भर्खरै :

मनसुन सुरुः देशभर फैलिन केही दिन लाग्ने

काठमाडौं, ५ असार : नेपालमा आजदेखि मनसुन सुरु भएको छ । मुलुकको पूर्वी भागबाट सुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा प्रवेश गर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो भएको महाशाखाले जनाएको छ ।
साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षको करीब ८० प्रतिशत वर्ष हुने गर्छ । साउथ एशियन क्लाइमेट आउटलुक फोरम १४ मा आकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्ष नेपालका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने अनुमान महाशाखाको छ ।
सामान्यतया सरदर वर्ष भन्नाले स्थानविशेषको लामो समय (करीब ३० वर्ष) को औसत वर्षलाई बुझिन्छ । सरदर वर्षको ९० देखि ११० प्रतिशतसम्म वर्षलाई सामान्य वर्ष मानिन्छ भने सोभन्दा कम र बढी वर्ष भएमा क्रमशः न्यून वा अधिकतम वर्ष भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *