भर्खरै :

फातसुङ’ अर्थात् माटोको कथा

नीरज
नेपाली भाषामा लेख्ने भारतीय लेखकहरूको नेपालसँगको सम्बन्ध सेतू पछिल्लो सम्बन्ध अझ बलियो बन्दै गएको छ । पञ्चायतकालमा भारतको दार्जिलिङ, कालिङपोङ र खर्साङ क्षेत्रका साहित्य, सङ्गीत र कला क्षेत्रका प्रतिभाशाली साहित्यकार र कलाकारले नेपालको कला, साहित्य र संस्कृतिको श्रीवृद्धिको निम्ति महत्वपूर्ण योगदान गरेका थिए । समयान्तरमा यो सिलसिला धिमा गतिमा मात्र अघि बढ्यो । तर, केही समययता यो सम्बन्ध अझ भिन्नरूपमा नवीकरण हुँदै गएको देखिन्छ । हिजो नेपालको सरकारी पहलबाट जोडिएको यो सम्बन्धलाई आज नागरिक तहबाट प्रवद्र्धन भइरहेको देखिन्छ । नेपालका लेखक, कवि र कलाकारको सिक्किम, दार्जिलिङ, कालिङपोङतिर र उताका लेखक, कवि र कलाकारको नेपालतिर आउजाउ बाक्लो बन्दै गएको छ ।
एकै भाषामा लेख्ने साहित्यकारहरूबीचको सम्बन्ध विस्तारको यो सिलसिलालाई नेपाली साहित्य बजारमा छुदेन काविमोको उपन्यास ‘फातसुङ’ को उपस्थितिले अझ व्यापक बनाएको छ । काविमो भारतको कालेबुङका नेपालीभाषी साहित्यकार हुन् । जम्मा १५० पृष्ठको ‘फातसुङ’ उपन्यासले नेपालीभाषी भारतीय जनताको ग्रामीण जीवनको चित्रण गरेको छ । उपन्यासको मूल परिधि अलग्ग ‘गोर्खाल्यान्ड’ को माग गर्दै सन् १९८० को दसकमा भएको आन्दोलन हो । नोर्देन, नसिम र सूर्य दा–तीन पात्रलाई केन्द्रमा राखी गोर्खाल्यान्डको माग गर्दै भएको आन्दोलनको विभिन्न आरोह–अवरोह र कुइनेटाहरूको औपन्यासीकरण गरिएको छ । लेप्चा भाषामा ‘फातसुङ’ को अर्थ माटोको कथा अर्थात् धर्तीको कथा भएको पुस्तकमा उल्लेख छ । भारतमा नेपालीभाषीको अलग्ग प्रान्तको माग गर्दै भएको आन्दोलन र सङ्घर्षको कथा भएकोले उपन्यासको नामकरण मौलिक र सान्दर्भिकमात्र छैन, नेपाली पाठकलाई नामैले पनि आकर्षित गर्ने खालको छ ।
उपन्यास कथावाचकका बालसखा रिपदेनको घर पहिरोले सोहोरेर तल हुत्याएको घटनाबाट सुरु हुन्छ । रिपदेन र कथावाचकको बाल्यकालका रमाइला कहानीबाट सुरु भएको उपन्यास नोर्देन, नसिम र सूर्य दाले अलग गोर्खाल्यान्डका लागि गरेको बलिदानीपूर्ण सशस्त्र सङ्घर्षको कथामा घुमेको छ । दार्जिलिङतिर हुने गोर्खाल्यान्ड आन्दोलनबारे नेपाली पत्रपत्रिकामा बेला बेला आउने समाचार र केही लेखमार्फत नेपाली पाठकलाई जानकारी नभएको होइन । तर, गोर्खाल्यान्ड आन्दोलनभित्रको अन्तरकथा बुझ्न भने यो उपन्यास उपयोगी छ । गोर्खाल्यान्ड आन्दोलनमाथि पश्चिम बङ्गाल सरकारको दमन र आन्दोलनभित्रै विभाजनको कथा यो उपन्यासको प्रमुख विषय हो । दार्जिलिङलाई हिल काउन्सिलको अधिकारमा सीमित राख्ने पक्ष वा अलग्ग राज्यको लागि लड्ने पक्षबीचको विभाजन र सङ्घर्षलाई उपन्यासमा चित्रण गरिएको छ । मूलतः यो उपन्यास हिल काउन्सिलको अधिकारभन्दा अघि बढेर अलग्ग गोर्खाल्यान्डको लागि सशस्त्र सङ्घर्षमा होमिएको एउटा समूहको कथा हो । शान्तिपूर्ण आन्दोलनमाथिको दमनको प्रतिरोधमा त्यो समूह सशस्त्र सङ्घर्षमा होमिएको देखाइएको छ । उनीहरूका गतिविधि मूलतः नेपालीभाषीको बाहुल्य भएको टिस्टा नदी छेउछाउका ग्रामीण पहाडी क्षेत्रमा आधारित भएको चित्रण गरिएको छ ।
सशस्त्र विद्रोहको तयारीको क्रममा योद्धाले भोग्नुपर्ने जीवनका जटिलता हरेक द्वन्द्व साहित्यमा जस्तै यो उपन्यासमा पनि सजीव चित्रण गरिएको छ । गोर्खाल्यान्ड आन्दोलनभित्रकै अर्को समूह (एनबी) सँगको द्वन्द्व र तत्कालीन पश्चिम बङ्गाल सरकारको नेतृत्वमा रहेको भाकपा (माक्र्सवादी) प्रतिको आक्रोशको चित्रणका कारण यो तत्कालीन भारतीय नेपालीभाषीको आन्दोलन बुझ्ने साहित्य बनेको छ ।
दार्जिलिङ वरपरका नेपाली भाषीहरूले बोल्ने आफ्नै मौलिक विशेषतासहितको नेपाली भाषामा लेखिएको यो उपन्यास नेपाली भाषाको उपन्यास भएर पनि यसमा फरक भाषिक मिठासको अनुभूति गर्नसक्छौँ । भिन्न आञ्चलिक भाषिक विशेषता हुनु यो उपन्यासको अर्को विशेषता हो ।
तथापि उपन्यासले तत्कालीन आन्दोलनको वैचारिक गहिराइलाई भने समात्न सकेको देखिंदैन । गोर्खाल्यान्ड आन्दोलनभित्रका विभिन्न धारलाई सतही रूपमा मात्र छोएको देखियो । राज्यको दमनको प्रतिकार र आन्दोलनभित्रकै अलग्ग अलग्ग समूहको अन्तरविरोधलाई घटनाक्रममा चित्रण गरिए पनि यसको वैचारिक जगमा यो उपन्यास पस्न सकेको देखिंदैन ।
उपन्यासका मूल पात्रहरू नोर्देन, नसिम र सूर्य दा राजनीतिक सङ्घर्षमा होमिएका छन् । तर, उनीहरूको वैचारिक र राजनीतिक चेतनाले भने भुइँ छोएजस्तो देखिंदैन । आफ्नो माटोको लागि लड्ने भावनाबाट अभिप्रेरित भएर उनीहरू सङ्घर्षमा बलिदानीभावका साथ होमिएकोमा कुनै सन्देह छैन । तर, कुनै राजनीतिक चेतना र वैचारिक जगबिना नै उनीहरू त्यो आन्दोलनमा होमिएको देखाइएको छ । साहसिक काम नै उनीहरूको विशेषता भनी चित्रण गरिएको छ । उनीहरूलाई जुन तहको जिम्मेवारी दिइएको छ, त्यसको सापेक्षमा हेर्दा उनीहरूको राजनीतिक स्तर ज्यादै कम भएको महसुस पाठकले गर्नसक्छन् । प्रतिशोध, प्रतिरोध र साहसिक काम नै उनीहरूको विशेषता बनाइएको छ । उपन्यास वियोगान्तमा टुङ्ग्याइएको छ । त्यसकारण लेखक स्वयंले पनि उनीहरूको वैचारिक स्तर र शैलीप्रति असहमति व्यक्त गरेको देखिन्छ ।
उपन्यासकार छुदेन काविमोको लेखन शैली सरल र रसिलो छ । पाठकलाई उपन्यासको कथाभित्रै डुबाउने क्षमता छ– छुदेनको भाषामा । उपन्यासको बुनोट रोचक छ । रिपदेन नोर्देनको छोरो भएको रहस्य पाठकले उपन्यासको अन्तिममात्र बुझ्ने तरिकाले प्रस्तुत गरिएको छ । सशस्त्र सङ्घर्षमा होमिएका युवाहरूको प्रेममय भावले उपन्यासलाई अझ रसिलो बनाइएको छ ।
नेपाली साहित्य अझ समृद्ध र विस्तार हुँदै छ भन्ने दसीको रूपमा लायक उपन्यास हो यो कृति । दार्जिलिङको नेपाली जनजीवनबारे अझ पनि धेरै कथाले नेपाली साहित्यलाई समृद्ध बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *