भर्खरै :

कीर्तिपुरमा ‘भेनेजुयला ः हिजो र आज’

कीर्तिपुर, १० असार । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुरमा ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकको सोमबार अन्तरक्रिया भयो ।
कार्यक्रममा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले विधेयकको राम्रो पक्षलाई आत्मसात गरी नराम्रो पक्षको संशोधन गरेमा गुठी विधेयकले किसानको हित हुने थियो भन्दै यसले स्थानीय गुठी सञ्चालनमा केही असर नपार्ने स्पष्ट पार्नुभयो ।
पाङ्गाको नारायणमन्दिरको नाममा रहेको जग्गा बेचिए पनि त्यसबाट आएको ब्याजबाट नारायण मन्दिरको वोस्रं (भात चढाउने) परम्परा कायमै रहेको स्मरण उहाँले गर्नुभयो ।
पूर्वकेन्द्रीय सदस्य प्रशान्त महर्जनले भेनेजुयलामा अमेरिकी हस्तक्षेप निन्दनीय छ भन्नुभयो । उहाँले गुठी विधेयकले मठ सञ्चालक मठाधीशको एक्लो हक अन्त्य हुने भएकोले मोही मालिक हुने र गुठी लोप हुने भ्रम सिर्जना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लिच्छवीकालदेखि नै गुठीको जग्गा जोत्ने किसानहरूको मोही भाग सुरक्षित हुने विधेयक किसानको पक्षमा थियो । हाम्रो संस्कृति र सम्पदा म्हास्न नदिन र संरक्षण गर्न प्राधिकरण होइन स्थानीय सरकारको जिम्मामा दिनुपर्छ ।”
नेमकिपाका काठमाडाँै जिल्ला अध्यक्ष नारायण महर्जनले भेनेजुयाली समाजवादलाई खत्तम गर्न बहुमत प्राप्त निकोलस माडुरो राष्ट्रपतिलाई अपदस्थ गर्न नक्कली ग्वाइडो राष्ट्रपति खडा गर्नु अमेरिकी साम्राज्यवादको कालो कर्तुत हो भन्नुभयो । भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको षड्यन्त्र असफल भइसकेको उल्लेख गर्दै उहाँले साम्राज्यवादको विरोधमा नेमकिपाको ऐक्यबद्धता सधैं रहिरहने छ भन्नुभयो ।
कार्यक्रममा नारायणबहादुर दुवाल, नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जन, उपाध्यक्ष बुद्धिमान महर्जन, राजकुमार महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *