भर्खरै :

ट्राफिकको फन्दामा पर्नु होला है !

–नारायण ढुङ्गाना
“हेलो ! राजकुमारजी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । ‘हजुर बोल्दै छु’, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, “तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।”
ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग हुनुभयो । कुनै सवारीलाई ठक्कर दिएको छैन । कुनै प्रहरीसँग सिफारिश छैन । कुनै ट्राफिकलाई चिनेको पनि छैन, तर एक्कासि भेट्न आउनुस् भनेर फोन आउँछ । उहाँ अचम्ममा पर्नुभयो । “आ होइन होला Û कसैले झुक्याउन फोन ग¥या होला”, राजकुमारको मनमा यस्तैयस्तै विभिन्न विचार खेल्न थाल्यो ।
विषय बुझ्ने उहाँको छटपटी रोकिएन । साथीभाइलाई फोन गरेर सोध्नुभयो । आफूलाई कल आएको नम्बरबारे चिनजानका प्रहरीलाई सोध्नुभयो । त्यसपछि बल्ल ट्राफिक प्रहरीबाटै फोन आएको उहाँलाई पक्का भयो । फोन चाहिँ किन आयो त ? बुझ्नका लागि काम छाडेर हस्याङ्फस्याङ गर्दै उहाँ महाशाखा पुग्नुभयो ।
अभिलेख हेरेर प्रहरीले भने, “ल तपाईंले लेन मिच्नुभएको छ ।” “मैले कसरी लेन मिच्नु, घरमा काम गरिरहेको मान्छे”, उहाँले प्रतिवाद गर्नुभयो । “एकैछिन पख्नुस् है”, सीसी टीभीको श्रव्यदृश्य खोल्दै खोजतलास तथा सीसीटिभी कारबाही शाखाका एकजना प्रहरीले भन्नुभयो ।
अघिल्लो दिन ठीक ६ बजेर १५ मिनेट १० सेकेण्डमा माइतीघरमा लेन मिचेको श्रव्यदृश्यबाट प्रस्ट देखियो । त्यसपछि उहाँ मलिन अनुहारमा रसिद लिएर ट्राफिक कक्षा लिनतिर लाग्नुभयो । यो प्रतिनिधि घटना हो । महाशाखामा अहिले दैनिक सयौँ यस्ता घटना आइरहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट पठाइएको अभिलेख केलाउँदैमा सीसीटीभी शाखाका प्रहरीलाई भ्याइनभ्याइ छ ।
शुक्रबार उक्त शाखामा यसैगरी बोलाइएका मानिसको भीड थियो । सामान हराएर खोजतलासका लागि आएकासमेत थपिँदा दुई प्रहरीलाई काममा दबाब परेको देखिन्थ्यो । जनशक्ति र प्रविधिको अभावका बीच नै प्रहरीले यसरी प्रविधिमार्फत ट्राफिक नियम उल्लङ्घनविरुद्ध कारबाही अभियान तीव्र पारेको छ ।
पहिले सडकमा बसेका ट्राफिकको आँखा छलेपछि कारबाहीबाट पार पाइन्थ्यो तर अब आँखा छल्दैमा सुख पाइँदैन । हरेक व्यक्तिको सडकमै अभिलेख रहने गरी अनुगमन भइरहेकोले काठमाडौँ उपत्यकाको मुख्य सडकमा प्रहरीको आँखा छलेर गरेको गल्तीमा कारबाही भोग्नुपर्नेछ । प्रहरीको आँखा छल्दैमा प्रविधिको आँखा छल्न कहाँ सकिन्छ ।
“होइन, गरेकै छैन” भन्दै धेरै आउँछन्, झगडा गर्छन्, तर क्यामराको फुटेज देखेपछि चुप लाग्छन्, नियन्त्रण कक्षका एक ट्राफिक प्रहरीले अनुभव सुनाउनुभयो । उपत्यकाको मुख्यमुख्य क्षेत्रमा ५१४ सीसी क्यामरा सञ्चालनमा छ । क्यामराको नियन्त्रक कक्ष महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा राखिएको छ । जडान गरिएकामध्ये १५१ सीसी क्यामरा ट्राफिक प्रहरी महाशाखाले नै हेर्नसक्छ ।
प्रहरीले त्यही सीसी क्यामराले खिचेको श्रव्यदृश्यबाट नियम मिच्ने सवारीको नम्बर लिएर यातायात व्यवस्था कार्यालयमार्फत गाडी धनीको विस्तृत विवरण लिन्छ । त्यसपछि प्रहरीले टेलिफोन गरी सम्बन्धित गाडी धनीलाई महाशाखामा बोलाउँछ । ‘तीन पटकसम्म उनीहरूलाई फोनमार्फत बोलाइन्छ, नआए पत्राचार गरिन्छ, त्यसपछि पनि नआए नियन्त्रणमा लिएर प्रमाणसहित कारबाही गर्छौं’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले भन्नुभयो । पछिल्लो तीन महिनादेखि यो क्रमलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । मानवीयरूपमा मात्रै ट्राफिक व्यवस्थापन चुस्त नहुने देखेर प्रविधियुक्त व्यवस्थापनमा प्रहरी लागेको छ ।
ब्रेथ एनालाइजरको प्रयोग गरेर मापसे नियन्त्रण अभियान जारी छ । गोब्रो क्यामरा, सर्भिलेन्स भेइकलका माध्यमबाट नम्बरप्लेटको आधारमा पहिचान गरी कारबाही गर्ने प्रक्रियासमेत चलिरहेको प्रमुख पन्तले बताउनुभयो ।
प्रहरीले फोन गरेर बोलाएकै आधारमा जेठ महिनामा १५० लाई कारबाही गरेको छ । सीसी क्यामराको आधारमा तत्कालै पिछा गर्दा स्थलगतरुपमै भेटेर कारबाही गरेको सङ्ख्या ८५६ रहेको छ । सर्भिलेन्स भेइकलमा प्रयोग गरेको सीसी क्यामराबाट ३९ कारबाही परेका छन् । चालू आर्थिक वर्षमा सीसी क्यामराबाट प्राप्त दृश्यको आधारमा ट्राफिक नियम उल्लङ्घन गर्ने कूल सात हजार १०६ कारबाही परिसकेका छन् ।
अहिले ट्राफिक प्रहरीले ओभरहेड ब्रिज बनाउन र सिग्नल बनाइदिन सडक विभागलाई लेखेर पठाएको छ । साँच्चै नै काठमाडौँमा ट्राफिक व्यवस्थापन गर्ने नै हो भने ठूला सवारी साधन भित्याएर सानालाई मुख्य सडकमा रोक्नुपर्ने प्रहरीको निष्कर्ष छ ।
नेपालमा प्रहरीको सङ्ख्या न्यून छ । हरेक ठाउँमा प्रहरीले निगरानी गर्नसक्दैन । त्यसैले प्रविधि प्रयोगमा प्रहरीले ध्यान केन्द्रित गरेको हो । जिल्लास्तरमा समेत सक्दो प्रविधिको प्रयोग गर्न सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अगाडि प्रहरी देखेमात्रै सतर्क हुने तर प्रहरी नदेखे लापरबाहीपूर्ण तरिकाले गाडी चलाउँदा हुने दुर्घटना रोक्न यो अभियान महत्वपूर्ण हुने प्राध्यापक नरेन्द्र ठगुन्नाको भनाइ छ । यस्ता कार्यक्रम प्रभावकारीरुपमा लैजानुपर्नेमा उहाँको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *