भर्खरै :

‘गुठी संस्थानका कर्मचारीसँगको मिलेमतोमा मठाधीशहरूले गुठी जग्गा बेचे’

काठमाडौँ, २ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सोमबार साँखुमा आयोजित एक कार्यक्रमबीच लावण्य सन्देश साप्ताहिकको नवौँ वार्षिकोत्सवको उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले लावण्य सन्देशमा कलम चलाउँदै आउनुभएका स्रष्टा एवम् सहयोगीहरूलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा उहाँले देशको निम्ति कलम चलाउनेहरूलाई जेलमा राखे पनि विचारलाई बन्द गर्न नसकिने विचार राख्नुभयो ।
पत्रकारिताले क्रान्तिको बाटो फराकिलो बनाउने चर्चा गर्दै उहाँले कार्ल माक्र्सले ‘राइनिसे जाइटुङ्ग’ पत्रिका चलाएर संसार बदल्ने दर्शन र सर्वहारा वर्गको पक्षमा लड्नुभएको, लेनिनले इस्क्रा (फिलिङ्गो) पत्रिका चलाएर क्रान्तिको पक्षमा काम गर्दा पाएको दुःख र हो चि मिन्हले पत्रकारका रूपमा अफ्रिकाको समाचार पेरिसमा पठाउँदा सामना गर्नुभएका अनेकन हण्डरबारे बताउँदै उहाँहरूले जनता र क्रान्तिको पक्षमा लेख्न छोड्नुभएन भन्नुभयो ।
बिजुक्छेँले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पालामा नेपाल मजदुर किसान पार्टीले काठमाडौँ उपत्यकालाई सांस्कृतिक सहर घोषणा गराउन प्रस्ताव लगेर उपत्यकाको सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्य राख्दा सामन्तहरूले विरोध गरेको चर्चा गंर्दै आफ्नो सम्पदा, संस्कृति जोगाउन जनता आफै जाग्नुपर्ने बताउनुभयो । उहाँले गुठीका महन्त, मठाधीशहरूले गुठी संस्थानका कर्मचारीहरूसँग मिलेर मठको सम्पत्ति बेचेर बेइमानी गरिरहेको हुँदा गुठी सञ्चालनको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष रोहितले बहुमत जनता किसानहरू भएको ठाउँमा उनीहरूको जीवनस्तर नउठेसम्म देशको स्तर पनि नउठ्ने भएकोले किसानलाई मोहियानी हकबाट वञ्चित गर्न नहुने बताउनुभयो । किसानहरूको जीवनस्तर उकास्न नेमकिपाले भक्तपुरमा रात्री कक्षाहरू सञ्चालन गरेको स्मरण गर्दै उहाँले जमिन जोत्ने किसानका छोराछारीलाई राम्रो शिक्षा दिन सरकारले ध्यान दिन उत्तिकै जरूरी रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कीर्तिपुरबाट प्रकाशित हुने ‘सहिद’ साप्ताहिकका सम्पादक नारायण महर्जनले शासक दलहरू व्यापारको राजनीतिबाट प्रेरित रहेको चर्चा गर्दै यो देशको राजनीति राम्रो बनाउन पत्रकारले भूमिका निर्वाह गर्न जरूरी रहेको बताउनुभयो ।
उहाँले सरकारद्वारा प्रेसमाथि अङ्कुश लगाउन खोज्नु गलत भएकोले यसको सर्वत्र विरोध भइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति इ. राजदास श्रेष्ठले आफू सोभियत सङ्घमा बस्दा बच्चा पढाउँदा एक पैसा पनि खर्च नभएको चर्चा गंर्दै नेपालमा पनि त्यस्तै किसिमको समाजवाद आवश्यक रहेको बताउनुभयो ।
टोखाका राजवीर डंगोलले विश्वमा भएका जनपक्षीय आन्दोलनहरूबारे राम्रो अध्ययन गरेर नेपालमा परिवर्तनको लागि भूमिका निर्वाह गर्न लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वसभासद् दीपकप्रसाद कुइँकेल, राससका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल प्रेस युनियनका मुरारीकुमार शर्मा, गोविन्दप्रसाद श्रेष्ठ, कुमार रञ्जित, एलपी श्रेष्ठ, महेन्द्र श्रेष्ठ, उपेन्द्र कार्की, प्रमोद सिम्खडा, राधाकृष्ण श्रेष्ठ, माधव श्रेष्ठ, रमेश नापित, राजुभाइ मानन्धर, मृगेन्द्रकाजी श्रेष्ठ र लावण्य सन्देशका प्रकाशक पवनलाल श्रेष्ठलगायतले कार्यक्रममा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *