भर्खरै :

लोकसेवा विज्ञापन सङ्घीयताविपरीत

काठमाडौँ, २९ जेठ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सामन्तवादी समाजमा उत्पादनका मुख्य – मुख्य साधनको स्वामित्व सामन्तहरूको हातमा हुने हुँदा बहुसङ्ख्यक किसान र मजदुर शोषित हुने भएकाले कम्युनिस्टहरूले सामन्तवादी व्यवस्था र दैवी सिद्धान्तको विरोध गर्ने बताउनुभयो ।
गुठी विधेयकबारे बोल्दै उहाँले गुठीगाना सञ्चालनको लागि सरकारले कर्मचारीलाई जस्तै तलब दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“मठको स्रोत र व्यवस्थापनको जिम्मा स्थानीय गाउँपालिका र नपालाई दिनुपर्छ । गुठी जग्गा जोत्ने किसानलाई मोही हकको सुनिश्चितता गर्नुपर्छ”, सांसद सुवालले भन्नुभयो ।
सर्लाहीको उत्तरी क्षेत्रमा इनार ट्युबवेल सुक्दै गएको, खोटाङमा खानेपानीको मुहान सुकेर हाहाकार भएको र काठमाडौँ उपत्यकाको सहरी क्षेत्रमा पनि १५ दिनको एक दिनमात्र पानी आएको चर्चा गर्दै देशको सन्तुलित विकास र खानेपानीको समस्या समाधानमा सरकारले ध्यान दिनुपर्छ, सांसद सुवालले भन्नुभयो ।
“सङ्घीयता कार्यान्वयनको लागि प्रशासनिक र वित्तीय स्वायत्तता र विकेन्द्रीकरण आवश्यक छ । गाउँपालिका र नपाको लागि लोकसेवा आयोगले गरेको विज्ञापन सङ्घीयताविपरीत भएकोले खारेज गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
काठमाडौँ उपत्यकाको सडकमा राष्ट्रिय गौरवको आयोजनाको नाउँमा दैनिक ४÷५ सय वटा टिपर चलिरहेकोले सडक जाम र प्रदूषण बढेको तर्फ सङ्केत गर्दै सांसद सुवालले उपत्यकामा टिपर सञ्चालनमा रोक लगाउन सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जिनियोजन विधेयक, २०७६ को छलफलमा भाग लिँदै सांसद सुवालले विभिन्न मन्त्रालयगत शीर्षकमा खर्च कटौतीको प्रस्ताव पेश गर्नुभयोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *