भर्खरै :

‘स्कूल बन्द गरेर बिहे भोज’ ठीक होइन

–सन्देश ख्याजू
गौशाला नगरपालिका – १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा २८ मंसिरको दिन भोज चल्योे । विद्यालयमा पढाइ बन्द गरियो । बुधबारको अन्नपूर्ण पोष्ट दैनिकमा एक प्रमुख समाचारको रूपमा छापियो । सङ्घीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोको भतिजाको विवाहको भोज थियो । पार्टीको नाममा ‘समाजवाद’ झुण्ड्याएर समाजलाई अपाच्य व्यवहार गर्नु लाजमर्दो कुरा हो । विद्यार्थीलाई शिक्षाबाट विमुख पार्ने जोकोही व्यक्ति समाजवादी हुनसक्दैन । सामूहिक श्रम, मेहेनत र सहयोगबाट सार्वजनिक स्थलहरू निर्माण गरिनुपर्दथ्यो ।
सो भोज र भोजस्थलको समर्थनमा विवाहको परिवारमात्र होइन, स्थानीय जनप्रतिनिधि, नेता, कार्यकर्ता, प्रहरी, प्रशासनलगायतका निम्तालुहरूले सहभागिता जनाए । यो नौलो कुरा होइन । धेरै वर्षदेखि नै स्थानीयले विद्यालयलाई भोजस्थल बनाएका रहेछन् । भोज आयोजना गर्नेलाई खर्च त कम भयो होला तर विद्यार्थीहरूको अध्यापन बिथोलियो ।
विद्यालय व्यवस्थापन समितिले बैठक बसेरै जग्गादातालाई विवाह र व्रतबन्ध भोज खुवाउन स्थान दिने निर्णय गरेको रहेछ । विद्यालयलाई जग्गा दान गर्नु राम्रो पक्ष हो । दाता धन्यवादका पात्र हुन् । तर, शिक्षा आर्जन गर्ने थलोलाई भोजको थलो बनाइँदा जाने सन्देशबारे जानकार नभएको बुझिन्छ ।
किताब–कापी राख्ने डेस्क र बेन्च भोजको जुठोले फोहोर भएको पत्रकारले देखे । विद्यार्थीले पनि त्यसको गन्धबाट पक्कै पनि भोज भएको रहेछ भन्ने अनुमान गर्लान् । अझ “भोलि भोज छ, तिमीहरूको भोलि पढाइ हुन्न ।”, शिक्षकले भनेकै होला भन्ने सहजै भन्न सकिन्छ ।
स्थानीय सरकार गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले पढाइ सकेरमात्र भोज हुने रिपोर्ट पाएको बताउन भ्याए । स्थानीय निकायले समाजलाई व्यवस्थित बनाउन आवश्यक पूर्वाधार निर्माणमा ध्यान नदिएको ज्वलन्त उदाहरण हो । खर्च पनि धेरै लाग्ने होइन । सङ्घीयता लागू हुँदा पनि पञ्चायतकालकै शैली प्रकट हुनु त्यस समाजको इज्जत हुनसक्दैन । व्यक्तिगत र पारिवारिक स्वार्थमा अल्झिने नेताहरूकै कारण समाजको विकास नभएको हो । जनताबाट उठेको करलाई जनतालाई आवश्यक व्यवस्था गर्न प्रयोग गर्नुपर्दछ । स्थानीय निकायले समाजलाई आवश्यक पर्ने मनोरञ्जन स्थल, शिशुस्याहार, आदर निकेतन, स्वास्थ्य केन्द्र/अस्पताल, उद्योग, विद्यालय आदि व्यवस्था गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *