडापखालाबाट १०० भन्दाबढी बिरामी भएका छन् । बिरामीको उपचारका लागि गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शिविरमा ७८ बिरामीको उपचार भइरहेको स्वास्थ्य शिक्षा अधिकारी सुनिल ढकालले जानकारी दिनुभयो । एक जनामा टाइफाइडको लक्षण देखिएको उहाँले बताउनुभयो । दूषित पानीका कारण झाडापखाला देखिएको उपचारमा संलग्न डा प्रतिक ज्ञवालीले जानकारी दिनुभयो । बिरामी टाउको दुख्ने, पेट दुख्ने र बान्ता आएर बेहोस हुने गरेका छन् । तीस जनाको स्थानीय मेडिकल तथा अन्यको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।
“तीन जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ”, डा ज्ञवालीले भन्नुभयो । गत बिहीबार छिमेकीको घरमा बिहेको भोज खाएर घर फर्केका उनीहरु शुक्रबारदेखि बिरामी परेका हुन् । गाउँमा झाडापखालाका बिरामी बढेपछि चौतारास्थित जिल्ला जनस्वास्थ्य कार्यालयबाट आज औषधिसहित डा ज्ञवाली र डा तपस्या भुसालसहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा गएको हो । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेबाट पनि चिकित्सकसहितको टोली गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *