भर्खरै :

महानिर्देशक र जि.स.स. भक्तपुर प्रमुख घर जोगाउन सडक मापदण्ड घटाइयो

भक्तपुर, ५ असार । चाँगुनारायण नगरपालिकाले वडा नम्बर ३ झौखेलका दुईजना वरिष्ठ व्यक्तिको घर जोगाउन सडकको मापदण्ड घटाएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर मणिराम गेलाल र जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको घर जोगाउन नपाले सडकको मापदण्ड एक मिटर घटाएको हो । भक्तपुरको सल्लाघारी दुवाकोट–गेलाल गाउँनारायणटार–चाँगुनारायण साङदह सडकको मापदण्ड केन्द्रबाट दायाँबायाँ ७÷७ मिटरको छ । तर चाँगुनारायण नपाको दोस्रो नगरसभाले उक्त सडकमध्ये वडा नम्बर ३ झौखेल खण्डमात्रै ६÷६ मिटर कायम गरेको हो ।
संयोगले उक्त मापदण्ड सिफारिस गर्ने पनि वडा नं ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमाल रहेका छन् । उनी चाँगुनारायण नपाको भौतिक विकास समितिका संयोजकसमेत हुन् ।
उक्त समितिमा उक्त सडकको मापदण्ड घटाउन प्रस्ताव गर्दा नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्षहरूले विरोध गरेका थिए । तर वडा अध्यक्ष धिमालले गेलाल गाउँ ऐतिहासिक एवं पुरातात्विक क्षेत्र भएकोले सडक मापदण्ड घटाइएको जिकिर गरेको वडा नं २ का अध्यक्ष शिवहरि केसीले जानकारी दिए ।
उनले एउटै सडकको केही खण्डमा मात्रै मापदण्ड घटाउँदा बाँकी खण्डका सर्वसाधारणलाई मर्का पर्ने भन्दाभन्दै बहुमतको बलमा उक्त मापदण्ड घटाइएको सुनाए ।
“मापदण्ड घटाउने भए सिङ्गो सडकको घटाउनुपर्छ । एउटा खण्डको मात्रै घटाउँदा राम्रो हुँदैन भनेर विरोध गर्दा गर्दै बहुमतले पेलेर निर्णय गरियो”, वडा अध्यक्ष केसीले भने । यो गलत भयो । आफ्ना केही मान्छेको घर जोगाएर बाँकी नगरवासीलाई मार्न भएन ।
उक्त सडक साविक चार गाविस दुवाकोट, झौखेल, चाँगुनारायण र छालिङ गाभेर चाँगुनारायण नगरपालिका बनाउँदा नगरको मुख्य सडक थियो । त्यस्तै यो भक्तपुर चक्रपथको सडक खण्डसमेत हो ।
यस्तो महत्वपूर्ण सडकमा नपाले वडापिच्छे मापदण्ड फरक बनाइएपछि अहिले चाँगुनारायण नगरवासी आक्रोशित भएका छन् । उनीहरूले आफ्ना नेताको घर बचाउन एउटामात्रै वडामा मापदण्ड घटाउनु दुर्भाग्य भएको बताएका छन् ।
केन्द्रबाट दायाँबायाँ ७÷७ मिटर मापदण्ड रहेको सडकको झौखेल न्यौपाने गाउँबाट गेलाल गाउँ हुँदै खहरे खण्ड ६÷६ मिटरमा झारिएको छ । जुन सडक खण्डको गेलाल गाउँमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर मणिराम गेलाल र जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको घर रहेका छन् ।
मापदण्ड नघटाइए सडक विस्तार गर्दा महानिर्देशक गेलाल र जिसस प्रमुख गेलालको घर प्रभावित हुन्छ । सडक मापदण्डअनुसार जिसस प्रमुख गेलालको आँगन नै सडकमा पर्न आउँछ भने महानिर्देशक गेलालको घर ।
हाल काठमाडौँ उपत्यका विकास प्राधिकरणले उक्त सडक फराकिलो तथा विस्तार गर्ने कार्य गरिरहेको छ । जसअनुसार जिसस प्रमुख गेलालको आँगन जोगाएर ६ मिटरमा ग्याविन पर्खाल बनाइरहेको छ ।
यसरी सडक विस्तार गर्ने क्रममा सडकको केन्द्रबाट ६ मिटरमात्रै छाडेर ग्याबिन पर्खाल उठाएपछि मात्रै स्थानीयले मापदण्ड घटाइएको सुइको पाएका हुन् ।
“आफ्ना मान्छेको घर जोगाउन जनप्रतिनिधिले सडकको एक खण्डको मात्रै मापदण्ड घटाए”, एक स्थानीयले भने । जो अगुवा उहीं बाटोमा हगुवा भनेको यहीं हो । उनले एउटै सडकको एउटा वडामा मात्रै ६ मिटर र अरु वडामा ७ मिटर कसरी हुन्छ भनी प्रश्न गरे ।
उक्त सडकको वडा नम्बर १ र २ दुवाकोट तथा ४ चाँगुनारायणका धेरै ठाउँमा ७÷७ मिटर मापदण्ड राखेर दायाँबायाँ ग्याविन पर्खाल यसअघि नै बनाइसकेको छ । त्यस्तै धेरै ठाउँमा मापदण्डमा परेको भनी सर्वसाधारणले पुराना घर भत्काइसकेको वडा नम्बर २ का सदस्य उद्धव खड्काले जानकारी दिए ।
“नयाँ घर बनाउनेले ७÷७ मिटरको मापदण्ड छाडेका छन्”, उनले भने । तर वडा नं. ३ मा भने ६÷६ मिटरमात्रै मापदण्ड हुँदा अन्य वडावासीलाई अन्याय भएन र ?”
स्थानीयले उक्त सडकको मापदण्ड घटाइएको विषयमा नगर प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख वीणा बास्तोलालाई ध्यानाकर्षण गराइसकेका छन् ।
चाँगुनारायण नपाको दोस्रो नगरसभाले उक्त सडकको न्यौपाने गाउँस्थित चापाको बोटदेखि गेलाल गाउँ हुँदै खहरेसम्मको मापदण्डलाई सडकको केन्द्रबाट दायाँबायाँ ६÷६ मिटरको मापदण्ड कायम गर्ने निर्णय गरेको थियो । उक्त सडक चाँगुनारायण नपाको वडा २ बाट सुरु भई १, ३ र ४ साङदहमा टुङ्गिन्छ । तर नगरसभाले वडा ३ मा पर्ने सडकको मात्रै मापदण्ड घटाइएपछि अन्य वडाका नगरवासी आक्रोशित भएका हुन् ।
नपाकै नियमानुसार पर्खालः गेलाल
यता जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलालले चाँगुनारायण नपाको निर्णयानुसार नै आफ्नो घर अगाडिको सडकको ६/६ मिटर मापदण्डमा ग्याविन पर्खाल लगाएको सुनाए ।
उनले आफूहरूको राजनीतिक चरित्र हत्या गर्ने तथा अप्ठ्यारो बनाउनेहरूले मात्रै अनर्गल प्रचार गरेको जिकिर गरे । “नगरसभाले पारित गरेको निर्णय बाहिर हामी गएका छैन”, प्रमुख गेलालले भने । त्यहीं निर्णयलाई हामीले कार्यान्वयन गरेका हौँ ।
उनले सातै मिटर मापदण्ड भए पनि आफ्नो घर भने भत्काउन नपर्ने सुनाए । तर उनीसँगै घर भएका महानिर्देशक गेलालको भने घर भत्काउनुपर्ने र भत्काउन आफू तयार भएको बताइसकेको प्रमुख गेलालले जानकारी दिए ।
उनले गेलाल गाउँ पुग्ने अरु सडक कुनै चार मिटर, कुनै पाँच मिटर र कुनै ६ मिटर हुँदा हुने अनि न्यौपाने गाउँबाट आउने चै किन सात मिटर चाहिएको भनी प्रश्न गरे । प्रमुख गेलालले आफूहरूको बस्ती ऐतिहासिक भएको दाबी गरे ।
प्रिन्ट मिस्टेक भयोः नगर प्रमुख
चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्रले भने उक्त सडकको मापदण्ड नघटाइएको स्पष्टीकरण दिएका छन् । उनले निर्णय पुस्तिकामा प्रिन्ट मिस्टेक भएको दाबी गरे ।
“नगरपालिकाले मापदण्ड घटाएको छैन । निर्णय प्रकाशित हुँदा प्रिन्ट मिस्टेक भएको हो”, नगर प्रमुख मिश्रले भने । हामीकहाँ नक्सापास गर्न आउँदा नियमानुसार मापदण्ड छोडाउँछौँ ।
उनले सडकको ६/६ मिटर मापदण्डमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले ग्याविन पर्खाल उठाए पनि मापदण्ड भने ७/७ मिटर नै रहेको दोहोर्याए । “भविष्यमा बाटो विस्तार गर्दा कसैको घर तथा भवन भत्काउन नपरोस् भनेर मापदण्ड निर्धारण गरिएको हो”, प्रमुख मिश्रले थपे । सोही मापदण्डअनुसार नगरपालिका दायाँबायाँ हुँदैन । उनले कसैलाई जोगाउन नपाले सडकको मापदण्ड नघटाउनेसमेत जिकिर गरे ।
स्रोत ः अन्नपूर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *