ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
बाजुरा, ४ असार । खानेपानीको माग गर्दै स्थानीयवासीले बडिमालिका नगरपालिकाको कार्यालयमा बुधबार दिउँसो ताला लगाएको छ ।
धारामा पानी नआएको करीब एक महिना बित्न लाग्दा पनि नगरपालिका र मार्तडी बृहत् खानेपानी उपभोक्ता समितिले बेवास्ता गर्दा खानेपानीको अभाव भएपछि उनीहरूले ताला लगाएका हुन् ।
हातमा रित्तो भाँडा लिएर नारा जुलुस प्रदर्शन गर्दै उनीहरूले जिल्ला सदरमुकाम मार्तडीस्थित नगरपालिकाको कार्यालयमा ताला लगाएको दुनीहाट बजार व्यवस्थापन समितिका सचिव मदन रोकायाले बताउनुभयो ।
धारामा खानेपानी नआएको महिना दिन बित्न लाग्दा पनि सम्बन्धित निकाय मौन बसेपछि रित्तो भाँडा लिएर नारा जुलुससहित नगरपालिकामा ताला लगाउन बाध्य भएको रोकायाको भनाइ छ ।
मासिकरूपमा खानेपानीको महसुल तिर्ने गरेको भए पनि समयमै धारामा खानेपानी नआउँदा स्थानीय, व्यापारी र होटल व्यवसायी आन्दोलित भएका हुन् । मार्तडी बजारमा बस्दै आएका होटल व्यवसायी, व्यापारी, स्थानीय, निजी तथा सरकारी विद्यालयमा खानेपानी नआउँदा समस्या भएको छ ।
खानेपानी उपभोक्ता समितिको चरम लापरबाहीको कारण खानेपानीको अभाव देखिएको आरोप उनीहरूको छ । खानेपानीका पाइपलाइन सडक निर्माणको क्रममा स्काभेटरले छेदविच्छेद बनाएपछि सदरमुकाममा खानेपानीको अभाव भएको हो ।
बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले दोषीलाई कारबाही गर्ने र खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई तत्काल सहजरूपमा खानेपानीको आपूर्ति व्यवस्था मिलाउने बारेमा पहल गर्ने बताउनुभयो ।
मार्तडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष खडकबहादुर रावलले मार्तडी–बडिमालिका पर्यटन मार्गको सडक निर्माण भइरहेकाले सडक निर्माणका क्रममा डोजरले पाइप काटेपछि खानेपानी नआएको उल्लेख गर्दै खानेपानीको सहज व्यवस्थापनका लागि कार्य भइरहेको बताउनुभयो ।
Leave a Reply