भर्खरै :

बोल्दा बोल्दै कठघरामै मोर्सीको निधन

कायरो, १८ जुन । इजिप्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीको सोमबार अदालतमै निधन भएको छ । अदालतमा उहाँमाथि लागेको देशद्रोहसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइको क्रममा अचानक बेहोस भएर मोर्सीको निधन भएको त्यहाँको सञ्चारमाध्यमले जनाएको हो ।
“पूर्वराष्ट्रपतिले बोल्न समय माग्नुभयो र न्यायाधीशले अनुमति दिनुभयो”, इजिप्टको सरकारनियन्त्रित टेलिभिजनले भन्यो ।
त्यहीबीच उहाँ बेहोस हुनुभयो र उहाँलाई अस्पताल लगिएको थियो । स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार पूर्व राष्ट्रपतिलाई हृदयघात भएको थियो ।
कायरोस्थित फौजदारी अदालतमा मोर्सीलगायत २२ जना उहाँका सहयोगीविरुद्ध अदालती सुनुवाइमा हाजिर गरिएको थियो ।
अदालतका अधिकारी नाब्दिल सादेकले जारी गरेको वक्तव्यमा मोर्सी अदालतको कठघराबाट पाँच मिनेट जति बोलिसकेपछि बेहोस हुनुभएको र अस्पतालमा स्थानीय समयअनुसार अपराह्न ४ः५० मा निधन भएको थियो । मोर्सीको प्रारम्भिक स्वास्थ्य परीक्षणले उहाँमा कुनै धड्कन नभएको, श्वासप्रश्वास बन्द भएको, आँखा खुला तर प्रकाशप्रति कुनै प्रतिक्रिया नजनाएको वक्तव्यमा उल्लेख छ । उहाँको शरीरमा कुनै प्रकारको घाउ चोटपटक देखिएको छैन ।
६७ वर्षका मोर्सी सन् २०१२ मा राष्ट्रपति हुनुभएको थियो । सन् २०१३ मा मोर्सीको शासनविरुद्ध ठूलो आन्दोलनपश्चात सेनाले उहाँलाई अपदस्थ गरेको थियो ।
त्यसपछि मोर्सी र उहाँको मुस्लिम ब्रडरहुड पार्टीका नेताहरूलाई हत्या, हिंसा र गुप्तचरीको अभियोगमा जेल सजाय दिइएको थियो ।
सन् २०१२ को अन्तिमतिर आफ्ना समर्थक र विरोधीको हिंसात्मक भिडन्त भड्काएको आरोपमा उहाँले २० वर्ष जेल सजाय भोगिरहनुभएको थियो । साथै कतारको गोप्य दस्तावेज खुलासा गरेको अभियोगमा उहाँलाई २५ वर्षको जेल सजाय भएको थयो । उहाँले आफूमाथिका सबै आरोप अस्वीकार गर्दै आउनुभएको थियो ।
इजिप्ट सरकारले मुस्लिम ब्रडरहुडलाई सन् २०१४ देखि गैरकानुनी घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *