भर्खरै :

मोहियानी हकले गरिब किसान समृद्ध हुन्छ

काभ्रे, ७ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, काभ्रे जिल्ला समितिको आयोजनामा युनिभर्सिटी त्रैमासिक पूर्णाङ्क ३३ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले गुठीको करोडौँ सम्पत्ति एकलौटी खाइरहेका मठाधीशहरूले जोताहा किसानलाई मोहियानी हक दिनुपर्ला भनी गुठी विधेयक २०७५ को खेदो गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जोताहा किसानलाई मोहियानी भाग दिँदैमा परम्परा, संस्कृति लोप हुँदैन बरू गरिब किसान सम्पन्न भए परम्परा, संस्कृतिको जगेर्ना हुनुका साथै गरिब किसान समृद्ध हुन्छ ।”
“संरा अमेरिका र त्यसका पिछलग्गू देशहरू भेनेजुयलामा हस्तक्षेप गर्नुको कारण त्यहाँको पेट्रोलियम र सुनखानीमा आधिपत्य जमाउनु हो । ल्याटिन अमेरिकामा भेनेजुयलाले साम्राज्यवादविरोधी आन्दोलनको नेतृत्व गरिरहेको छ”, उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रेका सहसचिव राजु तामाङले युनिभर्सिटी पूर्णाङ्क ३३ अध्ययन गर्दा साम्राज्यवादी शक्तिले कमजोर देशमा हस्तक्षेप गर्ने गरेको र न्यायप्रेमी जनताले त्यसको विरूद्ध आवाज उठाउनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष तारा न्यौपानेले संरा अमेरिका उसको प्रभाव रहेका विश्व बैङ्क र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग लड्न, स्वतन्त्र ढङ्गले आ–आफ्नो देशको अर्थतन्त्रको विकास गर्न अल्बा (ALBA), युनासुर (UNASUR) र सेलाक (CELAC) जस्ता क्षेत्रीय आर्थिक र राजनैतिक सङ्गठनहरूमार्फत ल्याटिन अमेरिकी देशहरूमा एकता प्रयास भइरहेको बताउनुभयो ।
अध्यक्ष तारा तामाङले समाजमा वर्गीय शोषण रहेसम्म वर्गसङ्घर्ष भइरहने भएकोले माक्र्सवाद पुरानो भयो भन्ने तर्कमा सत्यता नभएको बताउनुभयो । कार्यक्रममा रोशनी शाही ठकुरी, सुमन न्यौपाने, रमेश तामाङ, कुन्दन वैद्य र सेमसल तामाङले युनिभर्सिटी पूर्णाङ्ग ३३ बारे आफ्नो अध्ययन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *