भर्खरै :

सरकारी रोजगारी कार्यक्रम लत्याउँदै कोरियाली भाषा परीक्षामा ८४ हजार

काठमाडौँ, २६ जेठ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा अरबौँ रकमको खोला बगाइरहेको बेला सरकारी कार्यक्रमप्रति अविश्वास गर्दै लाखौँ युवा कोरियामा रोजगारीका लागि आकर्षित भएका छन् । कोरियामा रोजगारीको लागि जानपूर्व लिइने भाषा परीक्षामा ८४ हजार २१५ परीक्षार्थी सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखरामा शनिबार र आइतबार एकैसाथ सञ्चालन भएको परीक्षामा आठ हजार १४१ परीक्षार्थी अनुपस्थित भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
शनिबारको भाषा परीक्षार्थी ४६ हजार १९६ परीक्षार्थी सहभागी भएका थिए । दुई दिनको परीक्षामा अमर्यादित गतिविधि गर्ने १५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई सार्वजनिक अपराध ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाइ गरिएकोले विगतको तुलनामा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको निर्देशक खनालले जानकारी दिनुभयो ।
सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए । तीमध्ये २० जनाको आवेदन रद्द भएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुपालन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो ।
भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशन गरिने निर्देशक खनालले जानकारी दिनुभयो । भाषा परीक्षामा उत्तीर्ण हुने कामदारको मात्र सीप परीक्षण गरिनेछ । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ । कोरिया सरकारले ईपीएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *