भर्खरै :

भक्तपुर नगरपालिकाको काम अनुकरणीय !

–दानबहादुर कपाली
भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभा सोमबारबाट प्रारम्भ भयो । नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले आ.व. २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । सभामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित), नेमकिपाका सचिव एवं सांसद प्रेम सुवाल, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक सविन प्रधान, भनपाका पूर्व प्रशासकीय अधिकृत रोहितराज पोखरेल र वर्तमान अधिकृत यामलाल अधिकारीले आ–आफ्नो विचार व्यक्त गरे ।
नपाले गरिरहेको कामको प्रशंसा गर्दै वक्ताहरूले नपालाई केही राय सुझाव दिए । नेमकिपाका जनप्रतिनिधिहरू काम नगरी बधाइचढाइ गर्दैनन् । घोषणापत्रलाई साक्षी राखेर योजना बनाउने र कार्यान्वयन गर्न नपाका जनप्रतिनिधिहरू लागिरहेको आ–आफ्नो अनुभव उनीहरूले व्यक्त गरे । नपाका कार्यकारी अधिकृतहरूले त सुसंस्कृत नपामा काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । भक्तपुर नगर भौगोलिक हिसाबले सानो भए पनि पहिचानको हिसाबले ठूलठूला नगर र महानगरपालिकाभन्दा सानो नभएको तर्क ती अधिकृतहरूले व्यक्त गरे ।
भक्तपुर नगरको चर्चा नगरिकन अरु नपाहरूले कार्यरुप अघि बढाउन नसकेको चर्चा पनि नगरसभामा भयो । मितव्ययी खर्च, समयमै गुणस्तरीय निर्माण यहाँको विशेषता भने पनि फरक पर्दैन । भनपाले गरिरहेको काम कामको शैली सबै नपाको निम्ति ऊर्जाशील, उत्प्रेरित र सिक्नलायकको छ । नपाको हरेक सभा व्यवस्थित हुन्छ । प्रजातान्त्रिक अभ्यासमार्फत प्रक्रिया अघि बढाइन्छ । नीति तथा कार्यक्रम र योजना बनाउनुअघि नगरवासीहरूको राय सल्लाह लिइन्छ । यो भनपाको राम्रो परम्परा हो ।
भक्तपुर नगरभित्र आपराधिक क्रियाकलाप नभएको प्रहरी प्रशासनको मूल्याङ्कन छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट त भनपालाई ‘क्राइम फ्रि सिटी’ घोषणा गरे पनि फरक नपर्ने बताउँछन् । अधिकारी भट्ट सदाचारी, भ्रष्टाचारमुक्त भक्तपुर नगरलाई आत्मनिर्भर जनताको सहर बनाउन सकिने विचार राख्छन् । हो, यहाँ खानेपानी र ढलको समस्या छ । सडक र पेटीमा राख्ने सामान हटाउनेतर्फ नपा अझै क्रियाशील हुुनुपर्ने देखिन्छ ।
उपभोक्ता समितिमार्फत काम भइरहेको छ भनेर आँखा चिम्लनु हुँदैन, हिसाब किताबमा पारदर्शी हुनुपर्छ । लागूऔषध सेवन र यौन अपराधका घटना घट्नेतर्फ सबै सदैव सचेत भइरहनुपर्छ । पशु वधशाला व्यवस्थित भए त्यो अर्काे नमुनायोग्य हुने छ । सारमा नपाको कार्य प्रशंसनीय छ, अनुकरणीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *