भर्खरै :

पेट्रोलियम पाइपलाइन ओछयाउने काम सम्पन्नः अब सञ्चालन हुने

– वीरेन्द्र कर्ण
वीरगञ्ज, २ असार । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछयाउने काम पूर्णरूपमा सम्पन्न भएको छ ।
नेपालको लाइफलाइनका रूपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दसमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछयाउने काम पूर्णरूपमा सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको छ ।
दक्षिण एशियाको पहिलो क्रसबोर्डरका रूपमा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत जमीनमुनि पाइप ओछयाउने काम सम्पन्न भई हाइड्रो टेष्ट, पाइप बेल्डिङ गरेर जोडिएका पाइपको रेडियोग्राफी, पाइप जोडिएको बिन्दुमा एक्स–रे, स्क्यान प्लाष्ट गरेर पाइपमा रहेका खिया हटाएर चिल्लो स्टील बनाउने कार्य सुरु भएको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इन्जिनियर शरद पौडेलले राससलाई बताउनुभयो ।
पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनःवृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मका लागि १ लाख ४७ हजार २ सय वटा नयाँ रुख रोपन रु. १ करोड ३९ लाख ६७ हजार ५२ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो ।
भारततर्फको मोतीहारीदेखि रक्सौलसम्मको ३२ दसमलव ६५ किलोमिटरसम्म करीब १ महिना पहिले जमीनमुनि पाइप ओछयाउने काम सम्पन्न भइसकेको छ भने नेपालतर्फ पनि रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३७ दसमलव २५ किलोमिटरको भू–भागमा पाइप ओछयाउने कामसमेत सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *