ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
– विमलबहादुर विष्ट
डोटी, ३ असार । सुदूरपश्चिम प्रदेशको डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा मनपरी सडक काटिँदा पहिरोको जोखिम बढेको छ । गाउँगाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षणविनै खनिएका सडकले यहाँका पहाडी जिल्लामा पहिरोको जोखिम निम्त्याउन थालेको स्थानीयवासीको आरोप छ ।
यस्ता सडकका आसपासका बस्तीमा पहिरोको जोखिम बढेको स्थानीयवासी बताउँछन् । लाखाँै रकम खर्चेर निर्माण गरिएका ग्रामीण सडक वर्षात्को समय पानीले चिराचिरा हुनुका साथै आसपासका बस्तीसमेत विस्थापनको खतरामा परेको डाक्टर केआईसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीय तथा सवओभरसियर सुरेन्द्रविक्रम शाहीले बताउनुभयो । “जथाभावी डोजर प्रयोग गरेर विनाअध्ययन र मापदण्डमा सडक खनिएका छन्, सडक खन्दा डोजरले जमीन नै हल्लाएको छ” उहाँले भन्नुभयो, “सानो पानी पर्दासमेत पहिरो आउने तथा सडक बगाएर चिराचिरा हुने गरेको छ ।”
स्थानीयवासीका अनुसार डोटीलगायत यहाँका पहाडी जिल्लामा निर्माण भएका दर्जनौँ ग्रामीण सडक डोजर सञ्चालकको डिजाइन र नक्साङ्कनले निर्माण हुन थालेका छन् । सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुग्यो तर सुविधासँगै काल र जोखिम पनि बढाएको छ । उहाँले भन्नुभयो, “सडक निर्माण गर्दा मापदण्ड अपनाउनै पर्छ, विनामापदण्डका सडक खारेज हुनुपर्छ ।”
विगतमा जिल्ला विकास समिति तथा गाउँ विकास समितिको बजेटले डोटीमा निर्माण गरिएका सडकको सर्वेक्षण जिल्ला विकासका प्राविधिकले आफूबाहेक अन्य कार्यालयका प्राविधिकलाई निरीक्षण तथा सर्भे गर्न नदिँदा समस्या भएको स्थानीयवासी दीपक रोकायाको आरोप छ ।
उहाँका अनुसार यहाँका ग्रामीण सडक निर्माण गरिएका डोटीका कपल्लेकी, लडागडा, दुर्गामाडाँै, रानागाउँ, जिजोडामाडौँ, तिखातर, जोरायललगायतका क्षेत्रमा रहेका बस्ती पहिरोको उच्च जोखिममा छन् । यी क्षेत्रका सडक बस्तीमाथि तथा तलबाट खनिएकोले पहिरोकोे उच्च जोखिम बढेको छ । प्राविधिक र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको जोरायल गाउँपालिका–३ का स्थानीय हेमप्रकाश मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “जसरी पनि सडक पु¥याउनुपर्छ भन्ने होडबाजीले काटिने सडक अब बन्द गरिनुपर्छ ।”
यहाँका राजनीतिक दल तथा विभिन्न जनप्रतिनिधिले चुनावको समयमा गाउँगाउँमा सडक पु¥याउने वाचा गरेका कारण अहिले जिल्लामा धमाधम जथाभावी तथा विनानापनक्साका सडक काटिन थालेका छन् । यतिमात्र नभई कतिपय ठाउँहरूमा जङ्गलको बाटो हुँदै सडक काटिन थालेका छन् । ठेकेदारले जङ्गलको सडक काट्दा रुख ढल्ने र पछि उक्त रुखलाई आफैले बेचबिखन गर्ने योजनामा जङ्गल र रुख भएका ठाउँमा सडक लैजान थालेको स्थानीयवासीको आरोप छ । यहाँका काटिन थालेका सडकको बारेमा अहिलेसम्म कसैले अनुगमन गरेको पाइँदैन । डोजर सञ्चालकको सनक तथा ठेकेदारको इसाराका भरमा जिल्लाका ग्रामीण क्षेत्रमा धमाधम सडक काटिन थालेका छन् ।
Leave a Reply