भर्खरै :

‘भेनेजुयलाः हिजो र आज’ बारे अन्तरक्रिया

भक्तपुर, ६ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भेनेजुयला सरकारले आफ्नो देशमा संरा अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूलाई मनपरी गर्न नदिएको र उत्पादनका मुख्य मुख्य साधनहरू राष्ट्रियकरण गरेको हुनाले नै अमेरिकी साम्राज्यवादले भेनेजुयलामा हस्तक्षेप र आक्रमणको प्रयास गरेको बताउनुभएको छ ।
बाल विकास सेकेन्डरी स्कूलमा शुक्रबार ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकबारे शिक्षक–शिक्षिकाहरूमाझ आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले भेनेजुयलाको सत्ता सङ्घर्ष वर्गसङ्घर्ष र विश्व राजनीतिक प्रणालीमा विद्यमान द्वन्द्वको प्रतिरूप पनि भएको प्रस्ट पार्नुभयो ।
भूमिसुधार लागू भएपछि मोही किसानको मात्र नभई पसले, शिल्पकर्मी, भोजनालय व्यवसायीलगायत समग्र जनताकै आर्थिक उन्नति भएको अनुभव सुनाउँदै उहाँले बहुमत किसान रहेको देशमा किसानको आर्थिक उन्नति नभई देशको आर्थिक उन्नति सम्भव हुँदैन भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले रैकर, बिर्तालगायत जग्गामा मोही किसानले मोहियानी हक पाएजस्तै समानताको सिद्धान्तको आधारमा गुठी जग्गामा पनि किसानले मोहियानी हक पाउनुपर्छ भन्नुभयो ।
किसानले मोहियानी हक पाउँदैमा र गुठी जग्गा रैतानी हुँदैमा गुठीको संस्कृति मासिने तर्क सही नभएको बताउँदै उहाँले गुठी, जात्रा र मठ–मन्दिर संरक्षणको जिम्मा स्थानीय तहका सरकारहरूलाई दिनुपर्छ भन्नुभयो ।
ओली सरकारले राजनीतिक दल र जानकारहरूमाझ छलफल नगरी विधेयक तयार गरी संसद्मा सोझै प्रस्तुत गरेको हुनाले विवाद र समस्या आइरहेको बताउँदै विधेयक छलफलका लागि गोरखापत्रलगायत अखबारहरूमा छाप्ने बन्दोबस्त आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार समाजका सदस्य प्रकाश थुसाले अमेरिकी साम्राज्यवाद र पश्चिमा सञ्चारमाध्यम मिलेर भेनेजुयाली सरकार र जनताविरूद्ध झूटो प्रचार युद्ध गरेको बताउनुभयो ।
संरा अमेरिका र पिछलग्गू देशहरूले भेनेजुयलाविरूद्ध गैरपरम्परागत युद्ध गरी त्यहाँ उपद्रोह गर्न लगाएको, त्यहाँको अर्थतन्त्र र जनजीवन नै ध्वस्त पारेको बताउँदै उहाँले भेनेजुयलाको समाजवादी सरकार र बोलिभारियाली क्रान्ति नै आक्रमणको तारो भएको बताउनुभयो ।
आदर्श र सिद्धान्त बोकेको सरकार र जनता ठूलो साम्राज्यवादी शक्तिसामु नझुक्ने उदाहरण भेनेजुयलाले प्रस्तुत गरिरहेको बताउँदै उहाँले भेनेजुयलाविरूद्ध पश्चिमाहरूको हमला ल्याटिन अमेरिकाका वामपन्थी आन्दोलनहरूमाथिको हमलाको सिलसिला भएको बताउनुभयो ।
कार्यक्रममा स्कूलका व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापति, शिक्षकशिक्षिकाहरू – सीता प्रजापति, शड्ढर आचार्य, सुलोचना छ्वाजू, सूर्यबहादुर पञ्चलगायतले बोल्नुभयो भने पुणेन्द्रप्रसाद कुसी, गङ्गा वैद्य, मनिषा श्रेष्ठ, सृजना प्रजापति, पुनम लागे, सुशीला सुकमनी, रमिता प्रजापति, विना कर्माचार्य, जीना लाकौल, अनु सितिखू, सृष्टि प्रधान र चण्डेश्वरी खुसूले भेनेजुयलाको इतिहास, भूगोल, आर्थिक–सामाजिक स्थिति, बोलिभारियाली क्रान्ति, भेनेजुयलामा अमेरिकी हस्तक्षेपलगायत विषयहरूमा आ–आफ्ना अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *