भर्खरै :

संशोधित कार्यक्रम र योजनाअनुसार पुनःनिर्माण

पूर्णप्रसाद मिश्र
काठमाडौँ, ५ असार (रासस) ः विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको आजको बैठकमा दातृ निकाय तथा विकास साझेदार संस्थाले संशोधित कार्यक्रम र वित्तीय योजनाअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । प्राधिकरणले पेश गरेको नेपालको पुनःनिर्माण र पुनःस्थापनामा रु छ खर्ब ३० अर्ब लाग्ने संशोधित अनुमान र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रतिबद्धता सो अवसरमा व्यक्त भएको हो ।
विसं २०७३ वैशाखमा तयार पारिएको विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनाले भूकम्पपछिको पुनःनिर्माणमा रु नौ खर्ब ३८ अर्ब लाग्ने आँकलन गरेको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बजेटको सीमालाई ध्यान दिएर खानेपानी, सडक, पुललगायत सरकारले नियमित गर्ने काम र गैरसरकारी संस्थाबाट हुने पुनःनिर्माणको बजेट कटाई प्राधिकरणमार्फत गरिने काम मात्र समावेश गर्दा उक्त संशोधित बजेट तयार भएको जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको अन्त्यसम्म रु दुई खर्ब ९१ अर्ब पुनःनिर्माणमा खर्च हुने अनुमान छ । आगामी आवका लागि रु एक खर्ब ४१ अर्ब विनियोजन गरिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माण तथा पुनःस्थापनामा ‘फाइनान्सियल ग्याप’ रहेको उल्लेख गर्नुहुँदै थप स्रोत जुटाउन अर्थ मन्त्रालय र दातृ निकायसँग परामर्श जारी रहेको बताउनुभयो ।
बैठकमा प्राधिकरणले पुनःनिर्माण र विपद् व्यवस्थापनको स्थानीयकरण, सामाजिक आर्थिक तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन, परम्परागत सम्पदा बस्ती तथा शहरी क्षेत्रको पुनःनिर्माण एवं अभिलेखीकरणमा थप सहयोग गर्न दातृ निकायलाई आग्रह गरेको थियो ।
सुरक्षित नेपाल निर्माणका लागि राष्ट्रिय भवन आचार संहितालाई संशोधन गर्दै स्थानीय तहसम्म लागू गर्नुपर्नेमा बैठकले जोड दिएको छ । नेपालले पुनःनिर्माण तथा पुनःस्थापनामा प्राप्त गरेको उपलब्धि, अनुभव र सिकाइलाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन आगामी वर्ष पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ ।
‘‘दातृ निकाय समेतको सहयोगमा अन्तर्राष्ट्रिय क्षेत्रमा नमूना योग्य काम भएका छन्, ती कार्यलाई स्थापित गर्न र सिकाइ आदानप्रदानका लागि सम्मेलन गर्न लागिएको हो, वित्तीय स्रोत जुटाउन सम्मेलन गर्न लागिएको होइन’’, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *